स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशमा २१५ दल दर्ता

नेपालभ्युज

स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशमा २१५ दल दर्ता

जनकपुरधाम। स्थानीय तह निर्वाचनमा भाग लिन मधेश प्रदेशमा ६ वटा राष्ट्रिय दलसहित २१५ वटा दलहरू दर्ता भएका छन्।

६ चैतसम्म निर्वाचन आयोगले निर्वाचनका लागि जिल्लाहरूमा दल दर्ता गराउनुपर्ने समयसीमा तोकेअनुसार मधेशका जिल्ला निर्वाचन कार्यालयहरूमा २१५ वटा दल दर्ता भएका भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द्र राउतले जानकारी दिए।

सूचना अधिकारी राउतका अनुसार सबैभन्दा बढी रौतहटमा ३० र सबैभन्दा कम महोत्तरीमा २० वटा दल दर्ता भएका छन्।

त्यसैगरी सर्लाहीमा २९, बारामा २९ र सप्तरीमा २८ वटा दल दर्ता भएका छन् भने पर्सामा २७, धनुषामा २६ र सिरहामा २६ वटा दल दर्ता भएका छन्।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ता खुलाएकोमा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानूनबमोजिम प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको छ।

स्थानीय तह निर्वाचनसम्बन्धी ऐन तथा नियमावली २०७३ अनुसार आयोगले चुनाव चिह्न उपलब्ध गराउने छ।

निर्वाचनमा सहभागी हुने राष्ट्रिय दलबाहेक अन्य दललाई भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि ती दलले आफ्नै निर्वाचन चिह्न प्रयोग गर्न पाउने आयोगले निर्णय गरेको थियो।

राउतले भने, “मतपत्र छाप्न र निर्वाचन प्रक्रिया सजिलो होस भन्ने उद्देश्यले जिल्ला जिल्लामा पनि दल दर्ता गरिएको हो। आयोगमा पहिल्यै दल दर्ता भइसकेको छ।”

निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ भने १३ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ।

निर्वाचन आयोगले धनुषाका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने राउतले जानकारी दिए। मतदाता शिक्षाको कार्यक्रम पनि शुरु हुन बाँकी रहेकाले जिल्लाहरूमा नमूना मतदान कार्यक्रम पनि हुने उनले जनाए।

मतदाता शिक्षाका लागि भने सामाजिक परिचालक र स्वास्थ्य स्वयंसेवकहरू पनि खटाउन बाँकी नै रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved