मेगाको अत्याधुनिक मोबाइल बैंकिङ सेवा शुरु, यस्ता छन् नयाँ सुविधा

नेपालभ्युज

मेगाको अत्याधुनिक मोबाइल बैंकिङ सेवा शुरु, यस्ता छन् नयाँ सुविधा

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरूको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको शुरुआत गरेको छ।

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरू मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी दिएको छ। डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचर लगायतका सुबिधा समेत थप गरेको छ। साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नति गरेको छ।

एमभौचारको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, एमक्यासको माध्यमबाट प्रयोगकर्ताहरूले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरूसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्युआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरू रहेको बैंकका डिजिटल तथा ई-बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए।

मेगा स्मार्ट बैंकिङ मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरूले बैंकका सेवाहरू सम्बन्धि जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत भुक्तानी गर्न, अनलाईन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरूको लाभ मोबाइल बैंकिङ एप र वेबको माध्यमबाट उठाउन सक्नेछन्। त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले आफै रजिष्टर गरी अनलाइन बाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरूको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन्। ‘डिजिटलाइज्ड बैंक’ का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याइसकेको छ।

पुराना प्रयोगकर्ताहरूले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरूले एपस्टोर वा प्लेस्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्। बैंकको यस स्तरोन्नत्तिसँगै अब बैंकका ग्राहकहरूले बैंकमा नगई मोबाइल वा कम्प्युटर माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरू सहज रुपमा प्राप्त गर्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved