असिनापानीबीच पोखरामा ओलीको भाषणः जहाँ नेपाली त्यहाँ एमाले

नेपालभ्युज

असिनापानीबीच पोखरामा ओलीको भाषणः जहाँ नेपाली त्यहाँ एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ नेपाली त्यहाँ एमाले हुने बताएका छन्।

पोखरामा आज पार्टी प्रवेश कार्यक्रममा पुगेका ओलीले दुई तिहाइको सरकारमा धक्का पुगेको भन्दै उनले गुनासो गरे। देशलाई नयाँ युगमा प्रवेश गराउँदा प्रतिक्रियावादीहरू मिलेर आफ्नो सरकारलाई गिराएको उनले आरोप लगाए। “नेकपा एमाले मजबुत पार्टी भएकाले जहाँ नेपाली त्यहाँ एमाले हुन्छ। टोलटोलमा मात्र होइन।”

सरकार मालिक नभई जनताको सेवक भएको र देश विकासको माध्यम बन्नुपर्ने बताए। आफूहरूले त्यस्तो पार्टी निर्माण गरेको जसले सबैमा समानता दिएको र समुचित वितरण गर्ने खालको सरकार बनाएको उनले जिकिर गरे।

“केही मान्छे धनी भइरहेका छन्। केही गरिब हुँदै गएका छन् र धनीहरूले सम्पत्ति कब्जा गरेका छन्।” सबै लाभ तिनै व्यक्तिहरूले गरिरहेका उनले बताए।

कार्यक्रम चलिरहँदा पोखरामा भीषण असिनापनी परेको थियो। असिना पानीबीच ओलीले भाषण जारी राखेका थिए। उनले त्यस क्रममा पटक पटक ‘सुनिन्छ सुनिन्छ’ भनी सोधेका थिए।

देश विकास र पूर्वाधारको कुरा गरेका ओलीले औषधि उपचारजस्ता आधारभूत आवश्यकता पूरा गरेपछि पूर्वाधार विकास गर्दै जानुपर्ने र गर्न सकिने बताए। “मान्छेले गर्ने काम मेसिनलाई गराउन सकियोस्, सामान बोक्ने काम मेसिनले गर्न सकोस्। हामीले शिक्षाको विकास गर्न सक्छौं।”

विद्वान् पूर्खाको सन्तति भएकाले सभ्यातको ज्योति नेपालबाट छरिएको भन्दै उनले ओषधि स्वास्थ्य र योग विज्ञान यहीँबाट शुरु भएको दाबी गरे। “संसारका सबैभन्दा पुराना ग्रन्थ यहाँ लेखिएका थिए। हाम्रा पूर्खा चिन्तक दार्शनिक थिए। उनीहरूले खोज अनुसन्धान गरेका थिए। केही कारणले हामी केही शताब्दि पछि पर्यौं।”

दुईतिर उपनिवेश भएकाले हामीलाई पछि पारिएको र शासकहरूका निम्ति उनीहरूको वंशानुगत शाशन जोगाइदिन सबै शक्ति खर्च भएको तर जनता पिल्सिएका पनि उनले बताए।

देशमा विभिन्न जातिमा मानिस बाँडिदिएका भन्दै अझै पनि विभेद हुन लागेकोप्रति उनले सचेत हुन आग्रह गरे। भने, “राष्ट्रिय एकतामा जुन देश बढ्छ त्यो देश सफल हुन्छ। हाम्रो नेपालमा १० वर्षमा १७ हजार मान्छे मरे। कति भयानक थियो त्यो समय। रुवाण्डाजस्तो देश भयो। बाहिरिएकाहरूले हामीलाई फुटाउन खोजे भने। तर हामी एक भएर अगाडि बढ्यौं।”

गण्डकीमा एमालेमा मानिसहरू प्रवेश गरिरहेकाले एमाले जनताको पार्टी भएको बताए। “एमाले भनेको इतिहासमा लेखाउने पार्टी हो। भोका नांगा कुनै जमानामा थिए भनेर अब इतिहासमा पढ्नुपर्ने दिन आउँछ।”

गठबन्धन भ्रष्टाचारका लागि बनेको आरोप लगाएका उनले २४ लाख डोज खोप कता हरायो भनी प्रश्न गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved