नेपाली नर्सलाई बेलायतमा रोजगारी दिलाउन श्रम सम्झौताको तयारी

रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने नेपालले प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्दैन। छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

नेपालभ्युज

नेपाली नर्सलाई बेलायतमा रोजगारी दिलाउन श्रम सम्झौताको तयारी
फाइल तस्वीर

काठमाडौं। नेपालले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो।

नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरु सम्मिलित पहिलो बैठकले एक साताभित्र श्रम सम्झौता (एमओयू)को मस्यौदा तयार गर्ने सहमति जुटेको छ।

नेपाल र बेलायतबीच सरकारी स्तर (जीटूजी)बाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ।

नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्नेछ भने छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायत सरकारले जनाएको छ।

रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने नेपालले प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्दैन। छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

उक्त अवधिमा पनि सहायक नर्सको रुपमा रोजगारी भने सुनिश्चित हुनेछ। रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिन्छ।

बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हो।

मन्त्री श्रेष्ठले युरोपका उच्च आय हुने मुलुकहरुसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने बताए।

श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभूति हुनेछ। गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत् गर्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved