सहजै टर्‍यो कोरोनाको तेस्रो लहर, अब जोखिम कति?

डेल्टा भेरियन्टभन्दा ओमिक्रोन निकै छिटो नियन्त्रणमा आएको छ।

सहजै टर्‍यो कोरोनाको तेस्रो लहर, अब जोखिम कति?

काठमाडौं। विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण अहिले लगभग नियन्त्रणमा आएको छ। अहिलेसम्म विश्वमा ४३ करोड ५६ लाख २६ हजारमा कोरोना पुष्टि भएकोमा अब सक्रिय संक्रमितको संख्या ६ करोडमा झरेको छ।

कोरोना महामारीको चपेटामा परेको छिमेकी मुलुक भारतमा केही समयअघिसम्म दैनिक १ लाखभन्दा बढी संक्रमित थपिने गरेकोमा अहिले उक्त संख्या १० हजारमुनि झरेको छ।

नेपालमा ११ लाख  १६ हजारमा संक्रमण पुष्टि भएकोमा अब सक्रिय संक्रमितको संख्या ७ हजार ७७० मा सीमित भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा संक्रमतिमध्ये निको हुने दर ९८ प्रतिशत रहेको छ।

सहजै टर्‍यो तेस्रो लहर

मन्त्रालयकाअनुसार नेपालमा कोरोना भाइरसको तेस्रो लहर २० पुसदेखि शुरु भएको थियो। ८ माघसम्म आइपुग्दा संक्रमणदर बढ्दै गएर ५० प्रतिशत पुगेको थियो। माघको अन्तिमपछि संक्रमण केही ओरोलो लाग्दै गएको थियो । १ फागुनमा १० हजार ११५ जनाको स्वाव परिक्षण गर्दा ५ सय २१ जनामा मात्र संक्रमण पुष्टि भएकोमा २ फागुनमा दैनिक संक्रमितको संख्या ८ हजार ६९६ परीक्षण गर्दा ७ सय ४७ जनामा मात्रै देखिएको थियो।

१८ फागुनमा १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ, जुन संक्रमणदर  १ दशमलव ८४ प्रतिशत मात्रै भएको स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। संक्रमणदर ५ प्रतिशतभन्दा कम हुनुलाई सामान्य मान्न सकिने उनी बताउँछन्।

तेस्रो भेरियन्ट नियन्त्रणमा आए पनि निर्मूल भने भइसकेको छैन। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.नीरज बमले पछिल्लो २० दिनयता संक्रमितको संख्या निकै कम रहेको बताए। डेल्टा भेरियन्टभन्दा ओमिक्रोन निकै छिटो नियन्त्रणमा आएको जनाउँदै उनले कोरोना निर्मूल भने भइनसकेकाले सचेत र तयारी अवस्थामा रहनुपर्ने बताए।

यस हिसाबले तेस्रो लहर नेपालमा छोटो समयमा सहज रूपमा टरेको देखिन्छ।

नेपालमा कोरोना भाइरस संक्रमण उत्कर्षमा पुगेर शिथिल भइसकेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए। “भाइरसले आफ्नो स्वरूप परिर्वतन गर्दै गए पनि अब पहिलेको जस्तो कडा खालको भेरियन्ट सायदै नआउँला,” उनी भन्छन्,“नेपालमा खोप कभरेज पनि निकै राम्रो देखिएको छ यसले पनि भाइसबाट हुने जटिलतालाई कम गर्ने नै छ ।”

विभिन्न स्वरूपमा भाइरस आए पनि अब पहिलेको जस्तो क्षति व्यहोर्नुपर्ने अवस्था आउन नसक्ने अनुमान उनको छ। उनी भन्छन्, “विश्वका वैज्ञानिकहरूले गरेको अध्ययन र त्यहाँको अवस्था हेर्दा पनि अप्रत्याशित तरिकाले हामीलाई समस्या नै ल्याउन सक्ने भेरियन्ट आइहाल्ला भन्ने लाग्दैन।”

विगतमा थाहा पाएर वा नपाएर धेरै मानिस संक्रमित भइसकेका र खोप पनि धेरैले लगाइसकेकाले कोरोना भाइरसले ल्याउँन सक्ने जटितालाई वसस्तारै कम गर्दै लैजाने उनले बताए। डा. पुनकाअनुसार, भाइरस उत्परिर्वतन हुँदै जाँदा सबै खराब वा शक्तिशालि नै हुन्छन् भन्ने हुँदैन। “अहिले नेपाल प्यान्डामिकदेखि एन्डामिक तिर गइरहेको छ,” उनले भने।

तर भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्दै जाँदा कहिले घातक त कहिले कम संक्रामक हुने भएकाले ओमिक्रोनले त्यति क्षति नगरे पनि आगामी दिनमा आउनसक्ने सम्भावित जोखिमबाट बच्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा.जनक कोइराला बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved