केन्द्रमा नमिलेका निधि र कोइरालाले उठाए प्रदेश २ मा साझा उम्मेदवार

नेपालभ्युज

केन्द्रमा नमिलेका निधि र कोइरालाले उठाए प्रदेश २ मा साझा उम्मेदवार
तस्वीर : निधि-कोइराला प्यानलका साझा उम्मेदवार रामसरोज यादव।

जनकपुरधाम। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार थिए। देउवाबाहेक सबै नेताहरुको नारा नेतृत्व परिवर्तन थियो।

पहिलो चरणमा कसैले बहुमत पुर्‍याउन नसकेपछि सर्वाधिक धेरै मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच सभापतिमा दोस्रो चरणमा प्रतिस्पर्धा हुने भयो।

यतिबेला नेतृत्व परिवर्तनका पक्षधरहरू मिलेर देउवालाई हराउँछन् भन्‍ने धेरैको अनुमान गलत भइदियो। सिंह, निधि र गुरूङ आफ्नै नाराविपरीतको बाटोमा लागे। अन्ततः एक्लो भएका शेखर पराजित भए। क्रियाशिल सदस्यताको विवादका कारण यसअघि हुन नसकेको प्रदेश २ को अधिवेशन कांग्रेसले अहिले भर्खरै गर्दैछ। तर, यहाँ फरक अवस्था देखिएको छ।

केन्द्रमा नमिलेका निधि र कोइरालाले यहाँ संस्थापन पक्षका उम्मेदवार कृष्णा यादवविरुद्ध साझा उम्मेदवार खडा गरेका छन्। निधि–कोइराला प्यानलबाट रामसरोज यादवले उम्मेदवारी दिएका हुन्। प्रदेश २ मा नयाँ नेतृत्वका लागि बुधबार मतदान हुँदैछ।

को कुन प्यानलबाट ?

निधि–कोइराला प्यानल

सभापति : रामसरोज यादव

उपसभापति : धनलाल ठोकर (रौतहट : निधि पक्ष)

उपसभापति  : विनोद खनाल  (सर्लाही : कोइराला पक्ष)

महामन्त्री : नरेश यादव (सिरहा : कोइराला पक्ष)

महामन्त्री : हरेस महतो  (सर्लाही : निधि पक्ष)

सहमहामन्त्री : अरविन्द अमात्य (पर्सा : निधि पक्ष)

सहमहामन्त्री :  विनोद यादव (महोत्तरी : कोइराला पक्ष)

सहमहामन्त्री : निर्मला सुवेदी (बारा)

देउवा प्यानल

तस्वीर : देउवा प्यानलका उम्मेदवार कृष्णा यादव।

सभापति :कृष्णा यादव

उपसभापति : वीरेन्द्र सिंह (सर्लाही)

उपसभापति : चन्द्रशेखर यादव (बारा)

महामन्त्री : उपेन्द्र यादव (सिरहा)

महामन्त्री : वृहस्पतिकुमार श्रेष्ठ (पर्सा)

सहमहामन्त्री : जयनारायण यादव (बारा)

सहमहामन्त्री : परशुराम चौधरी (सप्तरी)

सहमहामन्त्री : रीता यादव (सप्तरी)

 

बुधबार मतदान 

प्रदेश २ मा बुधबार नेतृत्वका लागि मतदान तय भएको छ। यस अधिवेशबाट प्रदेश सभापति, दुई उपसभापति, एक महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन हुन्छन्। प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता सहभागी छन्। प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ। यसअघि क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशन हुन नसकेपछि केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि मात्रै चयन गरिएको थियो। केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय कांग्रेसले त्यतिबेला नै गरेको थियो।

के भन्छन् सभापतिका प्रत्यासी ?

रामसरोज यादव : मलाई सबैको समर्थन रहेकोले मेरो जित सुनिश्चित छ । कांग्रेसभित्र गुट उपगुट समाप्त पारेर पार्टीलाई मजबुत बनाउनकै लागि मैले उम्मेदवारी दर्ता गराएको हुँ ।

कृष्णा यादव : निर्वाचनपछि पार्टीलाई अझै शशक्त बनाउनेछु।  कांग्रेसका सबै नेता कार्यकर्तालाई साथ लिएर अगाडी बढ्नेछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved