जब रुष्ट समर्थकले लुइस फिगोलाई सुँगुरको टाउकोले हाने

त्यो सुँगुरको टाउको कहाँबाट कसरी मैदानमा आयो र कसले ल्यायो भन्ने पत्ता लाग्न सकेन। अझै पनि त्यो सुँगुरको टाउकोलाई संग्रहायमा  सुरक्षित राखिएको बताइएको छ।

नेपालभ्युज

जब रुष्ट समर्थकले लुइस फिगोलाई सुँगुरको टाउकोले हाने

काठमाडौं। फुटबललाई विश्वको सबैभन्दा लोकप्रिय खेल मानिन्छ। किनकि यसका ‘फ्यान’ अर्थात् समर्थकहरूले नै यसप्रति अगाध माया देखाएर यसलाई सबैभन्दा रुचाइएको खेल बनाएका छन्।

आफ्नो मनपर्ने टिम र खेलाडी भनेपछि त्यी फ्यानहरू मरिहत्ते नै गर्छन्। तर जब खेलाडीहरूले ती फ्यानहरूको चित्त दुखाउछन्, उनीहरू यहाँसम्मको हर्कत देखाउन पुग्छन् कि त्यसबारेमा कसैले सोच्न पनि सकेका हुँदैनन्।

फ्यानहरूको माया जब घृणामा परिणत हुन्छ तब अप्रत्याशित घटना हुने गर्छ।

विश्व फुटबललाई अनुशरण गर्ने त्यस्ता कमै फुटबलप्रेमी होलान् जसले लुइस फिगोको नाम सुनेको नहोस्। पोर्चुगलका सर्वकालीन् महान् खेलाडीमध्ये एक हुन् उनी।

सन् २००२ मा नोभेम्बर २२ को दिनमा स्पेनमा दुई प्रमुख ‘दुश्मन टिम’ बार्सिलोना र रियल मड्रिडबीच खेल भइरहेको थियो, बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा। यो खेलमा उनै फिगो आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्ध नै खेलिरहेका थिए, त्यो पनि रियल मड्रिडबाट।

खेल शुरु हुन अघि नै ठूलो पानि परिरहेको थियो। तर पानीले भिजे पनि स्टेडियमको माहोल भने निकै तातिएको थियो। खेलाडीहरू मैदानमा छिरेदेखि नै समर्थकहरूले फिगोविरुद्ध विभिन्न बोर्ड बोकेर नारा लगाइरहेका थिए।

बार्सिलोना छाडेर बार्साको फुटबलमा सबैभन्दा ठूलो दुश्मन टिम रियल मड्रिड गएका फिगोदेखि बार्सिलोनाका फ्यानहरू अति रुष्ट थिए। हरेक कर्नर भएको बलमा कर्नर-किक प्रहार गर्न मैदानको कुनामा पुग्दा बार्साका फ्यानहरूले प्लाष्टिकका बोतल, सिक्का, लाइटर र यहाँसम्म कि रक्सीका खाली बोतलले समेत फिगोलाई हानिहाले। जसकारण खेल बेलाबेलामा अवरुद्ध हुँदै चलिरहेको थियो।

यस्तैमा अर्को एक कर्नर-किक प्रहार गर्न जाँदा फ्यानहरूले फेरि पुरानै चिजहरू फिगोमाथि बर्साउन थाले। यत्तिकैमा स्टाण्डमा रहेका दर्शक कै भिडबाट एक अनौठो चिज फिगोतर्फ आयो। जुन चिज थियो सुँगुरको टाउको।

यो भिडियोमा देख्न सक्नुहुनेछ। 

‘एल क्लासिको म्याच’मा बार्सिलोनाको खेल हेर्न आएका समर्थकहरूको फिगोसँगको रिस यतिसम्म उत्कर्षमा थियो कि उनीहरूले सुँगुरको टाउकोले नै उनलाई हान्ने योजना बनाएका थिए र हाने पनि। तर त्यसले उनलाई भने लागेन।

खासगरी पाँच वर्ष बार्सिलोनामा रहँदा देखाएको मायाको बदलामा विश्वासघात गर्दै रियल मड्रिड गएको झोक फ्यानहरूले पोखिरहेका थिए। त्यसैले उनीहरूले यस्तो हर्कत देखाएका थिए। उक्त खेल भने गोलरहित बराबरीमा सकिएको थियो।

त्यो सुँगुरको टाउको कहाँबाट कसरी मैदानमा आयो र कसले ल्यायो भन्ने पत्ता लाग्न सकेन। अझै पनि त्यो सुँगुरको टाउकोलाई संग्रहायमा  सुरक्षित राखिएको बताइएको छ।

यो घटनापछि फिगोले भनेका थिए-  म मात्र त्यस्ता एक व्यक्ति हुँ जसको विरुद्ध एक लाखभन्दा बढी मानिस एकैपटक उत्रिएका थिए। त्यो खेलमा म यति चिन्तत थिएँ कि लागेको थियो कुनै पागल समर्थकले मेरै टाउको नछिनालिदेओस्।

यो घटनालाई स्पेनिस फुटबल इतिहासकै सबैभन्दा नाटकीय घटनाको रूपमा लिइन्छ। जुन १९ वर्ष पूरा भएको छ।

फिगो सन् १९९५ मा व्यावसायिक खेलका लागि पोर्चुगिज क्लब स्पोर्टिङ लिज्वनबाट स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्ध भएका थिए। तर पाँच वर्ष बार्सामा बिताएका उनले दुई स्पेनिस लिगसँगै सात ओटा उपाधि जित्न सफल भएका थिए। बार्सिलोनामा रहँदा कुल १७२ खेलमा मिडफिल्डरको रूपमा पनि उनले ३० गोल गरेका थिए। त्यो बेला ब्राजिलियन दुई स्टार खेलाडी रोनाल्डो र रिभाल्डोसँगै उनि पनि बार्सिलोनाका समर्थकमाझ निकै रुचाइएका खेलाडीमा गनिन्थे।

तर बार्सिलोनाको फ्यानको नजरमा उनी त्यतिबेला गिर्न पुगे, जब उनले बार्सिलोना छाडेर बार्साको फुटबलमा सबैभन्दा ठूलो विपक्षी टिम रियल मड्रिड रोजे।

सन् २००० मा उनी पाँचवर्षीय बार्सिलोनाको बसाइ छाडेर अप्रत्यासित रूपमा रियल मड्रिडसँग अनुबन्धित भए। उनी त्यो बेलाको सबैभन्दा महँगो कीर्तिमानी ६२ मिलियन यूरोमा मड्रिड गएका थिए भने जुन निकै विवादास्पद ट्रान्सफर पनि बनेको थियो।

स्पेनिस फुटबलको सबैभन्दा ठूला चिर प्रतिद्वन्द्वी हुन् बार्सिलोना र रियल मड्रिड। यी दुईबीचको म्याचमा खेलाडीको मात्र होइन फ्यानहरूको पनि टक्कर पर्छ, स्टेडियममा होस् चाहे बाहिर। या विश्वभर नै।

फिगो त्यस्ता थोरै खेलाडीमा पर्छन् जसले दुई स्पेनिस चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबाट खेल्ने आँट गरे। हुन त अन्य स्टारहरू ब्राजिलका रोनाल्डो र क्यामरुनका स्यामुल इटोजस्ता खेलाडीले पनि बार्सिलोना र मड्रिड दुवै क्लबबाट खेलेका थिए।

समर्थकको नजरमा फिगोले के गल्ती गरे भने उनी सीधै एउटा कट्टर प्रतिद्वन्द्वी टिमबाट अर्कै प्रतिद्वन्द्वी टिममा गए। बार्सिलोनाबाट अर्को दोस्रो क्लबमा गएर पछि रियलसँग आबद्ध भएका भए सायद फ्यानहरू त्यति रुष्ट हुने थिएनन्। तर फ्यान र क्लबले नचाहँदा नचाहँदै उनले बार्सिलोना छाडेर गएका थिए।

हुन त रियल गएपछि म्याचका लागि उनी बार्सिलोना फर्केको यो पहिलो पटक थिएन। सन् २००० को अक्टोबरमा नै पहिलो पटक उनी रियलबाट खेल्न बार्सा गएका थिए। त्यो खेलमा पनि ९० मिनेटभर नै बार्सिलोनाका फ्यानको नकारात्मक हुटिङ उनले सहनुपरेको थियो।

यसपछिको दुई ओटा एल क्लासिको म्याच भने उनले चोट र सस्पेन्सनका कारण गुमाएका थिए। उनी स्पानिस लिगको हालसम्मकै चर्चित खेलाडीमध्ये पर्छन्।

स्पेनिस ला लिगामा लियोनल मेस्सीपछि सबैभन्दा बढी एक सय ६ एसिस्टको दोस्रो कीर्तिमान पनि फिगोकै नाउँमा छ। फिगोले सन् २००० का बालोन डिओर र सन् २००१ फिफा वर्ष खेलाडीको उपाधि पनि जितेका थिए।

सन् २००४ मा विश्व फुटबलकै अर्का महान् खेलाडी पेलेले घोषणा गरेको विश्वका शीर्ष एक सय जीवित फुटबल खेलाडीको सूचीमा उनको पनि नाम सामेल थियो।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा सुवास सुवेदीले तयार पारेको सामग्री)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved