मोटरेवल पक्की पुल बनाइँदै

नेपालभ्युज

मोटरेवल पक्की पुल बनाइँदै

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने सडकखण्डको तापखोलामा मोटरेवल पक्की पुल बनाउन थालिएको छ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नं प्रदेश यातायात पूर्वाधार निर्देशनालय र जिल्लास्थित पूर्वाधार विकास कार्यक्रमको संयुक्त लगानीमा उक्त खोेलामा पक्की पुल निर्माणका लागि ढलान गर्न थालिएको हो। भ्याटसहित सात करोड ६१ लाख २४ हजार ५४३ रुपैयाँको लागतमा ३५ मिटर लामो आठ दशमलव ४० मिटर चौडा पुल निर्माण गरिने जनाइएको छ।

ठेकेदार कम्पनी रौता–रोशन–सुशम–आदित्य जेभीले गत मङ्सिर–७ गते नै निर्माण सम्पन्न गर्नुपर्नेमा कोरोना संक्रमणका कारण जनाउँदै समयमै पूरा नगरेपछि पूर्वाधार विकास कार्यक्रमले पुनः छ महीनाको समय दिएको कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए। “अहिले दुवैपट्टीको पिलरको काम सम्पन्न गरेर बिम र स्ल्याप ढलान गर्न फलामे डण्डी ठड्याउने काम भइरहेको छ”, उनले भने, “आगामी चैत मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौँ।”

तोकिएको समयमा पुल निर्माण गर्न र गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिने काम भइरहेको प्रदेशसभा सदस्य राजन राईले बताए। विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको सो दिक्तेल–खार्मी–बाक्सिला सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपटक वडाको दश लाख र नगरपालिकाको  १५ लाख रुपैयाँको बजेटमा स्तरोन्नतिको काम भइरहेको छ। सडक निर्माण भएको लामो समयसम्म ढुवानीका सवारीसाधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडक खण्डमा विगत चार वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत सञ्चालन भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।

हिउँदभर करीब छ महीनामात्र सञ्चालन हुने सो कच्ची सडक खार्मी,पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन्। उक्त सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर लगानी गर्ने काम भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए।

दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोलिसकिएको छ। सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी जाने सबैभन्दा छोटो मार्ग हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved