महिलामाथि अत्याचार, पैताला चटाए (भिडिओसहित)

प्रहरी भन्छ : उजुरी आ'छैन, जनप्रतिनिधिलाई भने थाहै छैन

लछारपछार गर्ने युवा काँप्न थाल्छन्। ती महिलालाई गाली वर्षाउँछन्। धामीको पैतालासमेत चाट्न लगाउँछन्। भिडिओमा यस्ता रूढीवादी परम्परा, पितृसत्तात्मक सोचको घिनलाग्दो हर्कत जारी नै रहन्छ।

महिलामाथि अत्याचार, पैताला चटाए (भिडिओसहित)

काठमाडौं । केही दिनयता एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। फेसबुक, ट्विटर र टिकटक भाइरल भिडिओमा एक महिलालाई बोक्सी आरोपमा लछारपछार गरिएको छ।

भिडिओमा त्यति मात्रै छ। राक्षसी प्रवृत्तिमा देखाएका पुरुषहरूले महिलालाई पैतालासमेत चटाएका देखिन्छन्।

समाजमा महिलामाथि कतिसम्म विभेद छ भन्ने उदाहरण यो भिडिओमा प्रस्टै देखिन्छ। भिडिओमा महिलामाथि भएको‍ हिंसा हेर्दा जोकोही पनि उद्लेलित हुन्छ। त्यो घटनाको जति निन्दा गरे पनि कम लाग्न सक्छ। भिडिओ पोस्ट र कमेन्ट गर्नेहरूले घटनाको स्थान पत्ता लगाएर पीडक सबैलाई कारबाही गर्न माग गरेका छन्।

यही हो भिडिओ

के छ भिडिओमा?

भिडिओमा महिला पलेटी कसेर काँपिरहेकी देखिन्छन्। वरिपरिका पुरुषहरूले उनलाई घेरेर बसिरहेका देखिन्छन्। धामीले भन्छन्- ‘‘हाँसीखुशी भन्, किन आइस् भन्।’’

काँपिरहेकी महिला रुँदै भन्छिन् – ‘‘नाइँ म त्यहाँ किन जाने।’’

अगाडि बसेका धामी र अरूले भन्छन्, ‘‘नाइँ हामी जान दिन्नौँ?तँ को होस् भन्।

महिला रोइरहन्छिन्। केही जवाफ दिन्नन्। फेरि यताबाट धामीले हकारेर सोध्छन्।

महिलाले रिसाएर दुवै हात भुइँमा कोपर्दै धुलो फाल्दै भन्छिन् – ‘‘म शारदा हुँ, म शारदा हुँ, म शारदा हुँ, म शारदा हुँ…।’’

उनले चार पटक एकै वाक्य दोहोर्‍याउँदै थिइन्। निलो र कालो रंगको ज्याकेटधारी एक युवा ती महिलामाथि जाइलाग्छन्। ती युवा उनीमाथि ‘होई होई होई होई…’ भन्दै झर्केर झम्टन्छन्।

ती युवाले महिलालाई भुइँमा लडाउँछन्। उनीमाथि प्रहार गर्छन्। महिला रुन्छिन्। चिच्याउँछिन्। तर, झम्टेर लडाउने युवाले हर्काछन्। उनले चर्को स्वरमा थर्काउँछन् – ‘‘चुप, चुप, चुप।’’

यता भीडबाट पनि धामीले सान्त्वना दिइरहेको सुनिन्छ – ‘‘केही हुँदैन, केही हुँदैन, केही हुँदैन।’’

ती पुरुषको बलिष्ठ बाहुबलले थिलथिलो भइसकेकी महिला केही समयपछि हल न चल हुन्छिन्। बल्ल ती पुरुषले ती महिलालाई लछारपछार गर्न छाड्छन्।

एकैछिनपछि एक जनाले ती महिलालाई उठाउँछन्। तर, माया र सहानुभूतिका लागि होइन। उनले पनि यतै धामी भएतिरै महिलालाई फर्काइदिन्छन्। ती मानिसहरूको राक्षसी रूप फेरि दोहोरिन्छ। धामीले हकार्छन्– ‘‘तेरो लागि केही ठाउँ दिन्नँ, जा जे गरे पनि गर जा।’

यति भनेपछि ती महिला धामीको पाउमा ढोग्छिन्। लम्पसार परेर घोप्टे पर्दै पाउमा अनुहार राख्छिन्। धामीले भने जा जा उठ् भन्छन्। फेरि अघि लछारपछार गर्ने युवा काँप्न थाल्छन्। ती महिलालाई गाली गलौज गर्छन्। धामीको पैताला चाट्न लगाउँछन्। अरूले भनेअनुसार ती महिला धामीको खुट्टाको पैताला चाट्न विवश हुन्छिन्। भिडिओमा यस्ता रूढीवादी परम्परा, पितृसत्तात्मक सोचको घिनलाग्दो हर्कत अझै जारी रहन्छ।

घटना भएको सुर्खेतको स्थान लेकबेशी नगरपालिकाको नक्सा

भिडिओ कहाँको हो ?

यो भिडिओ आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको हो। सुर्खेतको लेकबेशी नगरपालिकाको घटना रहेको खुलेको छ। कुल पूजा गर्ने क्रममा ती महिलामाथि चरम अत्याचार भएको हो। जहाँ कुलपुजामा धामी राख्ने चलन छ।

जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीले घटना आफू कार्यरत जिल्लाको भएको स्विकारे। घटनाको विषयमा जानकारी भएपछि स्थानीय चौकीलाई पत्र लेखेको पनि उनले बताए।

केही दिन अघिको भिडिओ भएको र कुलपुजाको समयमा काँप्ने समस्या भएको ज्ञवाली थरकी महिलामाथि अरू पुरुषहरूले आक्रमण गरेको प्रारम्भिक जानकारी पाएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, सुर्खेत

उनले नेपालभ्यूजसँग भने, ‘‘भिडिओ सामाजिक सञ्जालमा भेटिएपछि हामीले चासो राख्यौँ। त्यो वीरेन्द्र नगरपालिकाभन्दा दक्षिणतर्फको नगरपालिका लेकवेशीको हो। त्यहाँ इलाका प्रहरी चौकी छ। घटनाबारे सत्यतथ्य अनुसन्धान गरेर लिखित पत्राचार गर्न हामीले भनेका छौँ, उताबाट केही पत्र आएको छैन।’’

घटनाबारे अहिलेसम्म कसैविरुद्ध उजुरबाजुर नपरेको प्रहरी निरीक्षक शाहीले बताए। उनले भने, ‘‘पीडित महिलालाई दबाब दिएर पनि हुन सक्छ ती महिला उजुरी गर्न आएकी छैनन्। हामी थप बुझ्दैछौं।’’

ती महिलालाई पतिले छाडेका हुन्। उनी माइतीमै छिन्। उनी एकल भएकै कारण सबैले हेलाँ र दुर्व्यवहार गरेको हुन सक्ने स्थानीय बताउँछन्।

संसारभरि घटना फैलिँदा पनि जनप्रतिनिधिलाई भने थाहै छैन

आमसर्वसाधारण जनताको नजिकको सहारा जनप्रतिनिधि मानिन्छन्। गाउँलेको सुख दुःखमा उनीहरू पुगिरहेका हुन्छन्। तर, यो घटनामा भने स्थानीय जनप्रतिनिधि थाहा नभएको बताउँछन्। भिडिओ भाइरल भएर विश्वभरका नेपालीले आलोचना गर्दै गर्दा नजिकका जनप्रतिनिधि यस विषयमा मौन छन्।

यस विषयमा लेकबेशी नगरपालिकाका प्रमुख गगन सिंह सुनार र उपमेयर शान्ति कुमारी छन्तेलले घटनाबारे अनभिज्ञता प्रकट गरे। नेपालभ्यूजको जिज्ञासामा दुवैले भने, ‘‘त्यो घटनाबारे हामीलाई थाहा छैन। भिडिओ पठाउनुहोस् त हेरौँ।’’

महिला भएकै आधारबाट र बोक्सी भन्दै कसैमाथि हिंसा भएको देखिए कारबाही गर्ने उनले बताए। मेयर सुनारले भने, ‘‘मानव अधिकारको उपयोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपमा दिइने पीडालगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमका आघातलाई महिला हिंसाको रूपमा बुझ्नुपर्छ। यदि यो घटना सत्य भएमा कारबाही गर्छौं।’’

पाटन अस्पतालका निर्देशक डा राजीव शाक्य भने काँप्ने समस्या साइकोलोजीका कारण रहेको बताउँछन्। यो धार्मिक र संस्कृतिक असर वा बोक्सी भन्ने केही नभएको बताउँछन्।

उनले भने, ‘‘यो भनेको दिमागको मोड चेन्ज भएको हो। दिमाग र शरीरको कनेक्सन नभएको अवस्था हो। त्यो गतिविधि पछि मानिसलाई थाहा हुँदैन। त्यो हामी सबैलाई हुन्छ। जस्तो रक्सी खाएर मातेको मानसिलाई पछि थाहा हुँदैन। यसैले यो मानसिक समस्या हो, धार्मिक कारण वा बोक्सी होइन।’’ यो रोग औषधिले भन्दा पनि मानवीय वातावरण वा अरू भावनात्मक रूपमा निको हुन्छ।

* यसअघि भूलवशः राखिएको शीर्षक सच्याइएको छ। 

-प्रधानसम्पादक


Comment

2 thoughts on “महिलामाथि अत्याचार, पैताला चटाए (भिडिओसहित)

  1. कुनै पनि घटनाका पीडकहरु, बोक्सीको आरोपमा होस् , जातको बारेमा होस या अन्य कारणले होस् सबैलाई हदै सम्मको कारबाही हुनु पर्छ l
    आज एक्काइसौ सताब्दी आउदा सम्म पनि हाम्रो देसमा यस्ता घटनाहरु घटीरहेका छन् l हामीमा अहिले सम्म चेत खुलेको छैन l कहिले बोक्सीको आरोपमा त कहिले उच र निच जातलाई लिएर l महिलामाथि र जातभात माथि कतिसम्म विभेद छ यो देसमा , पुरुष चाहि बोक्सो कहिले भएन ? धनि र माथिल्ला जातका मानिसले जस्तो सुकै कुकृत्य गरे पनि उनीहरुलाइ जात र धनले ढाकिन्छ,उनीहरु दोसी भएनन् l कस्तो बिडम्बना ? प्रेम र अधिकार काहा गयो हाम्रो समाजमा ? कहिले सम्ममा सबै शिक्षित,सचेत नागरिक पाउला यो देसले ?
    लिछबी राजा जयस्थिति मल्लको पाला ५ औं शताब्दीमा (४००-७५०) भएको जातिय प्रथा जुन २०२१ मा मुलुकी एनले खारेज गरेको पनि यति लामो समय हुदा सम्म पनि प्रयोगमा आज पनि उस्तै छ l जात एउटा निर्जीव बस्तुलाई लिएर मानिस ब्यपत्ता बनाएको हालैको घटनाले पनि
    नेताहरुको चर्को भाषणमा मात्र सिमित देखिएको छ l पिडित पक्षलाइ न्याय मिलोस l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved