श्रद्धासुमन लता

लताजी र म रोमान्समा विश्वास गर्थ्यौं

लताजी र म रोमान्समा विश्वास गर्थ्यौं

लताजी र मैले लामो समयदेखि एकै साथ काम गर्‍यौँ ।

यसको एउटै मात्र कारण के थियो भने– हामी दुवै रोमान्टिक फिल्महरू र जीवन–यात्रामा रोमान्सप्रति विश्वास गर्थ्यौं ।

मलाई यो कुरा भन्न कुनै संकोच लाग्दैन– म अन्धविश्वासी छु । मेरो के प्रयत्न रहन्छ भने, म कुनै व्यक्तिसँग जोडिएको छु भने ऊसँग आगामी दिनहरूमा पनि निरन्तर रुपमा जोडिरहन नै चाहन्छु ।

लताजीसँगको यस्तो सौभाग्य मलाई मैले निर्माण गरेको पहिलो फिल्ममै मिलेको थियो ।

मेरो पछिल्लो फिल्म थियो– ‘दिल तो पागल है’ ।

यो फिल्म निर्माणको दौरान पहिलोपल्ट यस्तोसम्म भयो कि, लताजी र मैले एकै पटक दुई–दुईवटा अवार्ड पायौं । यो फिल्मका लागि एमटीबीले बेस्ट युथ सिंगर अवार्ड दियो भने ‘जी’ ले सिने अवार्ड ।

रमाइलो त के लाग्छ भने, हामी दुवै जीवन–सन्ध्याको जस्केलोमै उभिएका छौं । रोचक त, युवाहरूद्वारा राखिएको युवाहरूलाई नै दिइने ‘एमटीभी अवार्ड’ हामीले नै पायौं ।

व्यक्तिगत रुपमा मैले लताजीलाई सदैव एक भद्र, सामान्य र विनम्र प्रतिभाको रुपमा हेरेँ र गरेँ त्यस्तै नै अनुभूत । उनले मलाई र मेरा फिल्महरूलाई यति धेरै माया गरिन् कि, त्यसलाई म बाँचुन्जेलसम्म भुल्न सक्दिनँ ।

यिनै स्नेहस्वरुप उनी वर्षौंदेखि न केवल मेरा फिल्महरूका गायिका मात्र रहिन्, उनी त मेरो परिवारको एक सदस्य नै भइन् ।

लताजीसँग मेरो पहिलो भेट भएको थियो– ‘धूल का फूल’ को निर्माण समयताका । त्यो फिल्म निर्माणको बेला (१९५९) मैले सहायक भूमिका निर्वाह गरेको थिएँ र त्यही फिल्म निर्माणको बेला नै उनीसँग पहिलो पटक कुराकानी भएको थियो ।
त्यसयता उनीसँग मेरो सौहार्द सम्बन्ध रहँदै आयो ।

जब मैले यशराज फिल्मस् खडा गरेँ र त्यसयता ‘दिदी’ बाट मलाई सदैव आशीर्वाद प्राप्त हुँदै आयो । त्यसयता मैले जति फिल्म बनाएँ, उनले हरेक फिल्मको पाश्र्व–गायनमा मलाई साथ दिँदै आइन् ।

उनको मप्रति कस्तो सहयोग रह्यो भने, कुनै बेला उनले कुनै फिल्मी गीतमा रेकर्डिङ गर्दै हुन्थिन् । तर त्यही नै समय मेरो गीतमा रेकर्डिङ गर्नुपर्‍यो भने उनले आफ्नो रेकर्डिङको गीत गाउन छाडेर मेरो गीत गाउन आउँथिन् ।

मलाई एउटा कुरामा गर्व छ र म एउटा रहस्य पनि बताउन चाहन्छु, ‘मैले बनाएका हरेक फिल्मको गीत लताले निःशुल्क नै गाइन्, सबै फिल्ममा मुफ्त ।’

कुरा, पैसाको थिएन, मप्रति उनको विश्वासको थियो ।

विश्वास केमा पनि थियो भने, जबसम्म मैले फिल्म बनाउँछु, लताजीले मेरा फिल्ममा गाउँछिन्…।’

(भारतका प्रसिद्ध फिल्म निर्देशक चोपडाको लता मंगेशकरप्रतिको यो मूल्यांकन हिन्दी साप्ताहिक पत्रिका ‘आउटलुक’ को २००३ सेप्टेम्बरको अंकबाट लिइएको हो । जुन अंकमा ‘आउटलुक’ले मंगेशकरको कभरस्टोरी बनाएको थियो ।)
भावानुवादः विवश वस्ती

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved