प्रकाश सपूतको अपिल: गीतलाई राजनीतिकरण नगरौँ, यो व्यवस्थामा सोध्नुपर्ने कैयौँ प्रश्न छन्

सपूत भन्छन्, ‘‘कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौँ। नअल्झाऊँ। समाजमा टिप्नुपर्ने कैयौं कथा छन्। गाउनुपर्ने कैयौं गीत छन्। तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस्।”

नेपालभ्युज

प्रकाश सपूतको अपिल: गीतलाई राजनीतिकरण नगरौँ, यो व्यवस्थामा सोध्नुपर्ने कैयौँ प्रश्न छन्
फाइल तस्वीर

काठमाडौं। प्रकाश सपूतको नयाँ गीति भीडीओ सार्वजनिक भएको तीन दिन पनि नपुग्दै उक्त गीतले कला क्षेत्रमा मात्रै नभएर समाज र राजनीतिमा पनि ठूलो तरंग ल्याएको छ। माओवादी सशस्त्र युद्ध र राजतन्त्रको अन्त्यसँगै आएको नयाँ व्यवस्थापछि पूर्व लडाकुले भोग्नुपरेका अनेक प्रताडनाहरूलाई देखाउनेगरी गीतको भीडीओ बनेको छ।

आम जनमानसबीच भीडीओ लोकप्रिय बनेको छ। तर उक्त भीडीओमा देखाइएको दृश्यले पूर्वलडाकुको अपमान गरेको भन्दै माओवादी भातृ संगठनहरूले गायक सपूतलाई माफी मागेर युट्युबबाट भीडीओ हटाउन चेतावनीसमेत दिइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत यस विषयमा बोल्दै गीतले गम्भीर विषय उठाएकाले विरोध गर्नु उपयुक्त नहुने बताएका छन्। यसैबीच गायक सपूत पनि यस विषयमा बोलेका छन्।

सोमबार सामाजिक सञ्जालमा फेसबुकमार्फत उनले गीतलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्। जनताहरूले नै लडेर ल्याएको यो व्यवस्थामा सोध्नुपर्ने कैयौं प्रश्न भएकाले युद्ध र आन्दोलनलाई गलत रूपमा नअर्थ्याइ दाबी गर्दै यो व्यवस्थामा सोध्नुपर्ने धेरै प्रश्नहरू भएको बताएका छन्।

गीतमाथि भइरहेका टीकाटिप्पणीबारे सपूतको प्रष्टीकरण

नमस्कार।
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरू सबैलाई धेरै-धेरै धन्यबाद। सबैको अपेक्षाअनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छ।

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि रु तपाईंहरू (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु।

‘पिर’बाट युद्धकै जगर बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो। समानताको लागि एकसाथ लडेका कमरेडहरू बीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं। एक आम नागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौं। मलाई लागेको यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै र पढिँदै आएको होइन र? छर्लँङ्गै देखिएको विषय होइन र? स्वीकारिएको विषय होइन र?

जसरी यसअघिका गीतहरू बोल माया, दोहोरी ब्याटल, गल्बन्दी, बदला बरिलै, फुटेका चुरा , मेरो पनि हैन र यो देशु , कुरा बुझ्न पर्छ गीतहरूमा कथा बुन्थेँ, पात्र बनाउथेँ , टुक्का टिप्थेँ, लय हाल्थेँ र रेकर्ड र छायाङ्कन गर्थेँ। यसमा पनि त्यही प्रक्रिया छ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करीब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने र बजाउने, पकाउने र पस्कनेमध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु। प्रतीकात्मक रूपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ। केही पात्रहरू पढेँ। आम मानिसका भोगाई र संवेदनाहरू बुने र भीडीओ बनाएँ। मेरो पेशा र पहिचान यही हो।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु। यद्यपि मैले भीडीओको शुरुमा यो कुरा लेखेको पनि छु। माफी मागेको छु। अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाऊँ। त्यसो हो भने मुना र मदन छन् कि छैनन्? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने? सुयोगबीर र सकम्बरी कहाँ होलान ? कहाँ होला घुम्ने मेच माथि बसेको अन्धो मान्छे? खैर! भीडीओलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जश दिइएको छ। भीडीओमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भीडीओ नै हटाउँदा पो युद्ध र आन्दोलन र गणतन्त्र र स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो, आवाज हो। विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन।

मैले कसैसँग पनि यो विषयमा सहयोगर सल्लाह लिएको छैन। त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु। मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु। मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला। कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ। पक्ष र विपक्षमा एकोहोरो भइन्छ। नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ। विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भीडीओको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौ। तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ।

त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भीडीओ हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु। यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु। कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौँ। न अल्झाउँ। समाजमा टिप्नुपर्ने कैयौं कथा छन। गाउनुपर्ने कयौं गित छन्। तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved