धार बदल्दै गुरुङ सिनेमा

धार बदल्दै गुरुङ सिनेमा

पोखरा। पोखरा – कला र संस्कृतिको धनी शहर। त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको शहर। यहाँ समय-समयमा जनजाति अनुहारहरू एक्सन र कटको सेटमा भेटिन्छन्। आदिवासी संस्कृति, कला, भाषा, संस्कार, पोशाक, गीत-संगीतमा आधारित फिल्म निर्माण हुने क्रम बढ्दो छ।

हलमा गुरुङ फिल्महरू च्यारिटो शो भइरहन्छन्। यिनै कारण पनि पोखरालाई गुरुङ फिल्मको उर्वरभूमि मानिन्छ।

२०५२ तिर काठमाडौंमा रोधी परिवार नामक एक संस्था थियो। संस्थालाई गुरुङ समुदायका युवाहरूले स्थापना गरेका थिए। नाचगानमा केन्द्रीत उक्त संस्था ख्यालख्यालमै फिल्मतर्फ मोडियो। संस्थामा आवद्ध केही युवाहरू फिल्म बनाउन कस्सिए। त्यही समूहमा थिए पहिलो गुरुङ फिल्मका नायक प्रितम गुरुङ पनि।तर, समस्या उही त हो-पैसा। लगानी नजुट्ने पक्का भयो। आफ्नै बुबाआमासँग पैसा मागेर फिल्म बनाउने तयारीमा जुटे। फिल्मको नाम तय भयो, ‘पाते’ अर्थात माइली। गुरुङ भाषा, संस्कृति अनुसन्धानमा सिंगापुरबाट नेपाल आएकी सिंगापुरे अनुसन्धानकर्ता मेलिस्सा लिईबाट फिल्मको शुभमुहूर्त गरिएको थियो।

यसअघि मगर भाषाको पहिलो फिल्म ‘लङगान’ निर्माण भइसकेको थियो। सोही फिल्मका निर्देशक युवराज मास्कीमगरलाई निर्देशनको जिम्मा दिएर फिल्मको सुटिङ थालनी भयो। फिल्ममा प्रितम गुरुङ नायकको रूपमा देखिए भने अनु गुरुङ नायिका बनिन्। नायक तथा निर्माता प्रितमकाअनुसार उक्त फिल्मको लगानी ५ लाख रूपैयाँ थियो।

‘‘त्यो चलचित्रले तत्काल लगानी उठाउन सकेन, ३ वर्षपछि लगानी सेभ गर्‍यो,” गुरुङ फिल्म इतिहासका जानकार एवं गुरुङ फिल्म एसोसियशनका संस्थापक अध्यक्ष माओत्से गुरुङले भने। उनी भन्छन्, ‘‘त्यो समयमा च्यारिटी शो भन्ने नै हुने थिएन। पालमा बसेर क्यासेट बेच्ने लगायत उपायहरू गरिन्थ्यो।’’

२०५२ वैशाख २३ गतेबाट छायांकन शुरु गरिएको फिल्म तनहुँको कन्दनी र काठमाडौं गरी २६ दिनमा सुटिङ सकिएको थियो। उक्त फिल्मलाई २०५५ सालको शिक्षा दिवसको अवसर पारेर नेपाल टेलिभिजनले एपिसोडको रूपमा प्रसारण गर्न थाल्यो। तर, टेलिभिजनबाट पनि तोकिएअनुसारको पैसा नपाएको प्रितम सम्झन्छन्। ‘‘त्यस्तै ३५ हजार जति पायौं,’’ उनले भने, ‘‘तर, अलि बढी रकममा सहमति भएको थियो।’’ पाते फिल्म गुरुङ र नेपाली दुवै भाषामा डबिङ गरिएको थियो। जसले गर्दा गैरगुरुङलाई पनि फिल्म हेर्न सहज भएको उनले सुनाए। फिल्म निर्माणपछि गुरुङ फिल्मकर्मीहरूमा जोश र उत्साह थपिन थाल्यो। त्यो क्रम हालसम्म पनि कामय नै छ। उक्त फिल्मको सिक्वल पाते—२ पनि प्रितमले २०७२ सालमा बनाएका छन्।

शुरुआती समयदेखि २५ वर्षको लामो समयमा गुरुङ फिल्महरू थुप्रै बने र बन्ने क्रम निरन्तर चलिरहेको छ।

पूर्ण रूपमा गुरुङ भाषामा नै निर्माण भएको फिल्म ‘न्ह्याम्स्यो न्होरी’ (कुहिरो भित्र) हो। मीनबहादुर गुरुङको निर्देशनमा बनेको फिल्मलाई लोकबहादुर गुरुङले लेखेका थिए। नृत्य निर्देशनमा बढी चिनिने गोरे गुरुङले ‘विदेशको माटो स्वदेशको पीडा’ बनाए।उनले यसमा नायकको भूमिका पनि निभाएका छन्। उनले नै प्ह्रेँस्यो , वाचा वन्धन, हेर्ने ट बनाए। यसरी  फिल्म बन्न थालेपछि गुरुङ भाषाभाषीका फिल्मले महत्वका साथ हेरिन थालियो। लोकबहादुर गुरुङ, वेदबहादुर गुरुङ ‘श्याम’ मिलेर ‘ङयोए नासा ट्हो, हेर्वेट चों, प्ह्रेँस्यो, धीं’ नामक गुरुङ फिल्म बनाए। आफ्नो भाषा संस्कृतिलाई देशदेखि विदेशसम्म फैलाउने उद्देश्यले वार्षिक रूपमा थुप्रै फिल्म बन्न थाले। वर्षमा झण्डै १५ जति गुरुङ भाषा, संस्कार संस्कृतिमा आधारित फिल्म नेपालभर बन्ने गर्छन्।

आदिवासी फिल्ममा सबभन्दा बढी गुरुङ भाषाकै फिल्म बनेको पाइन्छ। झण्डै २२ वर्षको अवधिमा गुरुङ फिल्मले उल्लेख्य प्रगति गरेको पनि छ। हालसम्म डेढ सय हाराहारीमा गुरुङ फिल्म निर्माण भएका छन् भने केही निर्माणाधीन अवस्थामा पनि छन्। ती फिल्मको निर्माण गर्ने व्यक्ति र छायांकन समेत बढी मात्रामा गण्डकी अञ्चलमा हुने गरेको पाइन्छ। गुरुङ फिल्म र त्यससँग सम्बन्धित फिल्मकर्मीलाई सहज होस् भनेर २०६५ सालमा गुरुङ फिल्म एसोसियसन (जिफान) स्थापना गरिएको थियो। यसले गुरुङ फिल्मको मात्र नभएर कला, संस्कृतिलाई समेत पर्दामा पस्कने काम गरेको छ। गुरुङ समुदायको कला,रीतिरिवाजलाई नयाँ पिढीमाझ जानकार दिइएको माओत्से गुरुङ बताउँछन्।

पर्यटनसँगै फिल्मको राजधानी मानिने पोखरामा यी फिल्महरूले च्यारिटी शो गरी लगानी उठाउने गरेको पाइन्छ। एक/दुई फिल्म हलमा क्यु सिस्टम अनुसार प्रदर्शन भए। माओत्सेले निर्माण, निर्देशन गरेको गुरुङ फिल्म ‘नकैफु’ हलमा क्यु सिस्टम अनुसार रिलिज भएको फिल्म हो। उक्त फिल्मले हलबाट ५ लाख कलेक्सन गरेको थियो।

गुरुङ फिल्मको क्षेत्र फराकिलो मात्र नभएर गुणस्तरीय पनि हुँदै गएको छ। फिल्म विकास बोर्डको स्वीकृतबिना फिल्म सुटिङ गर्न नपाइने त छँदैछ, त्यसमाथि आफूहरूसँग पनि दर्ता गर्नुपर्ने जिफानले बताइरहेको छ। त्यतिमात्र नभएर सेन्सर पास नभई फिल्म प्रदर्शन गर्न पाइँदैन। यसले गर्दा जथाभावी फिल्म बन्ने क्रम रोकिएको पनि छ। शुरुआतको समयमा एचएस ९००० क्यामराबाट खिचेर फिल्म बजारमा आउने गर्थ्‍यो। त्यसबेला सम्पादनदेखि डबिङ अत्यन्तै झन्झटिलो हुने माओत्से बताउँछन्। ‘‘हिजोको गुरुङ फिल्म र अहिले प्रवृतिमा धेरै फरक छ,’’ उनले भने।अहिले प्रविधिले गर्दा फिल्मले फड्को मारेको उनी बताउँछन्। यो समयमा फिल्महरू डिएसएलआर, जिएचफो, सेभेनडी क्यामराबाट डिजिटल रूपमा काम हुने गरेको छ।

संगीत पनि चर्चित

गुरुङ फिल्म गीतसंगीत पनि निकै चर्चित बन्ने गरेको पाइन्छ। कुनै औपचारिक कार्यक्रम हुँदा नेपाली र हिन्दी गीतको बर्चश्व हुन्थ्यो। अहिले त्यो ठाउँमा गुरुङ फिल्मले स्थान जमाएको छ। स्कुललगायत सांस्कृतिक कार्यक्रममा गुरुङ फिल्म गीतहरू बढी गुन्जिने गरेका छन्। ‘प्ह्रेँस्यो’ नामक फिल्मको ‘प्रेतना रोधिनी’ अत्यधिक रुचाइएको गीत हो। गीतमा धनबहादुर गुरुङको संगीत थियो।

पछिल्लो समय ‘मौरीमो’ फिल्मको ‘ए ङोल्स्यो’ हिट गीतको सूचीमा रहेको माओत्से बताउँछन्। त्यस्तै गुरुङ फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन्। यसमा पुरस्कार पाउने पहिलो फिल्म ‘कृपा’ हो। त्यसपछि ‘युम्पो देउराली र कर्म क्याँ’ पनि पुरस्कार पाएका फिल्म हुन्।

अहिले पोखरामा गुरुङ फिल्म निर्माण गर्ने एक दर्जन कम्पनी र डेढ सयको हाराहारीमा कलाकार, प्राविधिकको जमात तयार भइसकेको छ।गुरुङ फिल्म बनाएरै बाँच्ने कलाकार, निर्देशक, प्राविधिक थुप्रै छन्। स्टुडियोले पनि राम्रै काम पाएका छन्। यसरी हेर्दा अहिले गुरुङ फिल्म उद्योगकै रूपमा लम्किएको छ। फिल्म निर्माणको क्रम बढ्दा उनीहरूले पनि व्यावसायिकताको स्वाद लिन पाएका छन्।गुरुङ फिल्मले गुरुङ कलाकारमात्र नभएर गैर गुरुङलाई पनि रोजगारी दिएको छ। जस्तो कि गायिका रजनी राई र तारा श्रीस गुरुङ फिल्म गायिकाको अग्र लिस्टमा पर्छन्।

नियमित प्रदर्शन

‘घर दैलोमो टिकट किनेर होइन, फिल्म हलमा गएर सहयोग गरौं’ भन्ने मूल नाराका साथ गुरुङ फिल्म हलमा प्रदर्शन गर्ने भनेर गत वर्ष फागुनदेखि शुरु भयो। त्यो समय पोखराको मिडटाउन सिनमाजबाट नियमित प्रदर्शनको शुरु गरियो। गुरुङ फिल्म ‘कर्म क्याँ’ बाट नियमित प्रदर्शनको शुरु गरेर ०७८ बैशाखसम्म ६ ओटा फिल्म प्रदर्शन भए। त्यो अवधिमा ‘रिजे नासा, शिरसुबा, स्यु रु, तमुस्यो र सबन मु’ प्रदर्शन भए।

‘‘गुरुङ फिल्मको बजार फराकिलो बनाउन पर्छ भन्ने हिसावले शुरुआत गरेका थियौ। तर बीचमै दोस्रो लकडाउनले गर्दा निरन्तरता पाउन सकेन्,’’ गुरुङ फिल्म एसोसियसन, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले भने, ‘‘६ ओटा फिल्म प्रदर्शन गर्दा राम्रो प्रतिक्रिया पाएका थियौ। नियमित प्रदर्शन भएका ६ फिल्ममा सबैभन्दा बढी शिरसुबा रुचाइएको थियो। सो फिल्मे १७ लाख ग्रस कलेक्सन गरेको थियो।’’ दोस्रो लकडाउन खुलेपछि पनि हलवालाले फिल्म मागे पनि तत्काल दिन नसकेको उनले बताए। उनले अवस्था सामन्य भएपछि पुन: नियमित प्रदर्शनलाई जोड दिने सुनाए।

समयसँगै परिवर्तित

शुरुमा आफ्नो भाषा, संस्कृति संरक्षण र संवद्धन गर्ने भन्दै गाउँ परिवेशलाई केन्द्र बनाएर गुरुङ फिल्म बनाइन्थे।

आजभोलि धार बदलिएको छ। आफ्ना मुद्दा स्थापित गर्न, विभेदमा पारिएका र मनोविज्ञानका कथासम्म गुरुङ फिल्ममा देखिने गरेका छन्। पछिल्लो समय त राजनीतिक मुद्दाले पनि फिल्ममा प्राथमिकता पाउन थालेको छ। कृष्णकुमार गुरुङले निर्देशन गरेको फिल्म ‘तमु ह्युला’ (गुरुङ राज्य) र ‘यम्फावती’ यसकै उदाहरण हुन्।

स्थानीय कलाकारको बढी अभिनय रहने फिल्ममा लगानी खासै धेरै हँदैन। माओत्सेका अनुसार १० लाखदेखि २० लाखमा निर्माण हुने गर्छ। तर एकाध फिल्महरू ५० लाखसम्म पनि लगानी भएका छन्। अधिकांश गुरुङ फिल्मले लमजुङ, गोरखा, पर्वत, तनहुँ, मनाङ, मुस्ताङ, स्याङ्जा आदि जिल्ला र पोखरा, काठमाडौंलगायत शहरहरूमा हुने च्यारिटी शोबाटै लगानी उठाउने गरेका छन्। प्रोजेक्टरबाट गाउँ–गाउँमा प्रदर्शन गर्ने चलन पनि बढेको छ।

गुरुङ फिल्ममा गगन घले, सोम गुरुङ, भीम गुरुङ, नर्जन गुरुङ, ताराबहादुर गुरुङ, विष्णु गुरुङ, राजेश गुरुङ सक्रिय रूपमा नायक हुन् भने अनुता गुरुङ, रजनी गुरुङ, इन्दु गुरुङ, रसिला गुरुङ, निस्ता गुरुङ, रिया गुरुङ, उर्मिला गुरुङ, अस्मी गुरुङ चलेका नायिका हुन्। त्यस्तै प्रितम गुरुङ, वेदबहादुर गुरुङ श्याम, माओत्से गुरुङ, कृष्णबहादुर गुरुङ, करण गुरुङ गोरा, खुसबहादुर गुरुङ, मनोज गुरुङ, भोज गुरुङ, गुन्ज गुरुङ, युग गुरुङ, जसु गुरुङ, सुवास गुरुङ, गोरे गुरुङ, नौजंग गुरुङ, केस गुरुङ, माओत्से तुङ गुरुङ निरन्तर फिल्म बनाउने निर्देशक हुन्।

गुरुङ फिल्म निर्देशन गर्ने संख्यात्मक रूपमा धेरै नै छन् तर बढी मात्रामा फिल्म बनाउने प्रितम गुरुङ पर्छन्। उनले हालसम्म ४० को सेरोफेरोमा फिल्म बनाएका छन्। शुरुआतमा गैरगुरुङ पनि गुरुङ फिल्म सक्रिय भएपनि पछि संशोधित विधान अनुसार गुरुङ फिल्म बनाउन गुरुङ जातिकै हुनुपर्ने नियम भएपछि निर्माण कार्य रोक्नुपर्‍यो।

यसमा पहिलो फिल्म निर्देशक युवराज मास्कीमगर, दीपकमान उदास, घनश्याम लामिछाने, सुजन लामा र राम नेपाल पर्छन्। संशोधित विधान अनुसार २ ओटा गुरुङ फिल्म मुख्य सहायक निर्देशक गरेको हुनुपर्ने, निर्देशक सम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था छ। यसले गर्दा गैरगुरुङ छुट्टिन पुगे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved