सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको मतदान शुरु

नेपालभ्युज

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको मतदान शुरु

कैलाली। सुदूरपश्चिम प्रदेशमा रास्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान शुरु भएको छ। भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मत दिएका हुन्। मतदानका लागि प्रदेश सभाको खुल्ला प्रांगणमा दुईओटा मतदान केन्द्र बनाइएको छ।

एक मतदान केन्द्रमा तीन ओटा मतदान स्थल रहेका छन्। ५२ प्रदेशसभा सदस्यहरूका लागि एक मतदान केन्द्र र १७५ स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अर्को मतदान केन्द्र बनाइएको निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। उनले कोरोना महामारीसँगै निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी मतदान केन्द्र तयार गरिएको बताए।

सामाजिक दूरी, मुखमा मास्कसँगै सरसफाईका स्वास्थ्य मापदण्ड पालना गराई मतदान भइरहेको उनले बताए। ९ बजेदेखि शुरु मतदान साँझ ३ बजेसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुन लागेको निर्वाचनमा प्रदेशमा छ जनाको उम्मेदवारी रहेको छ।

सुदूरपश्चिम प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुनेछ। पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्रले अन्य, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका मदनकुमारी (गरिमा) शाह र दलितमा नेकपा माओवादीका जगत पार्कीले उम्मेदवार रहका छन्।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन्। स्थानीय तहको निर्वाचन हुँदा प्रदेशमा अंकगणितका हिसाबमा एमाले बलियो रहेको थियो। अहिले पार्टी दुई धारमा गएपछि केही मतअन्तर रहेको देखिन्छ।

स्थानीय तहका एक मतदाताको मतभार १८ छ। यस्तै प्रदेशसभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ। प्रदेशमा कुल उनीहरूको मत भने पाँच हजार छ सय ४६ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार विजयी हुनेछन्। स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन्। त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल तीन हजार सात सय ९२ मत छ। गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो। त्यसैले गठबन्धनका उम्मेदवारहरूले जित्ने निश्चितप्रायः छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved