आठ महीनामा ११ खर्ब ६६ अर्बको व्यापार घाटा, कोदो र फापर पनि विदेशबाटै

आर्थिक वर्ष शुरु भएको आठ महीनामा नेपालले १३ खर्ब आठ अर्ब ७३ करोड भन्दा बढीको सामग्री आयात गर्दा जम्मा एक खर्ब ४७ अर्ब १ खर्ब ४७ अर्ब ७४ करोड रूपैयाँको वस्तु निर्यात गरेको छ।

आठ महीनामा ११ खर्ब ६६ अर्बको व्यापार घाटा, कोदो र फापर पनि विदेशबाटै

काठमाडौं। चालू आर्थिक वर्षको आठ महीनामात्रै पुग्यो, यस बीचमा नेपालले वैदेशिक व्यापारमा ११ खर्ब ६६ अर्ब ९८ करोड घाटा भएको छ। यसबीचमा नेपालले १३ खर्ब आठ अर्ब ७३ करोड भन्दा बढीको सामग्री आयात गर्दा जम्मा एक खर्ब ४७ अर्ब ७४ करोड रूपैयाँको वस्तु निर्यात गरेको छ।

यही अवधीमा अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालले थप तीन खर्ब तीन अर्ब जति घाटा व्यहोरेको हो।

गत आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको मालवस्तु मात्रै आयात गरेको थियो। सो अवधीमा नेपालले आठ खर्ब ६३ अर्ब २० करोड व्यापार घाटा व्यहोरेको थियो।

अघिल्लो आर्थिक २०७६/०७७ को साउनदेखि फागुनसम्ममा नेपालको कूल व्यापार घाटा आठ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ थियो। सो अवधिमा नेपालले ७४ अर्ब ९० करोड बराबरको मालवस्तु निर्यात गर्दा ९ खर्ब २४ अर्ब २४ करोड बराबरका मालवस्तु आयात गरेको छ।

कोदो फापर पनि आयात

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीनामा नेपालले दुई करोड १८ लाख ५१ हजार रूपैयाँको कोदो आयात गरेको छ। चीन र भारतबाट मात्रै कोदोे निर्यात गरेको छ।

यसैगरी २१ हजार रूपैयाँको फापर पनि यस अवधिमा आयात भएको देखिन्छ। नेपालका पहाडी जिल्लाहरूमा उच्च उत्पादनको सम्भावना भएको भनिएको जौ पनि एक करोड ५२ लाख ९० हजार रूपैयाँ बराबरको आयात भएको छ।

यस्तै समीक्षा अवधिमा चार अर्ब ७४ करोड २९ लाख सात हजार रूपैयाँ बराबरको गहुँ आयात भएको तथ्यांकले देखाउँछ।

उस्तै छ तरकारी आयात

चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा नेपालमा तरकारी मात्रै २६ अर्ब ७३ करोड ६७ लाख १३ हजारभन्दा बढी रकमको आयात भएको छ। सो अवधिमा नेपालबाट ६३ करोड ३१ लाख १८ हजार बराबरको तरकारी निर्यात मात्रै भएको छ।

यस्तै १६ अर्ब ३१ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ। जबकी यो अवधिमा नेपालबाट १७ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरको मात्रै फलफूल निर्यात गरिएको छ।

कोभिड महामारी फैलिएपछि विभिन्न देशबाट नेपाल फर्किएका युवालाई कृषिमा लाग्न उत्पेरित गर्ने सरकारको उद्धेश्य थियो। त्यसैले कृषिजन्य आयातमा केही कमी आउने अपेक्षा गरिएको थियो। तर पछिल्लो दुई वर्षमा आयात झनै बढेको देखिन्छ।

आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि फागुनसम्ममा २० अर्ब ५८ करोड १३ लाख रूपैयाँको मात्रै तरकारी आयात भएको छ। सोही आर्थिक वर्षको अन्तिम त्रैमासिकमा नेपालमा पनि कोभिड महामारी शुरु भएको थियो। महामारीको पछिल्लो आर्थिक वर्ष २०७७/०७८ को पहिलो आठ महीनामा २५ अर्ब २२ लाख रूपैयाँको तरकारी तथा फलफूल आयात गरिएको थियो।

हाल समग्रमा वार्षिक करीब ४५ अर्ब रूपैयाँभन्दा बढीको खाद्य सामग्री आयात भइरहेको तथ्यांकले देखाउँछ।

पछिल्लो समय नेपालका पहाडी र हिमाली क्षेत्रका उर्वरभूमी बाँझो छोडेर शहर पस्ने प्रचलन बढ्दा कृषियोग्य वस्तु निर्यात बढिरहेको विज्ञहरू बताउँछन्।

देशभर अहिले आठ लाख हेक्टर जग्गा खेतीयोग्य जमिन बाँझै रहेको कृषि मन्त्रालयले जनाएको छ।

करीब ६५ प्रतिशत मानिस कृषिमा निर्भर रहेको देशमा झण्डै ३३ प्रतिशत बाँझो राखेर यसरी उच्च आयात गर्दा पनि सरकारले युवाहरूलार्ई कृषिमा प्रेरित नगर्नु लाजमर्दो कुरा भएको खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारी बताउँछन्।

उनी भन्छन्, “बाँझो जमिन यति धेरै छ।  यहाँ सिँचाई, उच्च कृषि प्रविधि र लागतअनुसारको बजारको अभावमा कृषिमा मान्छेहरू नलागेका हुन्। वर्षेनी यति धेरै आयात बढ्दा पनि सरकारले केही नगरेर आयातका तथ्यांक मात्रै निकाल्नु लाजमर्दो कुरा हो।”

प्रभाव शून्य निर्यात

चालू आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा पनि वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब ४७ अर्ब ७४ करोड रूपैयाँको मालवस्तु निर्यात गरेको छ। तथ्यांक हेर्दा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ८२.९० प्रतिशतले बढेको छ। सो अवधिमा नेपालले ८० अर्ब ७७ करोड ८८ लाख रूपैयाँको मालवस्तु निर्यात गरेको थियो।

चालू आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा वृद्धि भए पनि आन्तरिक उत्पादनमा भने केही वृद्धि भएको देखिँदैन। यस अवधिमा नेपालले निर्यात गरेको मालवस्तु कच्चा पदार्थको आयात गरी प्रशोधन गरेर निर्यात गरेको देखिन्छ। यसका कारण नेपालको व्यापारमा निर्यात व्यापारको तथ्यांकले खास योगदान भने गरेको देखिँदैन।

सबैभन्दा बढी निर्यात भारतमा भएको छ। तयारी घ्यू र तेल सबैभन्दा बढी निर्यात हुनेमा पर्छन्। त्यसमध्ये पनि पाम आयल सबैभन्दा बढी निर्यात भएको छ। जबकी नेपालमा त्यसको उत्पादन नै हुँदैन। नेपालले त्यसको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी निर्यात गर्छ। नेपालले ३२ अर्ब ३१ करोड ८६ लाख रूपैयाँ बराबरको पाम आयलको कच्चा पदार्थ आयात गरेको तथ्यांकले देखाउँछ। यसमध्ये २२ अर्ब ३६ करोड लाखभन्दा बढी मूल्यको प्रशोधित पाम आयत निर्यात गरेको देखिन्छ।

यस्तै ४३ अर्ब ७४ करोड ६७ लाख सोयाबिन तेलको कच्चा पदार्थ आयात गर्दा ४१ अर्ब ४० करोड १७ लाख बराबरको सोयाबिन तेलको कच्चा पदार्थ निर्यात गरेको तथ्यांकले नै देखाउँछ।

यस अवधिमा विभिन्न देशबाट आयात ९५ अर्ब १५ करोड ७३ लाख ३४ हजार रुपैयाँ बराबरको घ्यू र तेलको कच्चा पदार्थ र तयारी आयात भएको छ। समिक्षा अवधिमा निर्यात ८० अर्ब ३८ करोड ३९ लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ। नेपालबाट सबैभन्दा बढी निर्यात भएको यो वस्तु कच्चा पदार्थ आर्यात गरी तयार गरी निर्यात गरिएको हो।

नेपालको निर्यात व्यापारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन नसक्दा प्रभाव शुन्य भएको अर्थशास्त्रीहरू बताउँछन्। अर्थशास्त्री विश्वम्भर प्याकुरेलले भने, “निर्यात व्यापारमा खुशी हुने कारण छैन किनकी यो हाम्रो उत्पादन होइन। कच्चा पदार्थ आयात गर्दै बेच्छौं। भोली भारतले भारतीय उत्पादनको मूल्य घटाइदियो भने हाम्रो चीज बिक्री हुन सक्दैन।”

अर्थशास्त्री डिल्लीराज खनाल पनि खुल्ला बजारमा कच्चा पदार्थ ल्याएर बेच्नु नराम्रो नभए पनि निर्यातमा खासै उत्साहित हुनुपर्ने कारण नभएको बताउँछन्। उनी भन्छन्, “तथ्यांक मात्रै बढेको हो। हाम्रो निर्यात भएको ठूलो हिस्सा आयात भएर यता प्याक गरिएको मात्रै हो। यसले समग्र अर्थतन्त्रमा केही पनि सकारात्मक प्रभाव पारेको छैन।”

समीक्षा अवधिमा नेपालबाट चिया, कफी, वनस्पति घ्यू, तेल लगायतका मालवस्तु निर्यात भएका छन्। यसैगरी अन्तरिक्षयान, वायुयान र पार्टपूर्जाको आयात र निर्यात पनि नेपालले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved