रोचकपूर्ण बार्सा-रियल ‘एल क्लासिको’ म्याच

किन बार्सिलोना र रियल मड्रिडबीच यति ठूलो दुश्मनी छ। रियल मड्रिड र बार्सिलोना स्पेन राष्ट्रकै सबैभन्दा ठूला दुई शहर हुन्। ‘एल क्लासिको’ म्याचमा दुश्मनीको रंग भर्ने काममा यी दुई शहरबीचको राजनीतिक दुश्मनीले महत्वपूर्ण भूमिका खेल्छ।

रोचकपूर्ण बार्सा-रियल ‘एल क्लासिको’ म्याच

काठमाडौं। बिहीबार भएको २४८ औं ‘एल क्लासिको’ म्याचमा रियल मड्रिड विजयी भयो। निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई ३-२ गोलअन्तरले पराजित गर्दै रियलले स्पेनिस कपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

‘एल क्लासिको’ म्याचमा बार्सिलोना विरुद्ध रियल मड्रिडको यो १०० औं जित हो।

के हो ‘एल क्लासिको’ म्याच

स्पेनिस शब्द ‘एल क्लासिको’ जसको अंग्रेजीमा अर्थ हुन्छ ‘द क्लासिक’, अर्थात् अति उत्कृष्ट।

विश्व फुटबलका दुई महारथी तथा चिरप्रतिद्वन्द्वी स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबीच हुने हरेक म्याचलाई ‘एल क्लासिको’ को संज्ञा दिइन्छ। जसको मतलब हुन्छ सर्वोत्कृष्ट म्याच। यी दुई क्लबबीचको दुश्मनी, उच्च कोटीको खेल प्रदर्शन, दुवैको ठूलो ‘फ्यान फलोइङ’, विश्व स्टार खेलाडीहरूको जमघट, गोलपछि खेलाडीले गर्ने सेलेब्रसन जस्ता विभिन्न कारणले गर्दा नै बार्सिलोना र रियल मड्रिडबीच खेल साँच्चिकै ‘क्लासिक’ हुने गर्छ।

सन् २००० को दशकको मध्यदेखि मात्र यी दुईबीचको म्याचले ‘एल क्लासिको’ नाउँ पाउन थालेको थियो। त्यसअघि यी दुईको म्याच ‘एल डर्बी म्याच’, बार्सा-मड्रिड म्याच वा मड्रिड-बार्सा म्याचको रूपमा चर्चित थियो।

दक्षिण तथा मध्य अमेरिकी फुटबलमा दुई चिर प्रतिद्वन्द्वी क्लबबीचको म्याचलाई सम्बोधन गर्न ‘एल क्लासिको’ शब्दको प्रयोग गरिन्थ्यो। जसबाट प्रभावित भएर स्पेनिस फुटबलले पनि यो शब्द सापट लियो।

वास्तबमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका दुई प्रमुख प्रतिद्वन्द्वी क्लब, बोका जुनियर्स र रिभर प्लेटको खेलले शुरुमा ‘एल क्लासिको’ को नाम पाएको थियो। तर त्योभन्दा पनि बार्सा- रियलको दुश्मनीलाई विश्व खेलकुदकै सबैभन्दा ठूलो लिइन्छ र यो म्याचको लागि ‘एल क्लासिको’ शब्द बढी चर्चित बन्यो।

बार्सिलोना र रियल मड्रिड मुख्यतः एक सिजनमा कम्तीमा दुई पटक पक्कै भिड्ने गर्छन्, स्पेनिस लिगको ‘होम एण्ड अओए’ म्याचमा। तर कोपा डेल रे (स्पेनिस कप), च्याम्पियनस् लिग, स्पेनिस सुपर कप तथा यूफा सुपर कपलगायत प्रतियोगितामा पनि यी दुईको भेट हुने सम्भावना रहन्छ।

किन बार्सिलोना र रियल मड्रिडबीच यति ठूलो दुश्मनी छ। रियल मड्रिड र बार्सिलोना स्पेन राष्ट्रकै सबैभन्दा ठूला दुई शहर हुन्। ‘एल क्लासिको’ म्याचमा दुश्मनीको रंग भर्ने काममा यी दुई शहरबीचको राजनीतिक दुश्मनीले महत्वपूर्ण भूमिका खेल्छ।

सन् १९३६ देखि १९३९ सम्म चलेको स्पेनिस गृह युद्धले बार्सिलोना र रियल मड्रिड शहरबिच दुश्मनीको बिजारोपण गरेका थियो।

उक्त गृह युद्धमा स्पेनको एक स्वायत समुदायको रूपमा रहेको क्याटालोनियाले, जसको राजधानी बार्सिलोना हो, आफूलाई स्पेनबाट अलग र स्वतन्त्र राष्ट्र भएको हेर्न चाहन्थ्यो। त्यहाँका जनता क्याटालान राष्ट्रियताका पक्षधर थिए।

उता स्पेन देशको राजधानी मड्रिड र त्यहाँका जनता स्पेनिस राष्ट्रियताका पक्षधर थिए, जसले क्याटालोनियालाई स्पेनबाट अलग हुन नदिने स्पेनिस शाही परिवार समर्थन गर्छन्। गृहयुद्ध सकियो, दोस्रो विश्वयुद्ध पनि सकियो तर क्याटालोनिया स्पेनबाट छुटिन सकेन। विश्वयुद्धको समाप्तिपछि युद्ध मैदानको दुश्मनीले फुटबल मैदानमा निरन्तरता पायो।

हालसम्म पनि क्याटालोनिया अनौपचारिक रुपमा स्पेनबाट स्वतन्त्र हुन प्रयासरत छ। त्यसैले अहिले पनि यी दुई शहरका जनताले एक अर्कालाई अघोषित रूपमा दुश्मनकै नजरले हेर्छन्। शुरुमा यो दुश्मनी राजनीतिबाट शुरु भएको थियो। युद्ध सकिएपछि दुई शहरले दुश्मनी पोख्ने माध्यम पाएनन्। त्यसपछि त्यही दुश्मनी फुटबल खेलमार्फत उजागर गर्न थाले।

राजनीतिक दुश्मनी फुटबलीकरण भयो। त्यसैले त हालसम्म पनि यी दुईबीचको खेल चलिरहँदा फुटबल मैदानले युद्ध मैदानको नै भान गराउँछ। क्लबमा स्थानीय खेलाडीको बहुल्यता रहेको बेलामा त झन् दुश्मनीको भाव खेलमा स्पष्ट देखिन्छ। अन्य देशका खेलाडी क्लबमा आबद्ध भए पनि यी दुई क्लबको जर्सी लगाउनेबित्तिकै उनीहरूमा पनि स्वतः चिर दुश्मनीको भूत सवार भैहाल्छ।

बार्सिलोना क्लबको एउटा चर्चित सिद्धान्त छ। ‘मोर देन अ क्लब’, अर्थात् बार्सिलोनाले एउटा फुटबल क्लबभन्दा माथि धेरे ठूलो अर्थ राख्छ, यो त क्याटालोनिया राज्यको एक गौरबको संकेत हो, जो भित्री रूपमा क्याटालोनियाको स्वतन्त्रताको आन्दोलनसँग जोडिएको छ।

यही ‘एल क्लासिको’ म्याचको मौका पारेर हरेक वर्ष स्पेनको एक स्वायत समुदायको रूपमा रहेको क्याटालोनिया (बार्सिलोना जसको राजधानी हो) का नागरिकले फुटबलमार्फत आफूहरू स्पेनबाट स्वतन्त्र रहेको घोषणा गर्ने गर्छन्।

हुन त हाल स्पेनमा शान्ति छ। तर यो पुरानो दुश्मनी बिर्सिइएको छैन। यही राजनीतिक दुश्मनी फुटबल खेलमा अझ खुला रूपमा प्रस्फुटित हुनेगर्छ। र ‘एल क्लासिको’ म्याच दौरान रियल मड्रिड र बार्सिलोना शहरका जनता मात्र होइनन्, यिनको समर्थनमा पूरा विश्व फुटबल समुदाय नै दुई ध्रुवमा विभाजित हुन्छ।

‘एल क्लासिको’ म्याचको केही रोचक तथ्य

‘एल क्लासिको’ म्याचलाई विश्व फुटबलमा नै हरेक वर्ष सबैभन्दा बढी हेरिने र कुरा गरिने क्लब फुटबल खेल मानिन्छ। यो प्रतिष्ठित म्याचको शुरुआत मे १३, सन् १९०२ बाट शुरु भएको थियो। जुन हाल १२० औं वर्षमा चलिरहेका छ।

रियल मड्रिड र बार्सिलोना ‘एल क्लासिको’ म्याचमा हालसम्म २४८ पटक भिडिसकेका छन्। जसमा १०० जितका साथ मड्रिडको पल्ला भारी छ। बार्सिलोनाले ९६ खेल जितेको छ भने ५२ खेल बराबरीमा सकिएको छ।

तर यदि मैत्रीपूर्ण खेलको पनि हिसाब गर्ने हो भने कुल २०४ खेलमा ११५ जित सहितबार्सिलोना अगाडि छ भने रियलले १०४ खेल जितेको छ।

दुई ‘एल क्लासिको’ क्लबको उपाधि भिडन्तमा रियलले सर्वाधिक ३४ पटक ला लिगा जितेका छ भने बार्सालिनाले २६ पटक। तर स्पानिस कप (कोपा डेल रे) मा भने ३१ उपाधिसहित बार्सा अगाडि छ। रियलले १९ पटक घरेलु कप उचालेको छ।

‘एल क्लासिको’ म्याचमा हालसम्मको सबैभन्दा ठूलो गोल अन्तरको जित ११-१ को छ। सन् १९४३ को कोपा डेल रेमा रियलले ११-१ ले फराकिलो अन्तरले पराजित गरेको थियो। ‘एल क्लासिको’ म्याच सर्वाधिक खेल्ने रेकर्ड मेस्सी र पूर्वस्पेनिस खेलाडी सर्जिओ रामोसको नाउँमा छ। उनीहरूले दुई भिन्न क्लबबाट समान ४५ ‘एल क्लासिको’ म्याच खेलेका छन्।

यहाँ सर्वाधिक गोल गर्ने रेकर्ड भने अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले बनाएका छन्। उनको नाउँमा २६ गोल छ। त्यस्तै गोलका लागि धेरै १४ असिष्ट पनि मेस्सीले नै गरेका छन्। म्याचमा प्रमुख प्रतिद्वन्द्वी दुवै क्लबबाट गोल गर्ने पाँच खेलाडी छन्। ती हुन् ब्राजिलका स्टार स्ट्राइकर रोनाल्डो, लुइस फिगो, लुइस एनरिके, मिचेल लौड्रुप र लुइस मिला।

पोर्चुगिज स्टार स्ट्रायकर लुइस फिगोलाई शुरुमा बार्सिलोनाका समर्थकले सारै माया गर्थे तर जब उनी बार्सिलोना छाडेर सबैभन्दा प्रमुख प्रतिद्वन्द्वी क्लब रियल मड्रिडमा गए, समर्थकको त्यही माया घृणामा परिणत भयो। सन् २००२ को ‘एल क्लासिको’ म्याचमा फिगो रियल मड्रिडको जर्सीमा पूर्व क्लब बार्सिलोनाविरुद्ध बार्साकै घरेलु मैदान क्याम्प नाउमा उत्रिँदा तिनै दर्शकले उनलाई सुँगुरको टाउकोले हानेका थिए

सन् २००५ को ‘एल क्लासिको’ म्याचमा बार्सिलोना रियल मड्रिडको घरेलु मैदानमा खेलिरहेको थियो। बार्सिलोनाले ३-० ले जितेको उक्त खेलमा ब्राजिलियन प्ले मेकर रोनाल्डिनोले निकै आकर्षक खेल देखाउँदै दुई गोल गरेका थिए। चिर प्रतिद्वन्द्वी टिमको प्रमुख खेलाडी भएर पनि रियलका समर्थक उनको खेलबाट यति मोहित भएका थिए कि रोनाल्डिनोलाई मैदानमा ‘स्टाण्डिङ ओभिएसन’ दिएका थिए।

‘एल क्लासिको’ म्याच खेल्ने यी दुई क्लब विश्वकै सार्वधिक सफल र धनी क्लबमा पर्छन्। सन् २०१४ मा फ्रोब्स पत्रिकाले यी दुबै क्लबलाई संसारकै सबैभन्दा मूल्यवान् स्पोट्स टिमका रूपमा सूचीकृत गरेको थियो। दुवै क्लब समाजिक सञ्जालमा पनि संसारकै सबैभन्दा बढी ‘फ्यान फलोइङ’ भएका स्पोर्टस् टिम हुन्। अर्को स्पेनिस क्लब एथ्लेटिको बिल्बावोसँगै मात्र यी दुई क्लब हुन, जो स्पेनिस लिगमा हालसम्म रेलिगेशनमा परेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved