‘एमसीसीमा हितविपरीत प्रावधान छन् भने हस्ताक्षर गर्नेले जिम्मा लिनुपर्दैन ?’

नेपालभ्युज

बुटवल। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीको विषयमा सरकारले स्पस्ट धारणा ल्याउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धन सरकारले यो सम्झौता गरेको भन्दै उनीहरूले यसलाई स्पष्ट पार्नुपर्ने माग गरे।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले भने, “एमसीसी सम्झौतालाई यो गठबन्धनका साथीहरूले गिजोल्न लाग्नुभयो। अमेरिकालाई पाँच महीनाभित्र पास गर्छौ भन्ने यता जनतालाई संसोधन बिना पास गर्देनौ भन्दै झुटा कुरा गरेर हुँदैन। सरकारले के गर्न खोज्दैछ स्पस्ट पार्नुस्। सरकारको तर्फबाट र गठबन्धनको तर्फबाट धारणा ल्याओस्। पास गर्न उहाँहरूसँग बहुमत छँदै छ।’’

उनले नेकपा एमाले प्रतिपक्षमा रहेको भन्दै उनले प्रतिपक्षले चाहनु र नचाहनुमा यतिबेला कुनै फरक नपर्ने बताए। भने, “हामी हाम्रा एजेण्डा पास गराउन पनि सक्दैनौँ, फेल गराउन पनि।’’

पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले भने, “एमसीसी झण्डै ८ वर्ष लगाएर नेपाल आफैले ल्याएको परियोजना हो। २०१० देखि नेपाल यो विषयमा जोडिँदै आएको छ। ६-७ जना प्रधानमन्त्रीहरू यसमा जोडिनुभयो। नेपालले यो परियोजना आवश्यक छ भनेर त्यतिबेला छनोट गरेको हो।’’

उनले एमसीसीमा कुनै राष्ट्रिय हितविपरीत कुनै प्रावधानहरू छन् भने क्षमायाचना गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “यदि यसमा कुनै राष्ट्रिय हितविपरीत प्रावधानहरू छन् भने सबैभन्दा पहिले जसले हस्ताक्षर गरेको हो उसैले आत्मलोचना गर्नु पर्दैन ?’’

सोही प्रसंगमा उनले तत्कालीन समयमा हस्ताक्षर गर्ने अर्थमन्त्री ज्ञानेन्द्र काकी रहेका भन्दै अहिले पनि यो ठिक छ वा छैन भनेर पाँच वर्षपछि त्यसको अध्ययन गर्ने कार्यदलमा पनि रहेकोमा व्यंग्य गरे। भने, “पाँच वर्षअघि उहाँहरू निद्रामा हुनुहुन्थ्यो कि कसैले झुक्याएर सही गरायो कि ? ठिक थियो भने ठिक छ भनेर भन्नुपर्‍यो, ठिक छैन भने हामीले गल्ती गरेछौँ भन्नुपर्‍यो। सर्प देखे दुलाबाहिर हात, माछा देखे दुलाभित्र हातजस्तो व्यवहार देखाउनु हुँदैन।’’

उनले यो विषयमा नेकपा एमालेले उपयुक्त समयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने पनि उनले उल्लेख गरे।

‘संसद् चल्न एमालेले चार विकल्प दिएको छ, एक त मान्नै पर्छ’

ज्ञवालीले संसदहरू चल्नको लागि चार विकल्प अगाडि सारेको बताए। त्यसमध्ये एउटा विकल्प मानेमा संसद सुचारु हुने उनले बताए।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सभामुखले संसदको ढोका बन्द गरेको बताउँदै सभामुखकै भूमिका विवादास्पद रहेको आरोप लगाएका थिए।

उनले नेकपा एमालेले कारवाही गरेका सांसदको नाम सदस्यबाट हटाएको सूचना नटासेको बताउँदै यही मुख्य समस्या रहेको बताए। उनले एमाले छाडेका सांसदहरूलाई फर्काउने कुनै चाहना नरहेको उल्लेख गरे।

सरकार गठनको समय र अर्को पार्टी दर्ता नहुँदासम्म सूचना जारी नगरेको बताउँदै उपमहासचिव ज्ञवालीले पार्टी दर्ता भए पनि सूचना टाँस्नु जरुरी नठाउनेले समस्या उत्पन्न भएको बताए। उनले ४ विकल्पबारे बताउँदै भने, “अहिले पनि उहाँहरूलाई एमालेले कारबाही गरेको सूचना टाँस्नु,उहाँको सांसद् पद जाओस वा न जाओस् तर कारबाही गरेको त थाहा हुनु पर्‍यो नि।’’

उनले पहिलो विकल्प गर्न नसकेमा दोस्रो विकल्पमा सभामुख र सचिवालयले दलगत रूपमा काम गरेँ भनेर क्षमायाचना गर्नुपर्ने बताउँदै यसो भएमा संसदको ढोका खुल्ने बताए। उनले अदालतबाट सबै प्रक्रिया टुंगाउने तेस्रो विकल्प र सभामुखले राजीनामा दिने चौथो विकल्पमध्ये एक गरेमा संसद् चल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved