प्रदेश सरकारको काम केही समयमा देखिन्छ : मुख्यमन्त्री पाण्डे

पाण्डेले भने, “हामी बागमती प्रदेशलाई डिजिटलाइज गर्ने र उज्यालो प्रदेश बनाउने अभियानमा छौँ। अहिले प्रदेश सरकारको सम्पूर्ण ध्यान सरकारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरामा रहेको छ।”

प्रदेश सरकारको काम केही समयमा देखिन्छ : मुख्यमन्त्री पाण्डे

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले गरेको कामहरु केही समयमा नै देखिने दाबी गरेका छन्। मन्त्रालय विभाजनपछि आलोचित बनेका मुख्यमन्त्री पाण्डेले विभाजनको औचित्य पुष्टि हुने गरी काम गर्ने दाबी गरेका छन्।

“यो सरकारले गरेको कामहरु छिट्टै देखिन्छ,” उनले भने, “हामी बागमती प्रदेशलाई डिजिटलाइज गर्ने र उज्यालो प्रदेश बनाउने अभियानमा छौँ। अहिले प्रदेश सरकारको सम्पूर्ण ध्यान सरकारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरामा रहेको छ।”

७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले प्रदेश सरकारको काम अब केही समयमा देखिने बताएका हुन्।

प्रदेश सरकार न्यूनतम साझा योजना बनाएर काम अगाडी बढाउने तयारीमा रहेको उनले बताए। प्रजातन्त्र आएको ७२ वर्ष भइसक्दा पनि धेरै स्थानमा सामाजिक सुधार हुन नसकेको उनले बताए। राजनीतिक दलका प्रतिनिधिहरुले भोट नपाउने डरले अझै पनि सामाजिक कुरीतिको बारेमा बोल्न नसकेको पाण्डेको भनाइ छ।

प्रदेश सरकारले शनिबार प्रजातन्त्र दिवसको अवसरमा विषेश कार्यक्रमको आयोजना गर्दै साइकल र्‍यालीसमेत गरेको छ। स्वास्थ्य पर्यावरण र पर्यटनको निमित्त साइकल र्‍याली भन्ने नाराका साथ र्‍याली गरिएको थियो।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेलाई सलामी अर्पण गरिएको छ। मुख्यमन्त्रीको कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी दिएको हो।

स्वतन्त्रता प्राप्तीको ऐतिहासिक दिनः प्रदेश प्रमुख

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रजातन्त्र दिवसलाई स्वतन्त्रता प्राप्तिको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन्।

शनिबार प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले निरंकुश राणा शासनको अन्त्य भई मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक दिनका रुपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरे।

‘प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो जीवनलाई प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिवद्ध प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु,’ जारी सन्देशमा भनिएको छ।

शुभकामना सन्देशमा प्रमुखले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरव बोध गर्ने दिनका रुपमा सम्झिनुपर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved