नवीकरणीय ऊर्जामा लगानी गर्न विश्व समुदायलाई मन्त्री भुषालको आग्रह

नवीकरणीय ऊर्जामा लगानी गर्न विश्व समुदायलाई मन्त्री भुषालको आग्रह
फाइल तस्वीर

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन्। साथै उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी छन्।

युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताइन्। उनले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास अपरिहार्य भएको बताइन्।

भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको, जलवायु परिवर्तनले जनजीवनमा उच्च प्रभाव पारेको बताउँदै मन्त्री भुसालले अतिकम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्वन खपतमा महत्वपूर्ण योगादन गरेको यथार्थ सुनाइन्।

नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले सुदृढ प्रतिबद्धता व्यक्त गर्दै आएको, सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) स्थापना गरेर नवीयकरणीय ऊर्जाको प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको उनले जानकारी दिइन्। उनले भनिन्, “हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री ऊर्जा प्रवद्र्धनका लागि रु दुई अर्ब १० करोडभन्दा बढी अनुदान स्वीकृत भएको छ।”

सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने दीर्घकालीन लक्ष्यका अघि बढिरहेको बताउँदै मन्त्री भुसालले अन्तर्राष्टियस्तरमा पनि स्वच्छ ऊर्जा व्यापार गरेर कार्वन उत्सर्जन घटाउन योगदान गरेको जानकारी गराइन्। नेपालको अथाह जलसम्पदा स्वच्छ ऊर्जाको खानी भएको यथार्थ प्रस्तुत गर्दै मन्त्री भुसालले भनिन्, “आर्थिक एवं प्राविधिकरूपमा नेपालमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ। वर्षैभरि घामलाग्ने भएकाले सौर्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ।”

विद्युतीय सवारीसाधनको प्रयोगलाई नेपालले विशेष प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री भुसालले भनिन्, “सन् २०२५ सम्ममा २५ प्रतिशत निजी सवारीसाधन र २० प्रतिशत चारपाङ्ग्रो सार्वजनिक सवारीसाधन स्वच्छ ऊर्जाबाट सञ्चालन हुनेछन् भने सन् २०३० सम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पुर्‍याउने लक्ष्य छ।” उनले सन् २०३० सम्ममा २५ प्रतिशत घरपरिवारमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने लक्ष्य रहेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved