तारानाथ शर्मामाथि अभि सुवेदीको स्मृतिः मनबाट देखेको कुरा लेख्नुहुन्थ्यो

पद्म कन्या कलेजमा अंग्रेजीको प्रोफेसर हुँदा राजा महेन्द्रको ‘उसैको लागि’ कविताको आलोचना गर्नुभयो। त्यसपछि प्रहरीले उहाँलाई पक्रियो। जेल जानुभयो। पछि महेन्द्रले आफैले थाहा पाएर जेलबाट मुक्त गरिदिए।

तारानाथ शर्मामाथि अभि सुवेदीको स्मृतिः मनबाट देखेको कुरा लेख्नुहुन्थ्यो

काठमाडौं । तारानाथ शर्मालाई भेट्नुअघि मैले उहाँलाई पढेको थिएँ। विद्यार्थी हुँदै पढेको थिएँ। त्यतिबेला तेह्रथुममा स्कुलमा पढ्थेँ। उहाँ प्रखर चिन्तन भएको युवक हुनुहुन्थ्यो। विभिन्न विषयमा उहाँले लेख्नुहुन्थ्यो। पत्रपत्रिकामा नियमित लेखहरू आउँथ्यो।

त्यो बेलादेखि नै उहाँका निबन्ध, समालोचना पढ्थेँ। त्योबेलामा दाइका किताबहरू पसलमा पाइँदैनथ्यो। रूपरेखा साहित्यिक पत्रिका पढ्न पाइन्थ्यो। रूपरेखामा उहाँका रचना, लेखहरू छापिन्थ्यो। पछि उहाँका किताब भेटिहालेँ। अलि पछि साह्रै काम लाग्ने किताब ‘नेपाली साहित्यको इतिहास’, ‘घोत्ल्याइँहरू’ किताब हो। सबै किताब मसँगै छन्। प्रायः जम्मै पढेको छु।

उहाँ मेरो गुरु हुनुहुन्थ्यो। मलाई अंग्रेजी पढाउनुभयो। त्रिचन्द्र कलेजमा केही समय उहाँसँग पढेँ मैले। दाजु, गुरु, अग्रज हुनुहुन्छ।

म उहाँलाई दाइ भनेर सम्बोधन गर्थेँ। दाइको लेखहरूबाट प्रभावित भएँ। दाइ लागेको कुरा सीधै भन्ने, क्रान्तिकारी वामपन्थी विचारको हुनुहुन्थ्यो। भइरहेका कुराहरूलाई विनिर्माण गर्ने खालको लेख्नुहुन्थ्यो।

दाइले विद्यालय शिक्षा दार्जलिङमा लिनुभयो अनि थप अध्ययनको लागि बनारस जानुभयो। पछि बनारसमै उहाँले काम गर्नथाल्नुभयो। ‘नौलो पाइलो’ पत्रिकाको त उहाँ सम्पादक हुनुहुन्थ्यो।

मैले एघार वर्ष उमेरमा एउटा कविता लेखेको थिएँ। त्यो कविता कसरीकसरी दाइ कहाँ पुगेछ। उहाँले मेरो कविता छापिदिनुभएछ। कविता छापिएको केही समयपछि मैले थाहा पाएँ। मेरो जिन्दगीमा पहिलो कविता छापिदिने दाइ नै हो। मेरो साहित्यिक जीवनको शुरूदेखि नै दाइको प्रभाव र सम्बन्ध छ।

उहाँ भाषाशास्त्री पनि हुनुहुन्थ्यो। अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको थियो। अंग्रेजीकै प्राध्यापक हुनुहुन्थ्यो। तर नेपाली भाषाको लागि धेरै नै काम गर्नुभयो। र चर्चित पनि हुनुहुन्थ्यो। उहाँको संगत बालकृष्ण पोखरेल, बल्लभमणि दाहाललगायतसँग थियो।

उहाँहरू सबै वामपन्थी विचारधाराको हुनुहुन्थ्यो। त्यतिबेला उहाँहरूले नयाँ कदम चाल्नुभयो। झर्राेवादी आन्दोलनको रूपमा चर्चित पनि भयो त्यो कदम। त्यतिबेला नेपाली भाषामा संस्कृत बढी प्रयोग हुन्थ्यो। तर उहाँहरूले संस्कृतलाई कम प्रयोग गरेर बोलीचालीको नेपाली भाषामा लेखिनुपर्छ भन्ने सिद्धान्त पछ्याउनुभयो। जसलाई उहाँहरूले ‘झर्राेवाद’ भन्नुहुन्थ्यो। झर्राे नेपाली भएकोले ‘झर्राेवाद’ भन्नुहुन्थ्यो। लेख्ने भाषामा नै बोलीचालीको नेपाली भाषाको प्रयोग गर्न थाल्नुभयो। संस्कृतले भरिएका मानक नेपाली भाषाको विपरित रूपमा भाषा लेख्न थाल्नुभयो। साहित्य लेख्दा पनि त्यही भाषाको प्रयोग गर्नुभयो।

दाइ प्राय साहित्यिक समालोचना लेख्नुहुन्थ्यो। उहाँको दृष्टिकोण मार्क्सवादी भएकाले वामपन्थी समालोचक हुनुहुन्थ्यो। दाइले पनि आफूलाई ‘माक्र्सवादी’ भन्नुहुन्थ्यो। उहाँ मात्रै नभई उहाँका समूह पनि सबै उस्तै थिए। तर दाइ त्यो समूहको प्रखर समालोचक हुनुहुन्थ्यो। उहाँका पत्रपत्रिकाहरूमा समालोचना आउँथ्यो। धेरै पढियो। सबै नेपालको मुख्य मुख्य कृतिहरू साहित्यको समालोचना लेख्नुभएको छ।

उहाँसँगको भेट भने काठमाडौंमा आएर भयो। म आइएको विद्यार्थी थिएँ। विराटनगरमै पढ्थेँ। त्यतिबेला पूर्व पढ्ने विद्यार्थीले परीक्षा दिन भने काठमाडौंमै आउनुपर्थ्यो। आइएको परीक्षा दिन आएको म यतै बसेँ। २०२० सालतिर उहाँलाई देखेर बोलेँ। कुरा भयो। बोलेपछि एकैचोटी नजिकको भएँ म। उहाँको बोलीचाली पनि राम्रो विचार पनि राम्रो थियो। उहाँका कृतिहरू पढिसकेको थिएँ। आफू पनि लेख्न थालिसकेको थिएँ। उहाँलाई भेटेपछि नजिक हुँदै गयौँ। उहाँका लेख धाराप्रवाह आइरहन्थे। उहाँले साहित्यकार र साहित्यकारका कृतिहरू लिनुहुन्थ्यो अनि कि त त्यसलाई खुब प्रशंसा गर्नुहुन्थ्यो, कि त साह्रै कडासँग आलोचना गर्नुहुन्थ्यो।

उहाँको चरित्र नै कडा किसिमको लेख्ने, सम्झौता नगर्ने खालको थियो। प्रज्ञा प्रतिष्ठानमा पदको आशमा कहिल्यै जानुभएन। माक्र्सवादी छवि बलियोसँग लेख्नुहुन्थ्यो। पछि उहाँले राजा महेन्द्रले लेखेको कविताहरूमाथि पनि त्यस्तै आलोचना गर्नुभयो। पद्म कन्या कलेजमा अंग्रेजीको प्रोफेसर हुँदा राजा महेन्द्रको ‘उसैको लागि’ कविताको आलोचना गर्नुभयो। त्यसपछि प्रहरीले उहाँलाई पक्रियो। जेल जानुभयो। पछि महेन्द्रले आफैले थाहा पाएर जेलबाट मुक्त गरिदिए। त्यसपछि दाइ महेन्द्रको नजिक हुनुभयो अनि ‘उसैको लागि’ भन्ने महेन्द्रको कविता संग्रहको राम्रो समीक्षा लेख्नुभयो। त्यसपछि उहाँमा परिवर्तन आयो। माक्र्सवादी विचार छाडेर स्वतन्त्र किसिमले लेख्न थाल्नुभयो।

उहाँले महत्वपूर्ण कृतिहरू लेख्नुभयो। ‘नेपाली साहित्यको इतिहास’ लेख्नुभयो। त्यस अघि यस्तो कृति थिएन। निकै मेहनत गरेर लेख्नुभयो। पछि समालोचनाहरूलाई ‘घोत्ल्याइँहरू’ संग्रह छाप्नुभयो। घोत्लिनेलाई झर्राे भाषामा घोत्ल्याइँहरू भनेर निकाल्नुभएको थियो। त्यसपछि कयौँ समालोचना निस्किए। उहाँ बेलायतमा पढ्न गएका बेलाको संस्मरण समेटेर ‘बेलायततिर बरालिँदा’ किताब निकाल्नुभयो। उहाँले कथाहरू, उपन्यास पनि लेख्नुभएको छ। तर ती चर्चित भएनन्। समालोचना जति अन्य लेख चर्चित भएनन्।

उहाँले धेरै समालोचनामा योगदान गर्नुभएको छ। नेपाली साहित्यको समालोचना र इतिहास, नेपाली भाषाको संस्कृतमूलक भाषालाई परिवर्तन गरेर सरल ढंगले भाषा लेख्नु हुन्थ्यो। साहित्यमा एउटा ‘hierarchy’ छ। त्यसलाई धेरै रूपमा तोड्नुभयो उहाँले।

अत्यन्तै समानताको पक्षपाती हुनुहुन्थ्यो। निमुखा, गरीब जनताको पक्षमा लेख्नुहुन्थ्यो। चर्चा नगरिएका साहित्यको चर्चा गर्नुहुन्थ्यो। समालोचना, भाषाको आन्दोलन र नेपाली साहित्यको इतिहासमा ठूलो योगदान दिनुभएको छ। उहाँले लेखेका कुराले मानिसलाई धेरै कुरा थाहा भयो।

उहाँसँग बनारस जाने मौका मिल्यो। बनारसका साहित्यकारले सम्पादक काशीबहादुर श्रेष्ठको शतवार्षिकी कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा जाँदा मैले उहाँसँग खुब अन्तरंग कुरा गरेँ। त्यो बेलामा उहाँले ‘साहित्यमा लेख्दा जस्तो जे हुन्छ लेख्ने बेलामा कोही मान्छे रिसाउँछ कि भनेर डर नराखी लेख्नू भन्नुभएको थियो। मैले त्यसरी लेख्ने कोशिस गरेँ, कति ठाउँमा सफल भएँ, कति भइनँ, कति गल्ती पनि गरेँ, तर लेख्नेले त्यसलाई मन्त्रजस्तो लिनू, स्वतन्त्र भएर लेख्नू, केही कसैको हैकम शक्ति, कसैलाई वास्ता नगरी लेख्नू, आफ्नो भित्रबाट देखेको कुरा लेख्नू’ भन्नुहुन्थ्यो। नेपाली साहित्यमा अध्ययन कम गर्न थालेको भन्दै अध्ययनशील बनाउनुपर्ने कुरा गर्नुहुन्थ्यो।

दाइमा अलिकति राष्ट्रवादी भावना थियो। उहाँ बारम्बार ‘स्वाभिमानलाई कहिल्यै नछोड्नू, कोही मभन्दा शक्तिशाली छ भने म सानो छु भन्ने भावनाले नलेख्नू, कसैलाई चोट नपुर्‍याउनू, मान्छेको इज्जतको सम्मान गरेर लेख्नू’ भन्नुहुन्थ्यो। उहाँका यी कुराहरू मैले जहिल्यै पनि सम्झिनेछु।

दाईलाई नभेटेको धेरै भइसकेको थियो। पाँच वर्ष अघि उहाँको सम्मान कार्यक्रममा भेट भएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम भएको थियो। उहाँमाथि बोलेको थिएँ मैले त्यहाँ। त्यसमा भाउजू शान्ता (शर्माकी पत्नी) पनि सँगै हुनुहुन्थ्यो। उहाँ विस्तारै विस्मृतिमा जान थाल्नुभएको थियो। त्यसैले भाउजूले सहयोग गर्नुहुन्थ्यो। त्यतिबेला मैले उहाँबारे बोलेको थिएँ।

उहाँ जानुभएको सुनेर दुःखी छु। उहाँको निर्भीकपन, स्वाभिमान र सरल भाषामा लेख्नु भन्ने सुझाव सधैं सम्झिरहनेछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved