स्थानविशेष कविता

कीर्तिपुर : दुई कविता

दुई सय बयालीस वर्षपछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक।

नेपालभ्युज

कीर्तिपुर : दुई कविता

म कीर्तिपुर नाक माग्दैछु

–कृसु क्षेत्री

म बुढो नाक काटिएको
कुरुप कीर्तिपुर
दुई सय बयालीस वर्षपछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक

कीर्तिपुरको नाक रहँदासम्म
सकेनाैँ पूरा गर्न
कुनै उन्मादी रहर
सकेनौँ जित्न
कुनै दानवी युद्ध
अनि
पराजित भएपछि
कायर पुरुष तिमीबाट
मृत संविधानले फुकाइएको छ
बाधा अड्काउहरू
र,
तिम्रो स्वचालित हतियारले
छानीछानी काटिएको छ
मेरो नाक

दिग्विजयको अहम्मा
नांगै दौडिरहेका उन्मत्त भैरव
नरमेध यज्ञमा
चरु बनाएर डढाउँदै छौ
मेरो सभ्यता
मेरो संस्कृति
अग्निकुण्डमा पग्लेर थेप्चो भएको
मेरो नाकमाथि नै
किन धावा बोल्छौ ?
किन नष्ट गर्न चाहन्छौ
मेरो पहिचान

र,
शरीरभरि पोतेर
रगतको क्यानभास
बधशालाको कसाइले झैँ
किन काटिरहन्छौ मेरो नाक ?

मेरो नाक काटिएपछि
सारा देशमाथि गीर खेलेको
भ्रम पालेका छौ
हत्याराको नकावपोशमा
सिसिफस भएका छौ
वशिष्ठ ऋषिश्रापित देवेन्द्र
शरीरमा हजारौं नाक टाँसेर
निसंकोच
नांगै उभिएका छौ

जब म
खेतका गरामा गाउँदै थिएँ
राजमती कुमती जिकेवस पिरती…
तिमीले मलाई बन्दी बनाएर
तिम्रो प्रशंसामा गाइएको
राष्ट्रगानको लहरमा उभ्यायौ
म बिना नाक
उभिरहेँ चुपचाप
र,
तिम्रो षड्यन्त्रमा
असह्य वेदना
निरन्तर यातना सहेर
अँध्यारो कालकोठरीमा
लामो समय बिताइरहेँ
बन्दी जीवन

आज फेरि तिमीले मसँग
मेरो हात माग्यौ
जिब्रो थुत्ने प्रयास गर्‍यौ
आँखा फोड्ने चाल चल्यौ

र, एकाएक
लामो समयदेखि मौन बसेको
मेरो स्वाभिमान–म्याग्मा
फेरि चलायमान भएको छ
अविचल शान्त बसेको
मेरो पहिचान–लाभा
फेरि विस्फोटन भएको छ

अहँ, अब म सहन सक्दिनँ
म तिम्रो बन्दी भएर
विगतमा झैँ मौन बस्न सक्दिनँ
अब मलाई कुनै मृत्युको भयले
या अनाहक मोहले छेक्न सक्दैन
मेरो काटिएको नाक
तिमीबाट फिर्ता लिन
अब मलाई
कसैले रोक्न सक्दैन

खबरदार,
मलाई मेरो काटिएको नाक चाहिन्छ
हैन भने बदलामा
मैले तिम्रो नाक पनि
काट्न पाउनुपर्छ

म बुढो नाक काटिएको
कुरुप कीर्तिपुर
दुई सय बयालीस वर्षपछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक।

०००

कीर्तिपुर

–टंक भट्टराई

कीर्तिपुर
कति पाइलाहरूले कुल्चिँदा पनि
तिमी अझै थिचिएका छैनौ
कति मनहरूले पूजा गर्दा पनि
तिमी अझै उठेका छैनौ
मानौं,
तिमी उठ्नु र थिचिनुमा
कुनै अर्थ राख्दैनौ
तिम्रो विशाल छातीमा
दर्शनको पाना पल्टाएर
त्यो सुगन्धित माटोको क्यानभासमा
राष्ट्रको चित्र कोरेर
कतिले देश बनाउन सिके
कतिले देश भत्काउन सिके
र कतिले देश छोड्न सिके

कीर्तिपुर,
बर्सेनि कति पाइलाहरू
तिमीलाई टेक्न आउँछन्
र फूलझैँ चुमेर जान्छन्
कति पाइलाहरू
काँडाझैँ बिझेर जान्छन्
तर तिनीहरू आउनु र जानुको
त्यो भीडभित्र पनि
यस्तो लाग्छ
तिमी एक्लो नितान्त एक्लोको
अनुभूत गर्दैछौ
मलाई थाहा छैन
तिमीसँग बिदाइ भएकाहरू
तिमीलाई सम्झेर
फेरि फर्कन्छन्, फर्कँदैनन् ?
जसको तिमीले
ज्ञानको दिव्य चक्षु उघारिदियौ
तिनले
भू–गोलको जुनसुकै सुदूर क्षितिजबाट
तिमीलाई देख्द सक्छन्, सक्दैनन् ?
साँचो अर्थमा
तिमीलाई माया गर्छन्, गर्दैनन् ?

मलाई यत्ति थाहा छ
कीर्तिपुर,
तिमीसँग सधैँ रहने भनेका
तिमीलाई सधैँ माया गर्ने भनेका
आखिर तिनै त रहेछन्–
तिम्रा काखमा पलाएका
हरिया सल्लाहरू
हरिया धुपीहरू
वसन्तमा फुल्ने राता फूलहरू
र तिम्रो शरीरमा बसेको
त्यो बुढो बाघभैरव
छेउमा टुक्रुक्क बसेको
चोभारको थुम्को
अनि, तिम्रो सुख, दुःखको अभिन्न साथी
त्यो चन्द्रागिरि
जसलाई प्रत्येक बिहानको अरूणिमाले
प्रथम चुम्बन गरेर
तिमीलाई बिस्तारै उज्यालो छर्छ
र साँझपख अन्तिम सलामी ठोकेर
तिमीलाई गोधूलि सुम्पन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved