नेपाली कांग्रेस १४ औं महाधिवेशन

क्रियाशील सदस्यता विवाद सुल्झियो ! होला त अब महाधिवेशन ?

कांग्रेसले बल्ल बल्ल क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद सल्टाएको छ। योसँगै आगामी १४ औं महाधिवेशन हुने सम्भावना बढेर गएको छ।

क्रियाशील सदस्यता विवाद सुल्झियो ! होला त अब महाधिवेशन ?

काठमाडौं। रौतहट र रसुवाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार हुने सम्भावना बढेर गएको छ।

क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसको महाधिवेशन कार्यतालिका पाँच पटकसम्म सारिएको थियो। महाधिवेशन कार्यतालिका सारेको कांग्रेसलाई पछिल्लो समयमा रौतहट र रसुवाको सदस्यता विवरण सार्वजनिक गर्न दबाब थियो।

मंगलबार कांग्रेसले रौतहटको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ। त्यसअघि रसुवाको पनि विवरण सार्वजनिक भएको थियो। रौतहटको क्रियाशील सदस्यतामा विवाद भएपछि स्थानीय नेताहरू सय दिनभन्दा बढीदेखि सानेपास्थित कांग्रेसको मुख्यालयमा धर्नामा थिए।

पार्टीले क्रियाशीलहरूको विवरण सार्वजनिक गरेको प्रति पनि धर्नामा रहेकाहरू असन्तुष्ट रहेका बताइएको छ। यद्यपि पार्टीले औपचारिक रूपमा विवरण सार्वजनिक गरेपछि कांग्रेसको निर्वाचन समितिलाई अधिवेशन गराउने बाटो खुला भएको छ।

कांग्रेसले रौतहट, रसुवासहित १३ ओटा जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकेको जनाएको छ। यी जिल्लाहरूमा आउँदो शनिवार वडा अधिवेशन हुँदै छ। २७ गते शनिबार वडा अधिवेशन गरेपछि ३० गते मंगलबार पालिकास्तरको अधिवेशन पनि हुन लागेको छ।

वडा र पालिकास्तरको अधिवेशनपश्चात् ३ मंसीरमा प्रदेश, ६ मंसीरमा प्रतिनिधिसभा क्षेत्रीय र १० गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ। यसअघि कांग्रेसले दशैं अगावै हिमाली जिल्लाहरूमा अधिवेशनसमेत सम्पन्न गर्ने गरी काम बढाएको थियो। तर विवादका कारण त्यो सफल हुन नसकेपछि सोलुखुम्बु, म्याग्दी जुम्लासहित जिल्ला अधिवेशन १ मंसीरमा गर्न लागेको हो।

त्यसैगरी यसअघि वडा र पालिका अधिवेशन सम्पन भइसकेका ४६ ओटा जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसीर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ६ मंसीर र जिल्ला अधिवेशहनहरू १० मंसीरमा गर्ने कार्यतालिका छ।

यसरी सबै जिल्लहरूमा १० मंसीरमा जिल्ला तहको अधिवेशन गरिसक्ने गरिको कार्यतालिका ल्याएको कांग्रेसले १६ र १७ मंसीरमा प्रदेश अधिवेशनहरू गर्ने र २४-२६ केन्द्रीय महाधिवेशन गर्दैछ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेव यादवले महाधिवेशनको कार्यतालिका प्रभावित हुने कुनै ठाउँ नै नरहेको बताए। “अब कार्यतालिकाअनुसार सबै काम अगाडि बढ्नेमा हामी ढुक्क भएका छौं,” यादवले नेपालभ्यूजसँग भने, “विगतमा क्रियाशील सदस्यताकै कारण हामीले पटक पटक कार्यतालिका हेरफेर गर्नुपरेको हो, अब त्यस्तो हुँदैन छैन।” कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि अब महाधिवेशनको कार्यतालिकामा कुनै हेरफेर नहुने बताए। “अब तलमाथि गर्ने कुनै कुरा नै छैन।”

निर्वाचन आयोगको कानुनअनुसार कांग्रेसले गत भदौ मसान्तभित्रै पार्टीको महाधिवेशन गरिसक्नुपर्ने थियो। तर कोभिडका कारण कांग्रेसले निर्वाचन आयोगसँग तीन महीना थप समय माग गरेको थियो। निर्वाचन आयोगसग थप मागेको समयअनुसार अब कांग्रेसले मंसीर मसान्तभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ।

पार्टीको निर्वाचन समितिका संयोजक यादवले पनि मंसीर मसान्तको कार्यतालिकामै महाधिवेशन हुने र त्यसमा परिवर्तन हुने हुनै अवस्था नरहेको बताए। २०७२ सालको फागुनमा कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको थियो।

कांग्रेसको विधानले हरेक पाँच वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने र कुनै विषय परिस्थितिमा ६ महीना म्याद थप्न सक्ने व्यवस्था गरेको छ। कांग्रेसले यो सुविधा खेर फालिसकेको छ।

हुन त कांग्रेसले यसअघि पटक पटक महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्याताकै विवादका कारण चारै पटक तालिकाअनुसार सम्भवन हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved