सम्पदाभन्दा सम्पति प्यारो ? सय वर्ष पुरानो पिपल मासेर सटर

सम्पदाभन्दा सम्पति प्यारो ? सय वर्ष पुरानो पिपल मासेर सटर

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका- ७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रुख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ। बेनी बजार विस्तारसँगै हिन्दूहरूले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टीले पनि महत्व रहेको पिपलले बटुवालाई शीतलता दिलाउँछ भन्दै विसं १९९७ मा भट्टचन थर गरेका एक व्यक्तिले पिपल रोपेका थिए। पिपलको रूख रातारात हटाउन खोज्दा सबैतिरबाट चर्को विरोध पनि भएको थियो।

सर्वसाधारणलाई पैदल हिँडन्, सवारीसाधनबाट आवतजावत गर्न र विद्यालयको पार्किङ्स्थलका लागि पिपल काटिएको वडाका जनप्रतिनिधिले जिकिर गरे। घाम चर्कदा र पानी पर्दा ओत लाग्ने सानो प्रतिक्षालय जस्तै बनेको पिपल मास्ने कार्य नरोखिएको भन्दै चौतर्फी भएको विरोधलाई बेवास्ता गर्दै नगरपालिकाले आन्तरिक आम्दानीको नाममा मनलाग्दी तरिकाले सटर बनाएर भाडा दिएको हो।

अस्थायी ट्याङ्की राख्न सम्झौता गरी प्रति हात ६ सय रुपैयाँ भाडा तिरेका व्यापारीले सम्झौता विपरीत शक्ति र पहुँचको आडमा पक्की संरचना बनाउदासमेत नगरपालिका मौन बसेको छ। वडा नं ७ र ८ भित्र बढ्दो सहरीकरणले व्यस्त सडकसहित खाली रहेकास्थान सार्वजनिक हितका लागि प्रयोग गरिनुपर्नेमा ठाउँ खाली देख्ने वित्तिकै भाडामा दिने गरिएको छ। बजारभित्र सार्वजनिकस्थानमा वडाका जनप्रतिनिधिको अगुवाइमै भाडामा लगाउने गरिएको छ।

दैनिक लाखौको करोबार गर्नेलेसमेत सस्तोमा बस्न पाएपछि सार्वजनिक जग्गामा अस्थायी संरचना हालेर व्यवसाय गर्ने होडबाजी नै चलेको एक स्थानीयवासीले बताए। “विपन्नलाई जीविकोपार्जनका लागि बनाइएका संरचनामा पनि व्यापारीको नजर परेको छ, नगरलाई समेत जानकारी नदिई पक्की संरचना बनाउन थालिएका छन्” ट्याङ्कीको व्यवसाय गरेकी एक महिलाले गुनाशो गरिन्।

उनका अनुसार भाडामा दिइएका संरचनासमेत नगरपालिकासँग कुनै समन्वय नगरी कङ्क्रिटको पिल्लर ठड्याएर, महँगोमा खरिदबिक्रीसमेत भएको छ। जिल्लाको प्रमुख प्रशासनिक क्षेत्र वीरेन्द्रचोक, पुस्तकालय चोकआसपास तथा कालीपुल, बसपार्कका सार्वजनिक जग्गामा बनाइएको संरचना प्रयोग गरेबापत व्यापारीले प्रतिहात ६०० देखि एक हजार एक सय रुपैयाँसम्म तिर्ने गरेको नगरपालिकाले जनाएको छ।

बजारभित्र ट्याङ्की र ठेलासहितका ६० वटा अस्थायी संरचनालाई मासिक भाडा तिर्ने गरी प्रयोग गर्न दिइएको छ। गत साता सदरमुकामलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाबीच भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भाडामा दिइएको संरचनालाई आवश्यकताअनुसार हटाउन सकिने बताए।

नगरपालिकाले नै भाडामा दिएका संरचना नै बेनीबजारलाई सुन्दर र व्यवस्थित बनाउन बाधक बनेको भन्दै नगरको आम्दानीको नाममा पार्किङ तथा सार्वजनिक महत्वको स्थान अतिक्रमणले खुम्चिएको सरोकार निकायका प्रतिनिधिले चर्को गुनासो गरेका थिए। “खाली ठाउँमा सटर हालेर आम्दानी गर्ने प्रवृत्तिले समस्या हुनाका साथै ट्राफिक व्यवस्थापनमा पनि निकै समस्या भयो” प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने।

उनले यस्ता अनेकन समस्याका कारण एकतर्फी पार्किङसहितको अभियान नै प्रभावकारी बनाउन असहज भएको बताए। सार्वजनिकस्थललाई नगरपालिकाले कमाइको भाँडो बनाइरहेकामा आलोचना समेत भएको थियो। सार्वजनिक ठाउँलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दा बढ्दो सहरीकरणले बजारभित्र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयका लागि ठाउँ समेत छैन्। बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले सटर र आसपासमा राखिएका ठेला व्यवसायका कारण उक्त माविमा अध्ययनरत विद्यार्थीलाई प्रवेशमा ठूलो समस्या भएको बताए।

“विद्यार्थीलाई हिँड्न अप्ठेरो भएको छ,‘विद्यालयको समस्यामा सरोकार निकाय मुखदर्शक बनेको छ” उनले भने। विद्यालयको प्रवेशद्वारमा ठेला, सटर हाल्ने, सवारीसाधनको पार्किङलाई हटाउन पटक-पटक नगरपालिका, प्रशासनलगायत सरकारी निकायलाई ज्ञापनपत्र समेत बुझाइए पनि वास्ता नगरिएको प्रअ श्रेष्ठको भनाइ थियो।

बजारमा विभिन्न व्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामान झुड्याउने गरेकाले त्यसलाई हटाउनका लागि दिइएको एक हप्ताको सूचना बुधबार सकिँदै छ। नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जिल्ला उद्योग वाणिज्य संघबीच ट्राफिक कार्यालयबीच ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन व्यवस्थित पार्किङ, फराकिलो बाटो, सार्वजनीकस्थलमा सरसफाइ, सिसी क्यामरा जडानलगायत कार्यलाई व्यवस्थित बनाउन पटक-पटक भएका छलफल र सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहुँदा बजार लथालिङ्ग भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved