स्थानविशेष कविता

चार कवितामा काठमाडौं

नेपालभ्युज

चार कवितामा काठमाडौं

(हरेक स्थानले आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक इतिहास रचेका हुन्छन्। त्यस्ता थलोहरू सभ्यता र संस्कृतिको जगमा उभिएका हुन्छन्। कुनै थलोको विम्ब सामुन्नेमा उभिने बित्तिकै त्यो थलोको सामाजिक/सांस्कृतिक विम्बहरू स्वतः प्रकट हुन पुग्छन् नै।

हाम्रा काव्य-सर्जकहरूले देशका विभिन्न सहर, बजार, ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्वका स्थानमाथि कविता कोरेका छन्। विशेषतः हामी यो स्तम्भमा स्थानहरूमाथि लेखिएका कविताहरूलाई समेट्ने छौं। यस पटक अग्रज कविद्वय कृष्णभूषण बल (दिवंगत) र जसराज किरातीका साथै युवा पुस्ताका कवि बुद्धिसागर र सरिता तिवारीको काठमाडौंमाथिको काव्य-हेराइलाई समेटेका छौं।)

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

कृष्णभूषण बल

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लाउन सक्दैन

नाघ्नुपर्छ पैतालाहरूले अब भन्ज्याङहरू
टेक्नुपर्छ आँखाहरूले अब सारा पहाडहरू
उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरू
ज्वालामुखीझैं फुट्नुपर्छ अब यो पिँढीका स्वरहरू
छाम्दै हातहरूले काँडाहरू अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब डाँडाहरूमा बिछिन सक्नुपर्छ

एउटै ढुंगाले कुनै घर बनिन सक्दैन, ढुंगाको तह तह हुनुपर्छ
एउटै पोखरीले कुनै ताल हुँदैन, थुप्रै दह दह जम्नुपर्छ
हुुटिट्याउँले सगर थाम्न खोजेर-थामिन सक्दैन सगर
बर्खे भेलको सानो चपेटले-मेट्न खोजेर मेटिन्न बगर
पहाड, मधेस, थुम्काथुम्की र उकाली ओरालीको देश
कसैको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन
मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगो देशको अर्थ लाउन सक्दैन
खोरमा थुनिए पनि बिहानीको संकेत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरहरूमा घोडा छादेर त्यत्तिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास।
अनिष्ट भन्छन् सपनामा देख्नेहरू पनि यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातीमाथि बोकिरहेकै छ यस्ता कति कति इतिहासका मान्छे
किन थाहा भएन तिनलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिनलाई एउटै इतिहासको मात्र हुँदैन देश
-काठमाण्डू वास्तवमा भित्रभित्रै छट्पटाएको छ
-काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
मञ्जुश्रीको अर्को तरबारको विकास खोजिरहेछ ऊ
युगको गह्रौं पाइलाहरू अब धेरै बोक्न सक्दैन-
यसैले बग्ने निकास खोजिरहेछ ऊ

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगो देशको अर्थ लाउन सक्दैन

हिउँदभन्दा चिसो

जसराज किराँती

काठमाडौं हिउँदभन्दा चिसो छ

काठमाडौंको मान्छेको छाती
हिउँ जमेको खाल्टोभन्दा चिसो छ।

एकाबिहानैदेखि
हुस्सुभित्र काठमाडौंमा मैले जीवन हराएको छु
अलिकता न्यानो खोजेर
कतै त्यो फुटपाथमा हिँडिरहेको बेला
काठमाडौंको मान्छेले कुल्ची मार्‍यो कि भनी डराएको छु।

हुन पनि
काठमाडौंको मान्छेसँग दया छैन
माया छैन
काठमाडौंको गर्भभित्र
हिउँ छ
हिउँद मात्र जन्माउँछ
यसको पाठेघरभित्र हिम-मानव मात्र अटाउँछ।

लामो भुवादारी कोट ओढेको मान्छेभित्र
काठमाडौंभन्दा फराक हिउँद छ
औलीको च्याप
आँखाको कुप र
नाकको फोराबाट
हिउँद पग्लिएर बगिरहेको हिमनदी छ
शेष-शायी बुढानीलकण्ठ
पानीमाथि ढुंगा ओछ्याएर
हिउँद ओढेर
लम्पसार सुतेको छ
काठमाडौंमाथि
यो आदिम शहरको कुरूप ढाडमाथि
चिसो-चिसो कठ्याङ्ग्रिएको उन्मुक्त भैरवको लिङ्ग ढलेको छ
विरूपाक्षले आफ्नो विकृत नितम्बमा हात राखेर
वागमतीको बगरमाथि
निर्लज्ज संभोग सोचेको छ।

काठमाडौंको शहरमा
मन्दिरमा
देवता पनि छैन
देवी पनि छैन
फगत एउटा आदिम शहर मात्र काठमाडौंमा छ
आलिङ्गनमा
चुम्बनमा
ठिही, तुसारो र हिउँ जाम भएर सर्वाङ्ग चिसो छ
मासाहारी हातहरूले लिपपोत गरिएको मन्दिरको भित्ता
भुइँ र सिँढी
सर्वत्र चिसो रगतले कुहिगन्ध छ।

यहाँको आकाश
यहाँको धर्ती
कतै पनि फैलिएको छैन
आफैभित्र
आफ्नै चिहान जत्रो ठाउँ ढाकेर काठमाडौं मृतप्रायः छ
यो उठेर हिँडेको छैन
यसले उभेर कतै हेरेको छैन
यसले आफ्नो बगलीमा मात्र हात घुसारेको छ
दराजको साँचो र
मनीव्यागको बटम मात्र मुसारेको छ।

लाग्छ- यहाँको घामसित पनि आफ्नो तातो छैन
कतै मकलको आगोमा
हात सेकेर एकक्षण उभिने फुर्सद पनि उसलाई छैन
सेलाएको
किरणको दुइचार ओटा मृतरेसा घिसारेर
ऊ हिँडिरहेछ
भट्टीबाट निस्केको जाडो र गोदामबाट उठेको चिसोले
पूरा सडक ढाकेर
उसको अगाडि-पछाडि स्वागतद्वार र स्वागतम् लेखिरहेछ
यो अक्षरको मुन्तिर
मास्तिर
हाकिमको चेहरा हिमप्रपातको कालो आकाशजस्तो देखिन्छ
अक्षर पनि त चिसो छ
अफिसको छाप माथि लडेको दस्तखत
हिउँको ढाड जत्रै देखिन्छ।

काठमाडौं

सरिता तिवारी

‍मानौं
कवाडखाना हो यो शहर,

र सारा नगरको सुन्दरताको निर्विकल्प ठेक्का लिएर
रङका बट्टाहरूसित उभिएकी छे
कट्रिना कैफ।

यी सेता सेता सरकारी घरहरू
यी यमान यमानका, बडेमान अड्डाहरू
उत्पादन गर्छन्
दुनियाको कुनै बजारमा नबिक्ने पत्रु विचार
र त्यही विचारको कुडाकर्कटमाथि उभिएको छ
शहरको वास्तुशास्त्र

यो शहरमा
छैन जन्मिएको
कुनै नयाँ कुरा
कुनै सुन्दर कुरा

श्री ३ जङ्गबहादुर राणाद्वारा जारी
मुलुकी ऐनको महल घोकी घोकी तयार भएको
पट्टु छ प्रशासक
मास्टरको घुच्चुक र सहपाठिको खप्पर कुच्याएर
राजनीतिको रोमाञ्च सिकेको
गुण्डा नाइके छ नेता
सत्ताको कलो पर्खेर
हरदम ढोकाबाहिर रूँगिबसेजस्तो
श्रीहीन छ पत्रकार
जदौ मुद्रामा निहुरिँदा निहुरिँदै
उभिनै बिर्सिसकेको
हुक्केजस्तो छ लेखक

यी मध्ये कसैसित छैन
यो शहरका लागि
मौलिक सौन्दर्यबोध

आकाशे पुलको भित्तामा
स्निकर्स चकलेटको विज्ञापन टाँसेर मात्रै
कहाँ भइदिन्छ र अनुभूति मिठ्ठो?
जब यिनै विज्ञापनहरू देखेरै शुरू हुन थाल्छ उल्टी
फेरिन्छ तब स्वादको पनि मनोविज्ञान

कसले बनायो यो शहरलाई
यस्तो रङहीन, बास्नाहीन?
कोही त भन्देऊ
कहाँ लुकिबसेको छ
यो अभागी शहरको
निजी रङ र वासना?

एक से एक हेरिटेज
एक से एक हिडेन ट्रेजर
सब
केवल क्युरियो पसलमा
थपक्क थपक्क सजाएर राखेका
प्राणहीन मूर्तिजस्ता लाग्छन्

मानौं
अर्कै कुनै मुलुकको कुनै शहर
आफ्नो जडाउरी मुस्कान लिएर
कृपापूर्वक उभिएको छ यो शहरमा
र अपूर्व सौन्दर्यको दूतजसरी
बाटो, दोबाटो, चौबाटोमा
प्रतीक्षालयहरूमा
चौबिसै घण्टा जागा छे
कट्रिना कैफ।

नजिकै
इनामेल उग्लिसकेको अक्षरमा लेखिएको छ-
‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं ।’

बा, उस्तै छ काठमाडौं

बुद्धिसागर

हारेको नेताको
उप्किएका पोस्टरहरू
फर्फराइरहेछन् हावामा।

प्रत्येक यात्रुको पचास हजार बिमा गरेको
पुरानो टेम्पो
नालीछेउ लडिरहेछ- अहिले पनि।

उही चोकमा मकै पोल्ने बूढी आइमाई
उही टुँडिखेलमा ठण्डाबरफ बेच्ने बुढो फौजी
उही साँघुरा सडक
बा,
उस्तै छ काठमाडौं।

घर छन्
मान्छे छन्
र उदास रातमा हाँस्ने
चोकचोकभरि सालिकहरू छन्।

जिन्दगीभरि ऋण तिर्न नसकेको
कमैया
धनीराम थारुका
रस्सी चुटेका खराउहरू
भद्रकालीतिर अझै पर्खिरहेछन्- माघी।

तीजका दिन पोइ मरेकी
विधवा आइमाईजस्तै
सधैंसधैं
सुसाउँछ सुस्तसुस्त
मध्यरातमा वागमती।

भोको गाइनेको उदास सारंगीझैं
एकलास/एकलास
पीडा सुसेल्छ- बुढो घन्टाघर।

हिँडिरहेछन् सडकको छेउछाउ
सालका रुखजस्ता
पंक्तिबद्ध
गस्तीका गस्ती हरिया सैनिकहरू।

हर बिहान
घाइते छन् अक्षरहरू
रगतले लत्पतिएका छन्- अखबारहरू।

उही सहिदगेटको उप्किएको इनामेल
उही खुलामञ्चको पुरानो गर्जन
उही पिपलबोटको कविता।

बा
चिठीमा अरू के लेखूँ-
उस्तै छ- काठमाडौं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved