मेयर शाक्यको आरोपः म आउनुअघिकै योजनालाई लिएर हाम्रो आलोचना भयो

नेपालभ्युज

मेयर शाक्यको आरोपः म आउनुअघिकै योजनालाई लिएर हाम्रो आलोचना भयो

काठमाडौँ। आफू निर्वाचित हुनुअघि नै कार्यान्वयनमा आएको रानीपोखरीको पुनर्निर्माणको योजनालाई लिएर आफ्नो आलोचना गरिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुनासो पोखेका छन्।

काठमाडौँ महानगरपालिकाले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा जानकारी दिन शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यले रानीपोखरीको पुनर्निर्माणका बारेमा महानगरले क्रमागत रूपमा चलेका योजनालाई निरन्तरता मात्रै दिएको बताए।

“रानी पोखरी पुननिर्माणको काम हामी निर्वाचित भएर आउनु अघि नै सुरु भएको हो। हामीले पदवहाली गर्दा काम भइरहेको थियो। त्यो विषयलाई लिएर हाम्रो आलोचना भयो,” मेयर शाक्यले भने, “रानीपोखरीसँगै हामी सञ्चालनमा रहेका सबै योजनाका विषयमा सरोकारवालासँग छलफल गर्न खुल्ला थियौँ। तर, जसले हाम्रो आलोचना गरे, उनीहरुले कहिल्यै पनि वास्तविकताका विषयमा सोधेनन्। केवल बाहिर कुरा मात्र गरिरहे।”

मेयर शाक्यका अनुसार महानगरपालिकाले सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानुनी व्यवस्थालाई नाघेको छैन। साथै मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयन र विनियोजित बजेटमा पनि विवाद छैन। त्यस्तै “सांस्कृतिक सहर, काठमाडौं महानगर” को नारालाई सार्थक बनाउन महानगरले सम्पदा क्षेत्रमा वार्षिक १ अर्ब रूपैयाँ भन्दा बढी रकम विनियोजन गर्ने गरेको छ।

उनले भने, “हामीले भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइ स्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरिसकेका छौं। यी भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित छन्। ती चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, भेष भुषा, खाना तथा चलनलाई नासिन नदिन लगानी गरेका छौँ। उपत्यकाका भित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका नगरका सम्पदा जोगाउन सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आएका छौँ।”

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved