भ्यालेन्टाइनमा घुम्न जाने योजनामा हुनुहुन्छ? दामन क्षेत्रका यी ६ गन्तव्य (फोटोफिचर)

भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। प्रेम प्रकट गर्ने र सुन्दर प्रेमिल स्मृतिहरू संकलन गर्ने यो भन्दा उपयुक्त समय अरु कुन होला र ?

भ्यालेन्टाइनमा घुम्न जाने योजनामा हुनुहुन्छ? दामन क्षेत्रका यी ६ गन्तव्य (फोटोफिचर)

हेटौँडा। भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। प्रेम प्रकट गर्ने र सुन्दर प्रेमिल स्मृतिहरू संकलन गर्ने यो भन्दा उपयुक्त समय अरु कुन होला र ? कुनै नयाँ ठाउँमा आफ्नो प्रेमी/प्रेमिकालाई लिएर यो भ्यालेन्टाइनलाई नोष्टालजिक बनाउने योजना पक्कै पनि बनाउनु भएको होला। तर नजिकको र पहिले नगएको गन्तव्य छनोट गर्न सक्नुभएको छैन भने थाहा नगरपालिकाको दामन/पालुङ क्षेत्रका पर्यटकीय गन्तव्य तपाईंका लागि उपर्युक्त हुनसक्छन्।

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका पर्यटकीय गन्तव्यका रूपमा परिचित रहेको छ। त्यहाँ रहेका प्राकृतिक सम्पदा र निर्माण हुँदै गरेका विभिन्न पर्यटकीय क्षेत्रहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लोभ्याउने गर्दछ। हामी झट्ट सुन्दा थाहा नगरपालिकाको दामन भन्ने बित्तिकै हिउँ पर्ने स्थान भनेर बुझ्छौं। तर थाहा नगरमा अन्य धेरै पर्यटकीय गन्तव्यहरू रहेका छन्। त्यहाँको चिसो मौसम र प्राकृतिक सुन्दरताले पर्यटकहरू तान्ने गर्दछ। थाहा नगरमा भएका प्रमुख पर्यटकीय गन्तव्यहरूमा दामन र सिमभञ्ज्याङ रहे पनि त्यहाँ घुम्न लायक अन्य स्थानहरू पनि धेरै छन्। ती मध्ये केहि स्थानको बारेमा आज हामीले चर्चा गरेका छौं।

चिसो सिमभञ्ज्याङ

हेटौंडाबाट ५८ किलोमिटरको दूरीमा रहेको सिमभञ्ज्याङ हिउँ खेल्नको लागि प्रख्यात छ। समुद्री सतहदेखि दुई हजार ४८८ मिटरको उचाईमा रहेको उक्त क्षेत्रमा हरेक वर्ष जसो हिउँ पर्ने गर्दछ। यस वर्ष मात्रै ३ पटक बाक्लो हिउँ परेको सिमभञ्ज्याङमा आन्तरिक पर्यटकको बाक्लै उपस्थिति रहेको थियो। हिउँ पर्ने समयमा मात्रै नभएर अरु बेला पनि उक्त क्षेत्रमा पर्यटकहरू रमाउन जाने गर्दछन्। चिसो मौसम, स्वच्छ हावापानी अनि त्यहाँबाट देखिने रमणीय दृश्यहरूले पर्यटकलाई लोभ्याउने गर्दछ।

दामन

थाहा नगरको दामन पर्यटकहरूका लागि उत्तम गन्तव्य बन्ने गरेको छ। त्यहाँ वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गर्दछन्। समुद्री सतहबाट २३२२ मिटर उचाईमा रहेको दामन क्षेत्रमा पनि वर्षेनी जसो हिउँ पर्ने गर्दछ। त्यहाँ निर्माण गरिएको भ्यू टावरबाट देखिने रमणीय दृश्यहरूले पर्यटकलाई लोभ्याउने गर्दछ। उक्त भ्यू टावरबाट मौसम सफा भएको दिन ८ हजार मिटर भन्दा अग्ला ८ वटा सहित १४ वटा हिमालको उत्कृष्ट दृश्य देख्न सकिन्छ। दामनमै निर्माण गरिएको फलामे भर्‍याङले पनि पर्यटकहरूलाई लोभ्याउने गर्दछ। नेपालकै अग्लो दाबी गरिएको उक्त फलामे भर्‍याङमा पर्यटकहरू रमाउन आउने गर्दछन्। दामनमा रहेका सुविधाजनक होटल तथा लजहरूले त्यहाँ रमाउन आउने पर्यटकहरूलाई थप सहज बन्ने गरेको छ।

आलु काउली स्तम्भ

दामनबाट केही किलोमिटर तल झरेपछि शिखरकोट बजार भन्दा २ किलोमिटर माथि आलु काउलीको स्तम्भ देख्न सकिन्छ। तरकारी खेतीका लागि प्रशिद्ध थाहा नगरमा आलु र काउलीको स्तम्भ निर्माण गरिएको हो । थाहा–४ स्थित नयाँगाउँमा त्रिभुवन राजपथछेउमै स्तम्भ निर्माण गरिएको छ  । करिब ६ लाख लागतमा बनेको उक्त स्तम्भमा पनि पर्यटकहरू केही बेर रमाउने गर्छन्। उक्त राजमार्गबाट ओहोर दोहोर गर्ने यात्रुले स्तम्भ अवलोकन गर्ने र तस्वीर खिच्ने गर्दछन्।

नर्वे ढुङ्गा

थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको नर्वे ढुङ्गामा पनि पछिल्लो समय पर्यटकको संख्यामा वृद्धि भएको छ। नर्वे देशमा पनि उस्तै खालको ढुङ्गा रहेकोले उक्त ढुङ्गाको नाम नर्वे रहन गएको स्थानीयहरू बताउँछन्। झट्ट हेर्दा भयानक जस्तो देखिने त्यस ढुङ्गामा तस्वीर खिच्न र रमाउन आउनेको संख्या दिन प्रतिदिन बढ्दो छ।

खुकुरी पार्क

मकवानपुरको थाहा नगरपालिका भित्रै रहेको खुकुरी पार्क पनि पर्यटकलाई आकर्षण गर्ने क्षेत्र बनेको छ। ढुङ्गालाई कुँदेर खुकुरीको आकार दिईएको उक्त क्षेत्रले दामनमा पर्यटकको क्षेत्रलाई झनै बढाईदिएको छ।

मुस्कान झरना

खुकुरी पार्क नजिकै रहेको मुस्कान झरनामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू लोभिने गर्दछन्। आकारमा सानो भएपनि सुन्दर रहेको उक्त झरना पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा तस्वीरहरू आउन थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको हो।

यति मात्रै नभएर मकवानपुरको थाहा नगरपालिकामा अन्य पनि पर्यटकीय स्थानहरू रहेका छन्। केही क्षेत्रहरू परिचित नै छन् भने केही स्थानहरू परिचयको पर्खाइमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved