भत्ता नपाएपछि ज्येष्ठ नागरिकले वडा कार्यालयमा ताला लगाए

नेपालभ्युज

भत्ता नपाएपछि ज्येष्ठ नागरिकले वडा कार्यालयमा ताला लगाए

जनकपुरधाम। सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन ढिला गरेको भन्दै महोत्तरीको गौशला नगरपालिका ११ मा ज्येष्ठ नागरिकहरूले आज वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

ज्येष्ठ नागरिक र एकल महिलाले गत साउनदेखि भत्ता नपाएकोले आन्दोलन गरेको बताए। वडा कार्यालयमा तालाबन्दी गरेर ५० जनाभन्दा बढी ज्येष्ठ नागरिकले नाराबाजी गरेका थिए।

प्रत्येक ३ महिनामा पाउनुपर्ने भत्ता ६ महिनासम्म नपाएको ७८ वर्षीय रामनारायाण महतोले गुनासो गरे। भत्ता नपाउँदा शितलहर शुरु भए पनि तातो हुने लुगा कपडा किन्न नपाएको महतोले दुखेसो पोखे।

कार्यवाहक अध्यक्ष रामगुलाम महतोले भत्ता निकासीका लागि नेपाल बैंक गौशाला शाखा र नगरपालिकासँग समन्वय गरिरहे पनि बैंकले भत्ता उपलब्ध नगराएको जनाए। उनले भने, “नगरले बैंकमा गइसकेको छ भन्ने र बैंकले हुँदैछ, दिन्छौं भनेर टारिरहेको छ।”

सबै वडाको भत्ता नगरबाट पठाइ सकिएको तर केही वडाको वितरणमा समस्या आएकोले बैंक खातामा समस्या भएकाले हुनसक्ने गौशाला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापाले बताए। सिस्टमबाट बैंक खातामा रकम जाने भएकाले कुनैमा समस्या भएको हुन सक्ने उनको भनाइ छ। थापाले चाँडै भत्ता वितरण हुने पनि आश्वासन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved