खाद्य व्यापार कम्पनीले धनुषाका किसानका १० हजार क्विन्टल धान किन्यो

साना किसान भने मारमा

खाद्य व्यापार कम्पनीले धनुषाका किसानका १० हजार क्विन्टल धान किन्यो

जनकपुरधाम। जनकपुरधामस्थित खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालयले किसानहरूको धान खरीद गर्ने क्रम जारी राखेको छ। नेपाल सरकारले किसानको धान खरीद गर्ने निर्णय गरेअनुसार कम्पनीले सोना मन्सुली धान खरीद गरिरहेको छ।

कार्यालयका प्रमुख उपेन्द्र लिम्बूले किसानहरूसँग प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँमा धान खरीद गरिरहेको जानकारी दिए। कोरोना महामारीलाई ध्यानमा राखेर किसानहरूलाई पहिला नै कुपन प्रदान गरेर कुपनका आधारमा धान खरीद गर्ने काम गरिरहेको प्रमुख लिम्बूले बताए।

उनले हालसम्म ९ हजार ८ सय क्विन्टल मसिनो धान खरीद गर्ने काम सम्पन्न भएको र यस वर्ष १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएको जानकारी दिए।

साना किसान मारमा

वास्तविक किसान भएको सम्बन्धमा स्थानीय तहले गरेको सिफारिस कागजातका आधारमा किसानलाई कम्पनीले कुपन दिएर धान खरीद गरिरहेको कम्पनीले जनाएको छ। तर कम्पनीले विभिन्न साइजका बोरा तथा टायर गाडामा आएको धान खरीद नगरेका कारण निम्न वर्गका किसानहरू भने पीडित बनेका छन्। सानातिना बोरा र पोकामा ल्याएका धान भने कम्पनीले किन्ने गरेको छैन। जसका कारण साना किसान मारमा परेका छन्।

ठूला किसानको नाउँमा एकै नासका बोरा तथा ट्याक्टरमा आएका किसानहरूको धान खरीद गर्ने काम गरेकाले धानको कारोबार गर्ने केही व्यवसायीले बिक्री गरेर किसानले पाउने लाभ पाइरहेको किसानहरूको गुनासो रहेको छ।

यता कम्पनीका कार्यालय प्रमुख लिम्बूले स्थानीय वडाले सिफारिस गरेका आधारमा किसानसँग धान खरीद गर्ने गरेकाले अनियमितता भएको विषयमा कुनै सत्यता नभएको दाबी गरे।

नेपाल सरकारले मोटो तथा मसिनो जातको धान खरीद गरेर किसानलाई राहत दिने लक्ष्य लिएको छ। अहिले मसिनो धान बजारमा प्रतिक्विन्टल २ हजार ५ सयमा खरीद-बिक्री भइरहेको छ भने सरकारले बजार मूल्यभन्दा ४ सय २ रुपैयाँ बढी दिइरहेकाले किसानले कम्पनीलाई आफ्नो धान बेच्न खोजेका हुन्।

धानको उत्पादन लागत बढेकाले लागत उठाउन तथा किसानलाई उचित मुनाफा दिन सरकारले प्रदान गरेको अनुदानका आधारमा कम्पनीले धान खरीद गर्ने काम गरिरहेको लिम्बूले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved