भारतमा कोभिड संक्रमण फेरि उच्च विन्दुमा, दैनिक संक्रमित संख्या दुई लाख नाघ्यो

२८ पुसमा मात्रै भारतमा दुई लाख ४७ हजार चार सय १७मा संक्रमण पुष्टि भएको छ । ती मध्ये पाँच हजार चार सय ८८ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित छन्।

नेपालभ्युज

भारतमा कोभिड संक्रमण फेरि उच्च विन्दुमा, दैनिक संक्रमित संख्या दुई लाख नाघ्यो

नयाँ दिल्ली। भारतमा दोस्रो लहरपछि कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुगेको छ।

संघीय स्वास्थ्य मन्त्रालयको सूचना उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम द वायरले २८ पुसमा मात्रै दुई लाख ४७ हजार चार सय १७मा संक्रमण पुष्टि भएको बताएको छ । ती मध्ये पाँच हजार चार सय ८८ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित छन्।

यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या तीन करोड ६३ लाख १७ हजार नौ सय २७ पुगेको छ। जसमध्ये २८ पुससम्म ८४ हजार पाँच सय ९२ जना संक्रमणमुक्त भएका छन् भने तीन सय ८० जनाको निधन भएको छ। अहिलेसम्म कूल मृतक संख्या चार लाख ८५ हजार ३५ बताइएको छ।

भारतमा अहिले सक्रिय संक्रमित संख्या ११ लाख १७ हजार पाँच सय ३१ छ। तेस्रो लहरमा पहिलो पटक सक्रिय संक्रमितको संख्या ११ लाख नाघेको दैनिक भास्करले उल्लेख गरेको छ।

‘सात महीनापछि देशमा संक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ। दोस्रो लहरको समयमा ९ जूनमा सक्रिय संक्रमित संख्या ११ लाख ६७ हजार नौ सय ५२ थियो ।’- दैनिक भास्करले लेखेको छ।

दैनिक संक्रमण दर १३.११ प्रतिशत पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी पाँच प्रान्त प्रभावित छन्।

महाराष्ट्र प्रान्तमा एक दिनमै १२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । २८ पुसमा ४६ हजार सात सय २३ मा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ३२ जनाको निधन भएको छ।

पश्चिम बंगालमा २८ पुसमा मात्रै २२ हजार एक सय ५५ नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा २३ जनाको निधन भएको छ।

दिल्लीमा २८ पुसमा २७ हजार पाँच सय ६१ वटा नयाँ संक्रमित पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४० जनाको निधन भएको छ। पछिल्लो चार दिनमा दिल्लीमा मात्रै ९७ जनाको निधन भएको छ।

तमिलनाडुमा पछिल्लो २४ घण्टामा १७ हजार नौ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जनाको निधन भएको छ।

कर्नाटकमा २८ पुसमा २१ हजार तीन सय ९० जनामा संक्रमण पुष्टि भएको छ। सोही दिनमात्रै त्यहाँ १० जनाको निधन भएको छ।

नेपालसँग सीमा जोडिएका प्रान्तहरू उत्तर प्रदेश र बिहारमा २८ पुसमा मात्रै क्रमशः १३ हजार पाँच सय ९२ र ६ हजार चार सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

उत्तर प्रदेशमा २८ पुसमा तीन जनाको निधन भएको थियो भने बिहारमा पनि तीन जनाकै ।

अहिलेसम्म उत्तर प्रदेशमा १७ लाख ७० हजारमा कोरोना संक्रमण भइसकेको जसमध्ये १६ लाख ९० हजार संक्रमण मुक्त भएका छन्। २२ हजार नौ सय ४० जनाको निधन भएको छ भने ५७ हजार तीन सय ५५ जना उपचाररत छन्।

बिहारमा अहिलेसम्म सात लाख ६२ हजार संक्रमित भइसकेका छन् जसमध्ये सात लाख २१ हजार संक्रमण मुक्त भएका छन्। त्यहाँ अहिलेसम्म १२ हजार एक सय १४ जनाको निधन भएको र २८ हजार ६ सय ५९ जनाको उपचार भइरहेको दैनिक भास्करले उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved