आफ्नै अगाडि शंकास्पद वस्तु राखिँदा पनि थाहा पाउँदैनन् सुरक्षाकर्मी

काठमाडौंको मुटु मानिने र अत्यन्त संवेदनशील भनिएको क्षेत्रमा शंकास्पद बस्तु राखिएपछि सर्वसाधारणको जीउधनको सुरक्षा कसरी होला भन्ने चासो र आशंका उठेका छन्।

आफ्नै अगाडि शंकास्पद वस्तु राखिँदा पनि थाहा पाउँदैनन् सुरक्षाकर्मी

काठमाडौं। सोमबार बिहान सवा ११ बजे प्रहरीको कन्ट्रोल रूम १०० मा फोन आयो। ‘संसद् भवन अगाडि नयाँबानेश्वर चोकको बीच सडकमा बम भेटियो’ फोन गर्नेले सूचना दियो।

कन्ट्रोल रुमका प्रहरी कर्मचारीले त्यो सूचना महानगरीय प्रहरी वृत्त तीनकुनेलाई जानकारी गरायो। वृत्त प्रमुख डिएसपी सीआरभी (कन्ट्रोल रुम भेइकल) टोली लिएर आफैँ घटनास्थलतर्फ गए। संसद् भवनको दक्षिण गेट (१ नम्बर ढोका) अगाडि मूल सडकमा राखिएको कुकरमा ‘नो एमसिसी’ लेखिएको थियो।

वरिपरि भीडले घेरिसकेको थियो। प्रहरीले सवारी आवतजावत रोक्यो। भीडलाई पछि हटाउँदै प्रहरीले प्रेसरकुकर राखिएको ठाउँभन्दा ५० मिटर पर पुर्‍यायो। बम भेटिएको घटना संवेदनशील भएकाले सशस्त्र प्रहरी र नेपाली सेनासम्म त्यो सूचना पुगिसकेको थियो।

साढे ११ मा नेपाल प्रहरीको ‘बम निष्क्रिय टोली’ र पोस्ट ब्लाष्ट इन्भेस्टमेन्ट (पीबीआई) टोली आइपुग्यो। त्यति बेलासम्म भीड थपिँदै थियो। टिकटक भिडियो बनाउने, सेल्फी खिच्ने र रमितेको भीड हटाउन प्रहरीले पटकपटक लाठीचार्ज समेत गर्नु पर्‍यो।

यसबीचमा नेपाली सेनाका अधिकारी आइसकेका थिए। पौने १२ बजे तीनकुनेतर्फबाट साइरन बजाउँदै नेपाली सेनाको बम डिस्पोज टोली आइपुग्यो। ‘आर्मी बम डिस्पोजल’ लेखिएको सेतो रङको गाडीमा विस्फोटक पदार्थ निष्क्रिय बनाउने उपकरण थिए। साथमा विस्फोटक पदार्थ निष्क्रिय बनाउने प्राविधिक थिए। लगतै एम्बुलेन्स आयो।

डिस्पोज टोलीले विस्फोटक पदार्थ निष्क्रिय बनाउने उपकरण झिक्न थाले। प्राविधिकहरूले रोबोट, एक्स–रे उपकरण, बम सुटलगायतका उपकरण झिके। ईसीडी प्राविधिकले सुरक्षा कबचसहितको पोसाक लगाए। यती गर्दा करिब आधा घण्टा समय बितिसकेको थियो। ईसीडी प्राविधिक बम सुटलगायत केही उपकरण लिएर प्रेसरकुकर भएतर्फ गए।

कुकरलाई हुक गरेर उनी फर्किए। यताबाट रिर्माेट कन्ट्रोलबाट ‘बमसुट’ विस्फोट गराइयो। सामान्य आवाजमा विफोष्ट भयो। कुकर उछिट्टिएर थोरै पर पुग्यो। कुकरको बिर्को प्वाल पर्‍यो। कुकर भने विस्फोट भएन। प्राविधिकले कुकर हेरे। कुकरभित्र ‘नोएमसीसी लेखिएको कागज’ र काठको टुक्रा रहेछ। बल्ल थाहा भयो, सर्वसाधारणलाई आतंकित बनाउन त्यो बस्तु राखिएको रहेछ।

सत्तारुढ गठबन्धनले आइतबार साँझ एमसीसी परियोजना संसदबाट पारित गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत आठ दलले सोमबारका लागि नेपाल बन्द आह्वान गरेका थिए। एमसीसीको विरोध गरिरहेका उनीहरूले नै सर्वसाधारणलाई तर्साउन शंकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ।

काठमाडौं प्रहरी प्रमुखको वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी भन्छन्, ‘‘त्यो शंकास्पद बस्तु कसले राख्यो भन्ने हामी अनुसन्धान गरिरहेका छौँ। अनुसन्धानकै चरणमा छौँ।’’

सुरक्षा संयन्त्रको कमजोरी

पछिल्लो समय काठमाडौँकै विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु भेटिने क्रम बढेको छ। नयाँ बानेश्वरको नक्कली बम भए पनि सोमबारै बिहान काभ्रेको साँगामा बम भेटियो। उता दिउँसो वनस्थलीमा पनि भेटियो। यसअघि ६ फागुनमा कलंकी ढुंगेअड्डामा तीन वटा बम भेटियो। ती मध्ये दुई वटा बम थिए। एक वटा शंकास्पद बम थियो। यद्यपी ती ‘बम’हरू समयमै निष्क्रिय बनाउन सफल हुँदा कुनै अप्रिय घटना हुन पाएन। काठमाडौंको संवेदनशील क्षेत्रमा बम भेटिनुलाई धेरैले सामान्य मानेका छैनन्।

यसअघि पनि संसद भवन वरिपरि कडा निगरानी हुँदै आएको थियो। सांसदबाट एमसीसी पास भएपछि त्यहाँ वरपर हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ थिए। सादा पोसाकमा पनि उत्तिकै सुरक्षाकर्मी खटिन्छन्। उनीहरूले विभिन्न गतिविधिका सूचना सङ्कलन गर्छन्। आन्तरिक तथा बाह्य गतिविधिमा पनि निगरानी गर्छन्। तर सोमबारको घटनापछि भने उनीहरूको भूमिकामा प्रश्न उठेको छ। धन्न त्यो बम नक्कली रहेछ। यदि सक्कली भइदिएको भए, ठुलो दुर्घटना हुने थियो।

काठमाडौंको मुटु मानिने र अत्यन्त संवेदनशील भनिएको क्षेत्रमा शंकास्पद बस्तु राखिएपछि बाँकी सर्वसाधारणको जीउधनको सुरक्षा कसरी होला भन्ने चासो र आशंका उठेका छन्। राजधानीमै खुलेआम शंकास्पद बस्तु बोकेर हिँड्नेहरू भेटिरहँदा अरू ठाउँमा सुरक्षाको ग्यारेन्टी कसले गर्ने? यस्ता चर्चा हुन थालेको छ।

सोमबार शंकास्पद राख्ने व्यक्ति पत्ता लगाउन प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखासहित प्रहरीको विशेष ब्युरो पनि खटिएको छ। विशेष ब्युरोले आतङ्कवाद र भूमिगत समूहहरूको गतिविधिको बारेमा सूक्ष्म अनुसन्धान र निगरानी राख्ने गथ्यो। तर, पछिल्लो समय विशेष ब्युरो बिस्तारै यसको सूचना सङ्कलन र घटनाको विश्लेषणबाट चुक्दै गएको जानकारहरू बताउँछन्।

‘‘भारतमा जसरी रिसर्च एन्ड एनालाइसिष्ट (रअ) अमेरिकामा सीआईएलाई मुख्य जासुसी संयन्त्र मानिन्छ। नेपालमा त्यसरी नै विशेष ब्युरोलाई मुख्य संयन्त्रको रुपमा गरिन्छ। तर, खासमा नेपालको ब्युरो त्यस्तो छैन। सूचना सङ्कलन र विश्लेषणमा कमजोर बनेको छ। कहिलेकाहीँ संवेदनशील क्षेत्रमा ठूला घटना भइसक्दा पनि थाहा पाउँदैन’’एकजना पूर्वप्रहरी अधिकारी भन्छन्।

द्वन्द्वकालमा विशेष ब्युरोले राम्रो काम गरेका भए पनि अहिले बिस्तारै साख घटाउँदै लगेको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। शान्ति प्रक्रियामा मुलुक गएपछि बिस्तारै ब्युरोले आफ्नो लय गुमाउँदै गएको उनको विश्लेषण छ।

उनी भन्छन्, ‘‘एकातिर सरकारी सेवा सुविधामा कमी, राम्रो काम गर्नेलाई प्रोत्साहन नहुने, अर्कातिर प्रहरी बढ्दो ‘हिरोइज्म’ ले पनि ब्युरोलाई असर पारेको छ। जसले ती अधिकारीभन्दा गम्भीर प्रकृतका अनुसन्धान गर्ने भन्दा पपुलारिटीको काम गर्न थालेपछि सुरक्षा संवेदनशीलताका कुरा छायामा परे।’’सूचना सङ्कलनमा समेत लगानी नभएकाले समस्या भएको उनको भनाइ छ।

प्राविधिक विश्लेषण र सूचना लिने काममा प्रहरी चुकेको धेरैको टिप्पणी छ। ब्युरोमै काम गरेका एक अधिकारी भन्छन्, ‘‘मानवीय सूचनाको स्रोत ठप्प प्रायः छ।

सूचनाको ‘भेरिफिकेसन’ पनि गतिलो गरी हुँदैन। यस कारण संवेदशिल क्षेत्रमा घटना हुँदा पनि थाहा हुँदैन।’’

आन्तरिक तथा बाह्य जासुसी गर्ने उद्देश्यसहित राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) खडा छ। गुप्तचर संगठन निष्प्रभावी हुनुपछाडि प्रमुख कारण भनेको राजनीति दलको भूमिका र अस्थिर सरकारको प्रभाव रहेको पनि कतिपय बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved