कांग्रेस महाधिवेशन परिदृश्य

इतर समूह तितरवितर, तर पनि देउवालाई कडा टक्कर

कतै नपाएपछि सिंह प्यानलमा विश्वप्रकाश शर्मा !

इतर समूह तितरवितर, तर पनि देउवालाई कडा टक्कर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारहरूले मनोयन दर्ता गराएका छन्। शुक्रबारदेखि काठमाडौको भृकुटीमण्डपमा शुरु महाधिवेशनमा शनिबार बिहानै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैदानमा नउत्रिने बताइसकेका थिए।

हुन त गत बुधबार नै नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकमा पौडेलले त्यसको जनाउ दिइसकेका थिए। यद्यपि उनी संस्थापनइतर समूहबाट साझा उम्मेदवार छानिए आफूले सहयोग गर्ने बताएका थिए।

तर शनिबार बिहानसम्म पनि चलेको पटक-पटकको बैठकले वरिष्ठ नेताको नाममा सहमति हुने वातावरण नबनेपछि र साझा उम्मेदवार पनि नबनेपछि उनले नेतृत्वबाट हटेको घोषणा नै गरे, भावुक भएर 

वरिष्ठ नेता पौडेलको यो निर्णयलाई धेरैले कांग्रेसका सर्वसमान्य नेता गणेशमान सिहसँग तुलना गरे। महामन्त्रीमा उम्मेदवारी दर्ता गराउन राष्ट्रियसभा गृह पुुगेका नेता गगन थापाले वरिष्ठ नेता पौडेलले इतिहास रचेका बताए। “यो समान्य कुरा होइन”, उनले भने, “उहाँको स्थानमा पार्टीमा सभापतिभन्दा माथि आज देखिनुभएको छ।

देउवालाई चुनौती

महाधिवेशन प्रतिनिधिको रुझान हेर्दा दोस्रो पटक सभापतिमा दोहोरिन चाहेका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बलियो अवस्थामा देखिएका छन्। संस्थापनइतर समूह इतरवितर हुँदा र उनको समूहमा कृष्ण प्रसाद सिटौलाले समर्थन गरेपछि उनी थप मजबुत भएका हुन्।

देउवानिकट नेताहरूले देउवा पहिलो चरणमै पुनः सभापतिमा निर्वाचित हुने दाबी गर्न थालेका छन्। त्यसो त देउवाले पनि उम्मेदवारी दर्ता गरेलगत्तै यस्तो बताएका छन्।

पत्रकारमाझ सिटौलासहित उपस्थित हुँदा देउवाको मुहारमा चमक देखिएको थियो। धेरैले सिटौलासँगको समीकरणका कारण उनी पहिलो चरणमै निर्वाचित हुने आकलन गर्न थालेका छन्।

तर देउवा पक्षको यस्तो आकलनलाई शनिबार शेखर कोइराला पक्षमा देखिएको समीकरणले केही हदसम्म चुनौती दिने देखिन्छ। वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाको बलियो धाप पाएको शेखर कोइरालालाई अर्का बलियो आधार युवाहरूको टेकोले मिलेको छ।

उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा शेखर कोइरालाको टिमले देउवा पक्षको महोल भत्काउन सक्ने पनि देखिन्छ। पहिलो चरणमा कसैले बहुमत नजुटाए सभापतिकै दाबेदार अर्का नेता प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि शेखर टिममा आउन सक्ने एकाथरीको विश्लेषण छ।

निधि र सिंह दुवैले अब कांग्रेसमा देउवाको विकल्प हुनुपर्ने बताइरहेका छन्। निधिले त शुक्रबार वरिष्ठ नेता पौडेललाई सर्वसम्मत सभापति बनाउने प्रस्ताव नै गरेका थिए।

पार्टीभित्र सुधारको वकालत गर्दै आएका नेता चन्द्र भण्डारी, धनराज गुुरुड, गगन थापादेखि डा मीनेन्द्र रिजालसम्म पदाधिकारी भएकाले होला धेरैले देउवालाई शेखरले कडा चुनौती दिन सक्ने बताइरहेका छन्।

कतै नपाएपछि सिंह प्यानलमा विश्वप्रकाश शर्मा 

तीनै तहको निर्वाचनपछि देउवाले सबैभन्दा पहिला गरेको काम हो, पार्टी प्रवक्ता बनाउनु। जहाँ उनले यो पद नेता विश्वप्रकाश शर्मालाई दिएका थिए। युवामाझ चर्चित शर्मालाई देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी तोकेपछि पार्टीको बैठक डाकेका थिए।

तर १४ औं महाधिवेशनमा आउँदा शर्मा देउवा खेमाबाट अलग्गिएका छन्। शनिबार बिहानै उनी शेखरकै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा भए पनि प्रकाशमान सिंहको प्यानलमा पुगे।

गगन थापा र प्रदीप पौडेलले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि दबाबमा परेका प्रवक्ता शर्माले पनि स्वतन्त्र रुपमै भए पनि महामन्त्री लड्ने बताएका थिए। तर उनले सभापतिमा पुनः देउवालाई नै दोहोर्‍याउनुपर्ने जनाउ दिएका थिए।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दा उपसभापति निधिनिकट देखिन थालेका उनी पुनः देउवासँग नजिकिएका थिए। तर देउवाले शर्मालाई महामन्त्रीमा पत्याएनन्।

सहमहामन्त्रीको उम्मेदवार बन्न देउवाको आग्रहपछि उनले सिंह प्यानलबाटै महामन्त्रीमा उम्मेदवारी दिए। देउवासँग आफू नरहेको सन्देश उनले शनिबार बिहानै दिएका थिए।

शेखरले बोलाएर शर्मासँग छलफल गरेका थिए। शुरुमा शेखरले आफ्नो खेमाबाट महामन्त्री बनाउने आश्वासन दिए शशांकलाई समेट्नुपर्ने बाध्यताका कारण मीनेन्द्र रिजाललाई शेखरले महामन्त्रीको उम्मेदवार बनाए।

शेखरले रिजाललाई उपसभापति दिएर शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउन नखोजेका पनि होइनन्। तर उपसभापतिमा नगएर महामन्त्रीमै भिड्ने रिजालको अडान लिएपछि शेखरबाट पनि शर्मा आउट भए। तर शेखरले शर्मालाई उपसभापति नै बन्न पनि आग्रह गरेका थिए। शर्माले यो प्रस्ताव माननेन्। बरु उनले शेखरलाई उपसभापतिको प्रस्ताव अस्वीकार गरेको सन्देश पठाउँदै सिंहको प्यानल रोजे।

सम्भावित परिदृश्य

शनिबार १ सय ३४ केन्द्रीय कार्यसमिति पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा देउवा, कोइराला, सिंह, निधिसँगै कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दिएका छन्। दुई महामन्त्रीका लागि ६ जना र ८ सहमहामन्त्रीका लागि २० जना भिड्दै छन्।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेशी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपांगताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानतः व्यवस्था छ।

यसरी १ सय ३४ पदमा हुने ५ सय ४८ को प्रतिस्पर्धाका लागि सोमबार मतदान हुने कार्यक्रम छ।

सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुन सक्ने

उम्मेदवारी मनोयन दर्ता गराउन पुुगेका नेताहरूका विश्लेषणअनुसार सभापति पदमा दोस्रो चरणको निर्वाचन हुने देखिन्छ। कांग्रेसमा सभापति जित्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने व्यवस्था विधानमा छ। अन्यको हकमा बढी मत ल्याउनेहरू विजयी हुनेछन्।

प्यानलगत रूपमा बाँडिएका नेता र उनीहरूबीच कडा टक्कर हुने देखिएपछि महाधिवेशनमा आएका प्रतिनिधिहरूको बसाइ पनि लम्बिने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved