भ्यूटावरमा धरहराको ‘सौराइँ’ मेट्दै कोहलपुरबासी

निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन्। पाँच करोड ८८ लाख रुपैयाँको लागतमा उक्त भ्यूटावर निर्माण भएको हो।

नेपालभ्युज

भ्यूटावरमा धरहराको ‘सौराइँ’ मेट्दै कोहलपुरबासी

कोहलपुर। काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधासम्पन्न भ्यूटावर निर्माण भइरहेको छ।

कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको छ। लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए। उनकाअनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ। अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ।

नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताए। लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने उनको भनाइ थियो। पाँच करोड ८८ लाख रुपैयाँको लागतमा उक्त भ्यूटावर निर्माण भएको हो।

गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको बताए। भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ।

नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए। भ्यूटावरमा एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने उनले बताए। भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने जानकारी उनले दिए।

विगतमा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए।

यही २५ माघसम्म कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप छ महीना म्याद थपको माग भएको छ। भौतिक पूर्वाधार निर्माण कार्यसम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए।

उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे। निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन्। भ्यूटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवद्धन गर्ने नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए।

उनले भने, “१० तल्ले सुविधा सम्पन्न सो भ्यूटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौं।” उनकाअनुसार नगरपालिकाले शुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved