गण्डकीमा एक सातामा पाँच गुणाले बढ्यो कोरोना परीक्षण

नेपालभ्युज

गण्डकीमा एक सातामा पाँच गुणाले बढ्यो कोरोना परीक्षण

पोखरा। पछिल्ला दिनमा कोभिड संक्रमण दर ह्वात्तै बढ्दै गर्दा गण्डकी प्रदेशमा पनि संक्रमण दर उकालो लाग्ने क्रममा छ। यस प्रदेशमा पछिल्लो २४ घण्टामा १३ सय १ जनामा गरिएको परीक्षणमा ७ सय ३ जना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बुधबार जारी गरेको विज्ञप्तिमा छ।

प्रदेशको ११ जिल्ला मध्ये सबैभन्दा बढी कास्कीमा ३६५ जना कोभिड संक्रमित छन्। बुधबार मात्र ३८ जना निको भएर घर फर्किएका छन् भने बुधबार गण्डकी प्रदेशमा कोभिडबाट एकजनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा ५८१ आइसोलेशन बेडमध्ये १३ बेड मात्र भरिएका छन्। आईसीयू बेड २ सय १४ क्षमता भएकोमा २ सय ९ बेड खालि छन्। एचडीयू बेड ४ सय ७२ क्षमता भएकोमा ४ सय ६३ बेड खाली छन्।

यसरी कोभिड संक्रमण हुनेको दर बढे पनि परीक्षण गर्नेको संख्या पनि बढेको छ। तर कोभिड परीक्षण गर्नेको संख्या बढे पनि प्रयोगशाला पहिलाका तुलनामा थपिएको पाइँदैन। स्वास्थ्य निर्देशनालयका अनुसार एक साता यता कोभिड परीक्षण गर्नेको संख्या दैनिक एकसयबाट ५ सय पुगेको जनाइएको छ।

प्रदेश स्वास्थ्य निर्देशक डा. खिम खड्का अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशमा कोभिड परीक्षण गर्ने ६ स्थानमा मात्र प्रयोगशाला छन्। जसमध्ये पोखरामा ३, नवलपुर, बागलुङ, तनहुँमा १/१ प्रयोगशालामा कोभिड १९ को चेकजाँच हुने गरेको छ।

यी बाहेक प्रदेशका अन्य जिल्लामा कोभिड जाँच्ने प्रयोगशालाको अभाव रहेको छ। ‘‘कोभिडको संक्रमण जाँचको लागि अहिले सबै प्रयोगशाला सञ्चालनमा छन्। पहिला जति छन त्यति नै छन् थपिएको छैन्,’’ डा. खड्काले भने। संक्रमितको संख्या बढिरहेको समयमा स्वास्थ्य निर्देशनालयबाट पनि दु्रत गतिमा तयारी अघि बढाएको उनले बताए।

प्रदेश मातहतमा सञ्चालित संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि संक्रमितको संख्या बढ्न थालेको अस्पतालका निर्देशक विकास गौचनले जानकारी दिए। ‘‘पछिल्ला दिनमा बिरामी आउनेहरूको संख्या बढेको छ। हामीसँग जनशक्तिको अभावले गर्दा समस्या परेको छ,’’ उनले भने, ‘‘जनशक्ति पूर्ति भए पूरा सेवा दिन सक्नेछौं। हामीसँग स्वास्थ्य सामग्रीहरू सहज छन्।’’

उनकाअनुसार अहिले अस्पतालमा २० जना कोभिडका बिरामी छन्। जसमध्ये ६ जना आईसीयूमा र बाँकी एचडीयूमा छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि कोभिडका बिरामी उत्तिकै मात्रामा छन्। कोरोनाको दोस्रो भेरियन्ट बढेको बेला मेडिकल वार्डलाई पनि आइसोलेसन वार्ड बनाएर सेवा दिएको अस्पतालमा अहिले ४८ वटा बेड कोरोनाका बिरामीका लागि छुट्याएको अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved