काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

नेपालभ्युज

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ। कोरोना संक्रमणको उच्च जोखिमका कारण करीब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ। कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि यही ९ माघदेखि २१ माघसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो। त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ। यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ। महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ। सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ।

यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण दर दैनिक घटिरहेको तथ्याङ्कले देखाएको छ। जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा संक्रमण देखिएको छ भने १४६ संक्रमण मुक्त भएका छन्।

हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोना सक्रीय संक्रमित छन्। जिल्लामा हालसम्म १७ हजार ३८४ मा संक्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ। कुल संक्रमितमध्ये ९६ दशमलब ५६ प्रतिशत अर्थात् १६ हजार ७८६ संक्रमणमुक्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved