प्रिय कथा

निउरी

निउरी

(रचनागर्भ- जातीय विभेद जताततै भइरहेको बेला एउटी एक्काइस वर्षिया दलित युवतीले झुन्डिएर मरेको खबर पत्रिकामा पढेपछि रातभरि निद्रा लागेन। आजको २१ औं शताब्दीमा पनि मान्छेहरू जातकै आधारमा हेपिएर मर्न बाध्य पार्ने यो समाजको असली रुप कथामार्फत पस्कने निर्णय गरेर मात्रै त्यो रात बित्यो। हुन त वर्षैपिच्छे जातीय विभेदले मार्ने र मारिने क्रम नरोकिएको कति भयो कति ! तर पनि मेरो मनलाई शान्त पार्न यहि एउटा माध्यम थियो, जुन माध्यम प्रयोग गरेर म कथामार्फत यस्ता तमाम जातीय विभेदलाई भन्डाफोर गर्न सक्थेँ।

मलाई लाग्छ, मान्छेलाई जातको आधारमा होइन उसले गरेको कर्मको आधारमा उसको पहिचान हुनुपर्छ। संसारमा जहाँ मान्छेहरूलाई मात्रै मान्छे हुनुको अनुभूत गराइन्छ। हो, त्यहाँ मात्रै देश हरेक कुरामा अघि बढेको पाइन्छ। हाम्रो जस्तो अविकसित देशमा मान्छेहरूलाई जातको आधारमा, धर्मको आधारमा, लिङ्गको आधारमा जबसम्म विभेद गरिन्छ, तबसम्म यो देश विकाशोन्मुखतिर लाग्ने छैन। यो कथामा मैले यिनै कुरालाई भरसक समेट्ने कोसिस गरेकी छु।

कथा लेख्दालेख्दै लागेको त थियो, निउरीलाई विद्रोह गराउनु …। तर जुन घटना मैले देखेकी थिएँ, त्यो ठीक यस्तै नै थियो। अर्थात सयौं निउरीहरू यसरी नै मर्न बाध्य थिए र बाध्य छन् आज पनि। एउटा लेखकले आजको समाजको सत्य कुरालाई नै प्राथमिकता दिनुपर्छ भनेर पनि मैले यो कथाको अन्त यस्तो लेख्न पुगेकी थिएँ। तर पछिल्लो समय मैले अन्त्यमा थोरै परिमार्जन गरी निउरीको साथीले निउरीको लास हेर्दै विद्रोह गर्दै कसम खाएको पाटोमा केन्द्रित तुल्याई यो कथालाई न्याय गरेजस्तो अनुभूत गरेकी छु।)

आकाशका ताराहरू टुक्रिएर झरेको थिएन। कुनै नवदुलहीले पहिलो पटक माइती छोडेझैं आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो। जब झिसमिसे बिहानी भयो, जताततै आगो दन्कियो हल्लाको- पीपलडाँडामा मान्छे झुन्डिएर मरेको छ रे।

चिस्यानको बिहानीमा आगो ताप्न सलहका बथानसरी धुइरिए त्यतैतिर गाउँलेहरू आली र खेत नाघ्दै। कुरामा खाप पर्‍यो अनि एक्कान……दुईकान……मैदानमा त झुन्डिरहेको निउरीको लास।

ए बाब्बै…जात्रै पो लाग्यो। अरू बेला जस्तो जात्रामा मादलु बजेन, दोहोरी चलेन ! फिरिक फिरिक कोही नाँचेन। डाँडा, थुम्का, घरआँगन सबैतिर नाँच्दै हिँड्यो कुरो।

सदरमुकामदेखि झरे पुलिसका डफ्फा। तुन्दु्रङ्ग झुन्डिएकी निउरीलाई डोरी काटेरै झारे पीपलको रुखबाट।

-काहीँ नपाएर त्यो ठाँटीले मर्न पनि यहि पीपलको बोटमा झुन्डिनु पर्छ त ? सङ्कट मोचनको माग राख्दै सारा कुलिन जातिले पूजा गरेर घुम्ने यो पीपलको बोट। यहि पीपलको बोटमा फन्फनी घुमेर खाप लागेको काँचो धागो। हरे ! कस्तो जुठो लगाई त्यो अकुलिन निउरीले।

-‘निउरीले त विद्रोह नै गरी।’ स्कुलका माड्साप कानेखुशी गर्दै थिए। हुन पनि जिउँदो छँदासम्म निउरीलाई त्यो पीपलको बोट छुने त के घुम्नसमेत वर्जित थियो। त्यो कुजाति निउरीले छोयो भने पीपलको बोट बिटुलिन्छ भन्थे सुजातिहरू। संकटमोचन सबैले गर्थे, त्यो पीपलको बोट घुमिघुमी काँचोधागो बान्थे जिउभरि पीपलको। तर निउरी र उसका बगालहरूलाई वरिपरी जान पनि दिँदैनथे कुलिन जातिहरूले। त्यसैले होला निउरी र उसका बगालको कहिल्यै संकटमोचन भएन, उनीहरू त दुःखमा घुनझैँ पिसिँदै मर्दै गर्थे। तर मर्दामर्दै पनि सुजातिहरूको अभिमानलाई लोप्पा ख्वाएर त्यही पीपलको बोटमा झुन्डिएर मरिदिई उसले।

-अब के गर्ने ?

-सुनपानी छर्केर पीपलको जात त फेरिहाल्छ नि बरु अब पो छुन दिनु भएन ती कुजातिलाई। अनेकन तर्कवितर्ककै माझमा निउरीलाई पोस्टमार्टमको लागि सदरमुकाम लगियो। रुँदैरुँदै पुलिसको पछि लाग्यो निउरीको बाउ धनवीरे।

हुन त दलितले छुन नपाएका अरू पनि थुप्रै ठाउँ छन् गाउँमा मनग्गे। पधेँरामा दलितको पाउ आजसम्म पर्न दिएका छैनन् गाउँलेहरूले। पानी त उनीहरू पनि खान्थे तर कोसै टाढाको तुरतुरे मुलको। पानी सफा नभएरै होला बर्सेनि हैजाले लैजा पाथ्र्याे दलितहरूलाई।

त्यो सिन्गे कामीले ढलोटको देवता बनायो बोल्लाजस्तो। तर बोल्न सक्ने सास हाल्न सकेन उसले। बोल्ने भए के भन्थिन होला देउतीले ?………म त सबैको देउता मेरा लागि सबै बराबर। तर देउता बोल्दैनन् बरु बोल्छन कुलिन जातिहरू। सिन्गेको सीपै कमालको। यो मन्दिरमा दलितको खुट्टो परे अनिष्ट हुन्छ, कमलनारायण पण्डितले यस्तै हल्ला फिँजाएर मुठ्ठीभरि पैसोमा त्यो मूर्तिलाई उछिट्याएर मन्दिरमा स्थापना गरे। बनाउने सिन्गेले समेत फेरि कहिल्यै दर्शन गर्न पाएन। बिचरा सिन्गे आफ्ना छोरा-नातिलाई त्यो कैद गरेर राखिएको देवीको रुप बयान गर्दागर्दै मर्‍यो।

वर्षहरू फेरिए ……क्यालेन्डर फेरिए तर सात गाउँ परसम्म अझै चुमजुम्राझैँ टाँसिएको छ विभेद। त्यसैले त होला नि यो गाउँ नफेरिएको। तर नफेरिएको त्यो गाउँमा फेरिएरै आयो पण्डित कमलनारायणको छोरो यग्यनारायण। शहरमा पढ्न गएको यग्यनारायण एकैचोटी गाउँको स्कुलमा सरकारी मास्टर भएर आयो। जुन स्कुलमा पढ्थी निउरी। सानैमा आमा मरेकी निउरीले कम्ति सकस खेपेकी छैन अहिलेसम्म। सकसकै माझमा उसको इखालु बाउले असल मान्छे बनाउँछु भनेर स्कुलमा हालेको थियो उसलाई। मिहिनेती निउरी पढेर ठूलो मान्छे हुन्छु भन्थी, आखिर बन्न खोजेकी कस्ती ठूली !!

‘तल्लो जातकी त्यो निउरीले जति उफ्रिए पनि कुवाको भ्यागुतो कुवामै, भोलि दलितको जोई बन्नै पर्छ अनि आरनको धुवाँ खानै पर्छ।’ यसै भन्थे मान्छेहरू उसलाई।

हेर्दाहेर्दै ऊ ठूली भई तर क्यार्नु ! ज्यान जसरी जात बढेन। देख्नेहरू हिँड्दाहिँड्दै रोकिएरै हेर्थे उसलाई र सोध्थे, ‘के थरीकी छोरी नानी तिमी ?’

“म निउरी विश्वकर्मा।”

उसको नाम र थरले अघि देखिएको सुन्दरता एकछिनमै हराउँथ्यो मान्छेहरूको अनुहारबाट र उनीहरू थप कुनै कुरा नसोधी बाटो लाग्थे। कोहीकोही जिस्काउन पछि पर्दैनथे।

मनभित्र कस्तो लाग्थ्यो कुन्नी !! तर बाहिर मुसुक्क हाँसेर बोलिदिन्थी ऊ।

निउरी ………हिँड्दाहिँड्दै आज पनि बोलायो कसैले। पछाडि फर्केर हेर्दा उनै यग्यनारायण सर लमकलमक गर्दै आउँदै थिए निउरीतिरै। उसो त एकघन्टा हिँड्नुपर्ने निउरीलाई हिजोआज यग्यनारायण सर बाटोका मुखबोली भएका छन्। निउरीको घरबाट अलि मास्तिर पर्छ-यग्यनारायणको घर।

शुरुशुरुमा त बोल्नै डराई निउरी तर शहरमा बसेको यग्यनारायणको मिठो बोलीले नबोली बस्नै दिएन उसलाई। झन्डै दुई महीना एउटै बाटोमा हिँडेपछि मनको बाटोले सोध्न थालेको थियो उसलाई, ‘के साँच्चै यग्यनारायण सरले भनेजस्तै मान्छेको जात मान्छेले नै बनाएको हो त ? मान्छेले केके बनाए होला अहिलेसम्म ?’

आजभोलि एकान्तमा मनसँग के के सोध्छे के के निउरी ! यग्यनारायण सरसँग सोध्न नसकेका अनगिन्ती कुराको जवाफ कसरी दिन सक्थ्यो र उसको मनले ! मनले त प्रश्न उठाउँथ्यो र मस्तिष्कलाई भन्थ्यो मस्तिष्कले के खै कस्तो आदेश दिन्थ्यो कोन्नि ! शरीरभरि काँडा उमारिदिन्थ्यो, आफैसँग आफैँलाई लाज लाग्ने बनाइदिन्थ्यो। धत् यग्यनारायण सरको कुरा पनि …..!

“तिमी हिजो किन स्कुल नआएकी ? एसएलसीमा राम्रो ल्याउन पनि स्कुल आउनै पर्छ, फेरि भएन !”

“के फेरि भएन सर ?”

“मैले निक्कै मिस गरे तिमीलाई।”

दुवैको आँखा ठोक्किए, लाजले आँखा र टाउको एक्कैचोटी निहुराई निउरीले।

“फुलेको फूलमा भमरा बस्न आउनु कसको दोष ?’

“भमराको कि फूलको ?”

“दुवै निर्दोश।”

“कसरी ?”

“फूल फुल्नु उसको कर्म, भमराले भोक मार्नु उसको धर्म।”

“किन फूलहरू भोकाउँदैनन् ?”

“भोकाउँछन् र त जराबाट पानी खान्छन्।”

समय उकालो चढेर अनि ओरालो झरेर कति टाढा पुगिसक्यो र त्यही बाटोको सामिप्यताले नजिक गरायो र मनको सामिप्यताले प्रेम लहरायो निउरी र यग्यनारायणबीचमा।

शुरुशुरुमा त त्यही बाटोले देख्यो उनीहरूको माया …बाटोका बोटबिरुवाले देखे ….उत्ताउलेर आउने बतासले देख्यो। हुँदाहुँदै बाटो मास्तिरको ठूलो ढुङ्गाको चेपले पनि देख्यो। चेप जहाँ मान्छेको त के कुरा र ! घाम, जून, तारा कसैले देखेनन् सिवाय ती दुई।

“हामी कसरी एक हुन सक्छौँ ? मन एक भए पनि ….विचार एक भए पनि …. सपना एक भए पनि जातको अग्लो पर्खाल म नाघ्न सक्दिनँ।”

“तर म नाघ्न सक्छु।”

“तिमी बाउनको छोरा !”

“मान्छेको एउटै जात हुन्छ र लिङ्ग दुइटा।”

“तर समाज र घरपरिवारले मान्दैनन् यस्तो कुरा।”

“हामी यो समाजको उदारण बन्ने हो।”

यग्यनारायणले नै जिद्दी गरेपछि निउरीले केही बोल्न सकिन।

न घरपरिवार न म कुनै जमघट न त दाइजोको बहस ! न त कुनै खर्चको पिर ! न जन्ती न त दुलही ! सबै कुराको छिनोफानो त्यहि ढुंगे चेपमा बसेर गरे ती प्रेमिल जोडीले। भागेर सदरमुकाम जाने र स्थिति स्वभाविक भएपछि गाउँ फर्कने निधो पनि गरे उनीहरूले। बाटोमा जमुनासँग भेट भो उसको। कसैलाई नभन्ने सर्तमा निउरीले आफ्नो मिल्ने साथी जमुनालाई प्रेमिल योजनाको एउटा सानु अंश सुनाई।

खुशीखुशी निउरी घरमा आई। अलिपर धनवीरे दाउराको लागि बकाइनाको बोट छिमल्दै थियो। धनवीरेले उनीहरूका आवश्यकता पूरा गरिदिएरै होला निउरीझैँ हलक्क बढेका थिए रुखहरू पनि। तर निउरीको आवश्यकता सायद यग्यनारायणले मात्र पूरा गर्न सक्छ अब।

“ए निउरी…………….निउरीउ……….र” कराएरै बोलायो धनवीरेले छोरीलाई।

निउरी लोटाभरि पानी बोकेर बाउ नजिक पुगी। अरू बेला हुँदो हो त बाउको जस्तै तिर्खा उसको पनि मेटिन्थ्यो होला पानीले तर आज ……!
‘कत्ति काम गरेको बा ! खालि यिनै रुखलाई माया गर्नु हुन्छ तपाईं।’

“के गर्नु त छोरी ! माया त तेरी आमालाई गरेकी थिएँ नि छोडेर गइगई …अब तँ नि एकदिन जालिस् कसैसँग। यो बुढो बाउलाई यी रुखहरूले छोडेर जाँदैनन् कहिल्यै।”

निउरी हेरेको हेरेकै भई बाउको अनुहार। मुखबाट एउटै कुरा निस्किएन।

“के भो ? किन टोलाएकी ? जा ऊ …पर तरकारी टिपेर राखेको छु लैजा र बेलैमा पका भात।”

निकैबेर बाउको अनुहार हेरिरही उसले। मन मनमै माफी पनि मागी र तरकारी बोकेर घरमा आई।

कपिको भित्री पन्ना च्याती र लेखी- “बा मलाई माफ गर्दिनु ! मैले यग्यनारायणको सिन्दुर हालेर सदरमुकाम जाने निर्णय एक्लै गरे जे परिणाम भोग्नुपर्छ, म एक्लै भोग्छु तपाईंलाई दुःख दिन्न म।”

केही जोर लुगा झोलामा हाली उसले। बा र आमाले सँगै बसेर खिचेको फोटो पनि त्यही झोलामा राखी।

झमक्क साँझ पर्दा उनीहरू मन्दिरको आँगनमा आइपुगे। देवीको मन्दिर एक्लै थियो त्यो बेला। त्यही मन्दिरलाई साक्षी राखेर यग्यनारायणले बोकी ल्याएको सिन्दुर र पोते लगाइदियो निउरीलाई र दह्रोगरि अँगालोमा कसेर छेउमा तान्दै भन्यो, “म बाँचुन्जेल तिमीलाई माया गरिरहन्छु।”

“म पनि ……..।”

“ल छिटो हिँडौं। हामी सदरमुकाम पुग्दा निक्कै राति हुन्छ।”

यग्यनारायण निर्धक्क अघिअघि, टाउको, मुख अनि घाँटी पूरै छोपेर निउरी पछिपछि हिँडिरही।

एउटा सामान्य होटलमा पाँच दिनको लागि बुक गर्‍यो यग्यनारायणले। लेख्यो- ‘यग्यनारायण र निउरी। बुढाबुढी।’

प्रेमका कति रुप हुन्छन्। ति सबै रुप त्यो पाँच दिनमा देखे होला त उनीहरूले ? तर जे देखे फेरि कहिल्यै नबिर्सने गरी देखे।

चार दिनको दिन यग्यनारायण सदरमुकाम घुमेर एक्कैछिनमा आउँछु भनी निस्कियो। बाहिर जाँदाजाँदै भन्यो, “ढोका नखोली बस्नू, म आइहाल्छु।”

ऊभन्दा छिटो आइपुगेका रहेछन् उसका घरका मान्छे सदरमुकाम। च्याप्प यग्यनारायणलाई समातेर अँगालो हाल्दै गाउँतिरै हिँडाउन थाले बाउ, काका बाउहरूले।

“मैले बिहे गरिसकेँ बा ! मलाई माफ गर्नू।” उसको कति कुराको पनि सुनुवाइ भएन त्यो बेला।

“तँ जाँदैनस् भने तेरी आमा र म यहिं झुन्डिएर मर्छौँ।” धर्मका अनेकन् श्लोकहरू सुनाइयो। जातले पार्ने असरको भलिभाँति उदारण देखाइयो। समाजमा भोलि पानी काटिएर बाँच्नु मरेपछि नर्कमा पुग्नुभन्दा कठिन सजाय नदिन छोरालाई हात जोडेरै सम्झाइयो र फकाउँदै फकाउँदै एउटा घरमा पुर्‍याइयो, जहाँ अघि बाआमाले केटीको कुरा छिनेर फूलमालाको तयारी थियो।

“बिहे त म गर्न सक्दिनँ बा ! मैले निउरीसँग गरेँ। बरु म उसलाई न’ले घर भन्नुहुन्छ भने ल्याउँदिनँ तर बिहे अरूसँग गर्दिन बा।”

“बिहे बिस्तारै गर्ने हो आज कुरा छिन्ने मात्रै हो। नाइँ नभन्दे छोरा हाम्रो अनुहार बाँचेकै देख्न चाहन्छस् भने नाइँ नभन्दे।”

ऊ चुपचाप उभियो गोरी-अग्ली बाउनकी छोरीले उसको घाँटीमा थोरै मुस्कुराउँदै माला लगाइदिई। उसकी आमाले त्यो केटीलाई छोराको हात समातेरै माला लगाइदिई। फूलमाला सकियो। यग्यनारायण फटापट होटलतिर जान खोज्यो तर सबै मिलेर घरतिर लगे उसलाई।

एकछिनमा आउँछु भनी निस्किएको यग्यनारायण चार बजेसम्म पनि नआएपछि निउरी होटलबाट बाहिर निस्किई। यता हेरी उता हेरी, सडकका दुवै पेटीलाई आँखामा बोक्दै निक्कै परसम्म गई ऊ।

यग्यनारायण कतै थिएन, सिवाय निउरीको मन र आँखामा बाहेक।

भोलिपल्ट बिहान उही होटलवालाले खबर सुनायो उसलाई, ‘तिम्रो लोग्नेलाई उसका बाआमाले आएर उसकै घरतिर लगेछन्।’
उभिएको ठाउँमै थचक्कै बसी निउरी। फेरि के सोची कुन्नि कुदेर कोठातिर गई र उभिई ऐनाअघि। यग्यनारायणले लगाइदिएको सिन्दुर सिउँदोमा र पोते घाँटीमा उस्तै थियो। उसले गाला छामी, हिजो बेलुका त्यहि गालामा कति पटक चुम्मा खाएको थियो, थियो यग्यनारायणले। ओछ्यानमा गई र त्यहि ओछ्यान समातेर बेस्सरी रोई ऊ। झमक्क साँझ परेपछि युद्धमा गम्भीर चोट लागेको सिपाहीझैँ ऊ लरबरिँदै आफ्नै घरको आँगनमा पुगी। धनवीरे चुलोमा दाउरा झोस्दै थियो

“बा……………….! म आएँ।” भक्कानिएर रोई ऊ बाको अघि। यो चार दिनमा धनवीरेले थाहा पायो कि छोरी नहुँदाको अप्ठेरो। ऊ एकछिन अक्मकायो र यतिमात्रै भन्यो कि, “भैगो नरो अब।”

भोलिपल्ट बिहान यग्यनारायणको घरलाई छुने घामले निउरीको घरलाई पनि छोयो। सायद हावा पनि उता छोएर यता आयो चिस्याउन निउरीलाई। आँगनको डिलमा उभिएर उसले यग्यनारायणको घरतिर हेरी यो सोचेर कि एकपटक यग्यनारायण देखियोस्। आज यग्यनारायणको घरमा निकै मान्छेहरूको भिड थियो। उसले परैबाट नियाल्ने कोसिस गरी। लामु दाह्रीजुँगा भएको एउटा अग्लो मान्छे फटाफट दैलोबाट भित्र छिर्‍यो, उसको पछिपछि एउटा कालो कुकुर पनि घरभित्र पस्यो। अचानक निउरीका आँखाबाट आँसु झर्न थाल्यो। उसले मनमनै भनी, ‘एउटा कुकुरले बाउनको घरभित्र बास पाउँछ तर मैले ………..??’

“अई निउरी….।” सुन्तली कराउँदै भित्र पसी। आँखालाई सलले पुछेर लुगा मिलाउँदै गरे जस्तो गरी निउरीले।

“तँलाई थाहा छ यग्यनारायण सरको बिहे हो नि आज ? बेहुली लिन हिँडिसके जाने हैन जाउँ हिँड् !!”

“म त अर्को जन्ममा कुकुर्नी भएर जन्मिन पाउँ बुझिस् …!”

“धत के भनेकी ? अर्को जन्म हुनलाई त मर्नु पर्छ, छोड यस्तो कुरा बरु बिहेमा जाउँ हिँड।”

“म नजाने ….आज मेरो अन्तैको यात्रा छ सुन्तली तँ जा। निम्तो नभई कसरी जानु त भन तँ !”

“लु उसोभए म गएँ।” सुन्तली गई।

“कस्तो देखियो होला बेहुलो हुँदा यग्यनारायण ? सायद घरका सबैले यसो गर्न बाध्य पारे होला उसलाई। जे भए पनि उसले एकपटक मलाई भेट्नु पथ्र्यो र भन्नु पथ्र्यो, निउरी म माया चाहिँ तँलाई नै गर्छु।”

“धत् …..माया मलाई अनि विवाह अर्कैलाई ?”

“यस्तो हुनु हुँदैन ….सायद ठीकै गर्‍यो होला यग्यनारायणले।”

“ठीक कसरी गर्‍यो ?”

“त्यो त म कसरी जान्नु र !!”

मन न हो उत्तर नआए पनि प्रश्न गर्न छाड्दैन। सायद प्रश्नहरूले भरियो मन त्यसैले कति उत्तर उसले आफैं दिई कति उत्तर दिने यग्यनारायण पनि ठाउँठाँउमा आफैं बनी। कति उत्तर बाँकी रहे सायद युगौं युगदेखि उत्तर नपाएका प्रश्न थिए ती।

पाँच बज्न लाग्दा यग्यनारायणले पन्चै बाजासहित बेहुली भित्र्याएको टाढैबाट हेरिरही उसले। भात पकाई र छोपछाप पारेर राखी। धनवीरे खेतबाट आउनासाथ भात खान दिई।

“बा सुतेँ म।”

केही बोल्न पनि डरायो धनवीरे आफैं। छोरीको अनुहार सायद पढ्यो उसले। पढ्नलाई सर्टिफिकेट कहाँ चाहिन्छ र !

६ दिनसम्म पनि यग्यनारायणले भेट्न सकेन निउरीलाई। त्यहि राति बिस्तारै घरबाट बाहिर निस्किई निउरी कालो सलले मुख छोपेर। अँध्यारोमै कसरी हिँड्न सकेकी होला ऊ फटाफट ! माथि पीपलको बोट नजिक पुगी। झुन्डिनु केही सेकेण्डअघि पनि उसका आँखाले यग्यनारायणलाई खोजिरहेका थिए।

यता निउरीको लास हेर्न हाम्फाल्दै आएकी उसकी साथी जमुनाको मनमा भने आगो बल्दै थियो। आगो लागेको उसको मनले भन्दै थियो, ‘तँ किन मरेकी निउरी ? एउटा मान्छे जसले तँलाई भोग्यो र छोड्यो उसकै लागि तैंले किन संसार छोडिस् ? उसले बिहा गर्न सक्छ भने तैंले किन अर्को बिहा गरेर बाँच्ने कुरा सोचिनस् ? तँ कायर होस् निउरी ! तँ साँच्चै कायर होस्। तेरो कस्सम निउरी म तँ जस्तो कायर भएर बाँच्दिन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved