नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने आयोगको चेतावनी

आयोगकै निर्देशन पनि कलेजले अटेर गरेकालाई अब कलेजलाई कारबाही गरिने आयोगका उपाध्यक्ष गिरीले बताए।

नेपालभ्युज

नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटकपटक ध्यानाकर्षण गराए पनि अटेरी गरेकाले अबको विकल्प कारबाही भएको बताए।

छात्राबास उचित भए पनि छात्राबासमा बस्न मात्रै विद्यार्थी नआउने भन्दै छात्राबासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने उनको भनाइ थियो। उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरेपनि कलेजले अपहेलना गरिरहेकाले अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए। कलेजलाई कारबाही गर्नका लागि आयोगमा छलफल गर्ने जानकारी उनले दिए।

‘‘नोबेल कलेजले होस्टेल अनिवार्य गरेर बढी पैसा लिने काम गरिरहेको छ, जुन होस्टेलको शुल्क निर्धारण गर्ने काम आयोगको पनि छैन,” उनले भने, ‘‘आयोगले स्पष्ट भनेको छ होस्टेल अनिवार्य गरेर जबर्जस्ती पैसा असुल्न पाइँदैन।” आयोगकै निर्देशन पनि कलेजले अटेर गरेकालाई अब त्यो कलेजलाई कारबाही गरिने आयोगका उपाध्यक्ष गिरीले बताए।

त्यस्तै आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले आयोगको निर्णय अटेर गरिरहेको बताए। कलेजले बढी पैसा लिएको जानकारीमा आइसकेकाले कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी उनले दिए।

उक्त बैठकमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिमा सांसदहरूले नोबेल मेडिकल कलेजलाई नियमन गर्न विफल चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved