कोभिड बिरामी बढेसँगै नन-कोभिड बिरामी घटे, अस्पतालका टिकट काउण्टर खाली

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिरामीको चाप घटेको छ। पाँच–पाँच मिनेटमा आकस्मिक कक्ष अगाडि आएर रोकिने एम्बुलेन्सको सेवा पनि त्यस्तो छैन। अस्पतालको इमजेन्सीमा लाग्ने विगतको भीड अहिले छैन। त्रिवि शिक्षण अस्पतालजस्तै राजधानीका अरु ठूला सरकारी अस्पतालहरू वीर अस्पताल, पाटन अस्पताल, मीनभवनस्थित निजामती अस्पतालमा पनि ननकोभिड बिरामीको चाप घटेको छ।

कोभिड बिरामी बढेसँगै नन-कोभिड बिरामी घटे, अस्पतालका टिकट काउण्टर खाली

काठमाडौं। बाहिरको मूलढोकादेखि नै भीडभाड हुने त्रिवि शिक्षण अस्पताल परिसरमा हिजोआज मानिसको चहलपहल घटेको छ। बिरामीको नाम दर्ता गर्ने टिकट काउण्टरअगाडि लाइन नै लाग्नु नपर्ने अवस्था छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिरामीको चाप घटेको छ। पाँच–पाँच मिनेटमा आकस्मिक कक्ष अगाडि आएर रोकिने एम्बुलेन्सको सेवा पनि त्यस्तो छैन। अस्पतालको इमजेन्सीमा लाग्ने विगतको भीड अहिले छैन।

अस्पतालका केही विभाग त सुनसानै देखिन्छन्। यसअघि भर्ना पाउन पनि मुस्किल हुने अस्पतालका केही वार्ड खाली हुन थालेका छन्। कुनै वार्डमा दुई–चार जना बिरामी छन् भने केहीमा १०-१२ जनासम्म बिरामी छन्।

त्रिवि शिक्षण अस्पतालजस्तै राजधानीका अरु ठूला सरकारी अस्पतालहरू वीर अस्पताल, पाटन अस्पताल, मीनभवनस्थित निजामती अस्पतालमा पनि ननकोभीड बिरामीको चाप घटेको छ।

त्रिवि शिक्षण अस्पताल

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले कोभीडका बिरामी भर्ना हुने क्रम बढेसँगै नन–कोभीड बिरामी घटेकोे जानकारी दिए।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार, शिक्षण अस्पतालमा सामान्य अवस्थामा दैनिक दुई हजार पाँच सयभन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गर्थे तर अहिले बिरामीको संख्यामा निकै कमी आएको छ। उनले भने, “अहिले दैनिक त्यस्तै आठ सय मात्र बिरामी आउने गरेका छन्।”

सामान्य अवस्थामा भर्ना गरिएका बिरामीले भरिभराउ हुने अस्पतालका ‘बेड’ पनि अहिले खाली हुन थालेका छन्। सूचना अधिकारीले भने, “अस्पतालमा सात सय बिरामी भर्ना गर्ने क्षमता छ। सामान्य अवस्थामा ती बेडले पुग्दैनथे। अहिले चार सय बेडमा मात्र भर्ना भएका बिरामी छन्। तीन सय जति खाली छन्।”

कोभीड वार्डमा कोही शैय्या खाली थिए, केहीमा संक्रमित बिरामी। कोभीडको आईसीयूबाहिर भने कुरुवाहरुको भीड छ।

माघको चीसो ठण्डीबाट जोगिन केही बिरामी कुरुवाहरु शिरकभित्र गुडुल्किएर सुतिरहेका देखिन्थे। आफन्त अस्पतालमा भर्ना गरेका महिला भने पछ्यौरीको भरमा चीसो भुइँमा बसिरहेका थिए। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँसो ११ बजे पुग्दा बिरामी कुरुवाको अवस्था दयनीय देखिन्थ्यो।

अस्पतालका निर्देशक डा. काफ्लेले कोरोनाको तेस्रो लहरअघि भर्ना भएका धेरैजसो बिरामीमा संक्रमण देखिएको जानकारी दिए।

उपचारका लागि अस्पताल आइरहनुपर्ने गर्भवती महिला, क्यान्सरका बिरामी, मिर्गौला फेल भएर नियमित डायलाइसिस गराउन आएका बिरामीलाई पनि कोभीड संक्रमण भएको उनले जानकारी दिए। दुर्घटनामा परी अंगभंग भएका बिरामीमा पनि कोभीड देखिएको डा. काफ्लेले जानकारी दिए।

स्वास्थ्यकर्मी नै संक्रमित भएकाले अस्पतालमा अहिले जनशक्ति अभाव देखिएको डा. काफ्ले बताउँछन्। उनले भने, “एउटै विभागका डाक्टर र नर्स एकैचोटी संक्रमित भएर केही विभाग बन्द गरेका छौँ, रुटिन अप्रेशन गर्नसमेत समस्या भएकाले एकदमै जरुरी भएका बिरामीको मात्र अपरेशन गरिरहेका छौं।”

शिक्षण अस्पतालका कोभीड फोकलपर्शन डा. निरज बम अस्पतालमा अहिले १२२ जना कोरोना भाइरस संक्रमित बिरामी भर्ना भएको जानकारी दिए। कोभीडका बिरामी दैनिक १५ जनासम्म थपिने डा बम बताउँछन्।

बमका अनुसार, अहिले ननकोभीडका बिरामी घटेका त छन् तर धेरैजसो व्यक्ति अस्पतालका डाक्टर नर्स संक्रमित भएर त्रसीत छन्। अस्पताल गए संक्रमण सर्ने जोखिम ठान्छन् त्यसैले अहिले नन–कोभीडका बिरामी घटेका छन्। अस्पतालको ओपीडी र इमर्जेन्सीमा आउने बिरामीको संख्यामा कमी आएको छ।

वीरमा छैन बिरामीको लाइन

राजधानीको केन्द्रमा रहेको देशकै प्रमुख अस्पताल वीरको अवस्था पनि उस्तै छ। अस्पताल आउने नन–कोभीड बिरामीको संख्या घटेको छ।

सधैँ भीड हुने वीर अस्पताल परिसरमा मानिसको भीडभाड घटेको छ। काउण्टरअगाडि छाटो लाइन छ। त्यहाँ करिब १० जना थिए। आकस्मिक कक्षका शैय्या खाली थिए भने केहीमा बिरामी छट्पटिएका थिए।
अस्पतालका विभिन्न विभाग अघि हुने घुइँचो पनि निकै कम थियो। वार्डमा पनि बिरामी निकै कम थिए।

अस्पतालका उपनिर्देशक डा. प्रज्ज्वल श्रेष्ठले कोरोना उपचार अस्पताल तोकेसँगै नन–कोभीड बिरामी आधाभन्दा कम भएको जानकारी दिए। अस्पतालमा जेनरल परीक्षणका लागि दैनिक २ हजार बढी अस्पतालमा सेवा लिन आइपुग्नको संख्या घटेर आठ सयभन्दा कम भएको उनले जानकारी दिए।

अस्पतालमा कार्यरत करिब दुई सय स्वास्थ्यकर्मी संक्रमित भएका छन्, जसका कारण नन–कोभीड बिरामीको उपचार चुनौतीपूर्ण भएको उनी बताउँछन्।

अहिले अस्पतालको नियमित सेवा ओझेलमा परेको उनले संकेत गरे। उनका अनुसार, जनशक्ति अभाव भएकाले केही वार्डहरू गाभेर सेवा दिएका छौँ।

अस्पतालले अहिले कोरोना केन्द्रित सेवा दिएको उनले जानकारी दिए। उनले भने, “जटिल अवस्था आएर आकस्मिक सर्जरी गर्नुपर्ने बिरामीको उपचार भइरहेको छ तर पित्तथैलीमा पत्थरी र हर्नियाजस्ता केही समयपछि शल्यक्रिया गर्न मिल्ने समस्याको उपचार भनेपछि सारेका छौं।”

अस्पतालमा अहिले १६० जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए। उनका अनुसार दैनिक २० जनासम्म कोभीडका बिरामी भर्ना हुन आउँछन्।

निजामतिमा पनि घटे बिरामी

निजामती कर्मचारी अस्पताल (सिभिल) का कोभिड–१९ का ‘फोकल पर्सन’ डा. विदेश बिष्टले मा पनि कोभीडका बिरामी उपचार गर्न सुरु गरेदेखि अन्य समस्या (नन–कोभीड)का बिरामी कम आएको जानकारी दिए।

डा. बिष्टले पहिला दैनिक एक हजारको हाराहारीमा नन–कोभीडका बिरामी उपचारका लागि अस्पताल आइपुग्थे भने अहिले तीन सयभन्दा कम आइरहेको बताए।

उनले भने, “आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रिया भइरहेको छ तर अहिले कोहि कोभीडको डरले आफैँ आउँदैनन्। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भने अस्पतालले नै बोलाएको छैन।”

टेकूमा पनि कोभीड बिरामीको मात्रै भीड

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि नन–कोभीडका बिरामी घटेका छन्। अस्पतालका सूचना अधिकारी नवराज गौतमले पहिला दैनिक ३० जनाजसो बिरामी अस्पताल आउँथे भने अहिले सात जना जति आउने गरेको जानकारी दिए।

अस्पतालमा अहिले नन–कोभीडभन्दा कोभीडका बिरामी बढी भएको उनी बताउँछन्। पाटन विज्ञान प्रतिष्ठानमा पनि नन–कोभीडका बिरामी घटेका छन्। जोरबिजोर प्रणाली सुरु भएदेखि नन–कोभीडका बिरामी झनै घटेको अस्पतालका रवि शाक्य बताउँछन्।

उनका अनुसार, अस्पतालमा दैनिक ओपीडीमा एक हजार पाँच सय बढी बिरामीहरु सेवा लिन आउँथे अहिले त्यो संख्या घटेर हजारभन्दा कम पुगेको छ।

नन–कोभीडका बिरामीको चाप घटेपछि अस्पतालको विभिन्न वार्डका स्वास्थ्यकर्मीलाई कोभीड वार्डमा खटाएर कोभीडका बिरामीको उपचार गरिरहेको उनले बताए।

अस्पतालमा बिरामीको चाप कम भए पनि कुनै सेवा अवरुद्ध नभएको उनले जानकारी दिए। अस्पतालका केहि स्वास्थ्यकर्मी संक्रमित हुदाँ सेवा दिन चुनौती थपिए पनि कोभीड र ननकोभीडका बिरामीलाई मिलाएर व्यवस्थापन गरेर सेवा दिइरहेको उनले तर्क गरे।

अस्पतालका जनशक्तिलाई बढी समय काममा खटाएर वा एक विभागबाट अर्को विभागमा काम लगाएर भए पनि सेवा दिइरहेका छौँ।

१३० जना संक्रमित उपचाररत रहेको अस्पतालका रवि शाक्य बताउँछन्। दैनिक १० जना बिरामी थपिन गरेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved