एमसीसी अघि नबढाए अग्नि सापकोटाको सभामुख जोखिममा, विकल्पमा महन्थ ठाकुर ?

एमसीसी सम्झौतालाई संसद्‌मा पेश नगरेका कारण रुष्ट कांग्रेस र एमाले लगायत अन्य केही दलहरू अग्निप्रसाद सापकोटालाई सभामुख पदबाट हटाउन प्रयत्नरत छन्। 

नेपालभ्युज

एमसीसी अघि नबढाए अग्नि सापकोटाको सभामुख जोखिममा, विकल्पमा महन्थ ठाकुर ?

काठमाडौं। एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गर्ने प्रक्रिया रोकिरहेमा सभामुख अग्निप्रसाद सापकोटाको पद जोखिममा पर्ने सम्भावना बढेको छ। उच्च राजनीतिक तहमा यस विषयमा समेत गृहकार्य हुन थालेको स्रोतले जानकारी दिएको छ।

त्यो अवस्था आएमा सापकोटाको विकल्पमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सभामुखका रूपमा अघि सार्ने विषयमा समेत छलफल भएको बुझिएको छ। मधेश केन्द्रित दलका ज्येष्ठ नेता ठाकुर पूर्व उपसभामुख हुन्।

उच्च राजनीतिक स्रोतका अनुसार, एमसीसी सम्झौता संसदीय प्रक्रिया अघि बढाउन बाधक बनेमा सभामुख सापकोटालाई हटाएर भए पनि अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक भएका छन् तर महाभियोग लगाउन प्रतिनिधिसभाको दुईतिहाई मत आवश्यक पर्छ।

आवश्यक संख्या कसरी जुट्न सक्छ भन्नेबारे समेत छलफल भएको स्रोतले जनाएको छ।

सभामुख हटाउन प्रतिनिधिसभाका कम्तिमा एक सय ७७ जना सदस्यको आवश्यकता पर्छ। नेकपा (एमाले)ले सभामुख सापकोटाले पदअनुकूल आचरण नदेखाएको भन्दै राजीनामा माग गर्दै आएको छ। प्रतिनिधिसभाको अधिवेशन शुरु भएको दिन २३ भदौदेखि निरन्तर अवरुद्ध गर्दैआएको एमालेले सभामुख सापकोटालाई निशाना बनाएको हो।

“सभामुख सापकोटाले पदीय आचरणअनुरूप काम नगरेको भन्ने हाम्रो आरोप हो। उहाँले एमाले फुटाउन सहयोगी भूमिका खेल्नुभएको छ”, एमाले मुख्य सचेतक विशाल भट्टराईले भने, “उहाँ सच्चिएर आउनुपर्छ। एमालेले हटाउने निर्णय गरेका सांसद्लाई हटाएको सूचना टाँस्नुपर्छ, नत्र राजीनामा गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।”

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला एमसीसी अघि बढाउन सभामुख सापकोटालाई डाकेर नै आग्रह गरेका थिए। त्यसबेला उनले ‘तपाईंले भनेर हुँदैन, सीएम (प्रचण्ड) ले भन्नुपर्छ’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दा पनि एमसीसी अघि बढाउन आग्रह गरेका थिए।

“एमसीसी अघि नबढाएकै कारण सभामुख हटाउने भन्ने निष्कर्षमा एमाले पुगेको छैन”, मुख्य सचेतक भट्टराईले नेपालभ्यूजसँग भने, “सभामुखले हाम्रो माग सम्बोधन गर्नुपर्छ। कि राजीनामा गर्नुपर्छ वा आफूलाई सच्याएर अघि बढ्न एमालेले हटाएका सांसद्हरूको पद खारेज भएको सूचना टाँस्नुपर्छ।”

भट्टराईले एमसीसीलाई कारणको रूपमा प्रस्तुत नगरे पनि सभामुखको बहिर्गमन भने एमालेले चाहेको छ।

दुईतिहाई समर्थन पुग्ने हो भने सभामुख हटाउन एमाले सकारात्मक छ तर संख्या नपुग्ने हो कि भनेर नै ऊ यसप्रति अग्रसर नभएको हो। एमालेको प्रतिनिधिसभामा ९९ सीट छ।

६१ सीट भएको सत्तारुढ नेपाली कांग्रेस भने सभामुख हटाएर भए पनि एमसीसी अघि बढाउन लागिपरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख सापकोटाको व्यवहारसँग ‘इरिटेट’ भइसकेको स्रोतको दाबी छ।

एमाले र कांग्रेस दुई दलका मात्र एक सय ६० सीट रहेकाले आवश्यक बाँकी १८ सीट लोकतान्त्रिक समाजवादी र जसपाको डा. बाबुराम भट्टराई खेमाबाट प्राप्त हुनसक्ने सभामुख हटाउन गृहकार्य गराउने समूहको दाबी छ।

प्रधानमन्त्री देउवा पनि सभामुखले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आडमा जिद्दी नछाडे उनलाई हटाएर अघि बढ्नेबारे सकारात्मक रहेको उक्त स्रोतको दाबी छ।

“एमसीसीकै कारण सभामुख हटाउने कुरामा एमाले र कांग्रेसभित्र विद्रोह भएमा संख्या नपुग्न सक्छ। त्यसैले बाधक बनेमा  सभामुख खाली गराउन राजीनामा गर्न बाध्य पार्ने उपायको खोजी पनि हुनसक्छ”, स्रोतले भन्यो।

अग्नि सापकोटालाई सभामुखबाट हटाएमा वा हट्न बाध्य हुने अवस्था ल्याएर खाली गरेमा ज्येष्ठ सदस्यका नाताले सभामुखको जिम्मेवारी स्वतः ठाकुरकहाँ पुग्ने छ। उनैले एमसीसी अघि बढाउने छन्।

माओवादी केन्द्र संसदीय दलका देव गुरुङले एमसीसी पारित गर्न अमेरिकी दबाब बढिरहेको स्वीकार गरे। सभामुख हट्ने सम्भावना भने उनले असहज रहेको जिकिर गरे।

“उनीहरूको चरित्र नै दबाब दिने, धम्क्याउने हो, नेताहरूलाई नै फोन गरेर धम्की दिइरहेको छ”, उनले भने, “सभामुख हटाउन पनि नियम–कानून अनुसारै त गर्नुपर्ला नि !”

पछिल्ल्लो समय अमेरिकाले १६ फागुनभित्र एमसीसी अनुमोदन गरिसक्नुपर्ने भनी दबाब दिइरहेछ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार महिनाअघि अनुमोदन गर्ने प्रतिबद्धतासहित एमसीसीलाई लेखेका थिए तर यसबीचमा माओवादी अध्यक्ष प्रचण्डले माओवादी स्थायी कमिटी बैठक राखेर एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गराएका थिए। त्यसपछि अमेरिकाले दबाब बढाएको हो।

दुई दिनअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालका नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्दै १६ फागुनभन्दा कुर्न नसक्ने बताएकी थिइन्। त्यसको एक दिनपछि अमेरिकी सहायक विदेशमन्त्रीले प्रधानमन्त्री कोइराला, प्रमुखप्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरी एमसीसी पारित गर्न दबाब दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved