न्यायपालिकाको समस्या सरकारले समाधान गर्नुपर्छ, चुप लागेर हुँदैन– प्रकाशमान सिंह

नेपालभ्युज

न्यायपालिकाको समस्या सरकारले समाधान गर्नुपर्छ, चुप लागेर हुँदैन– प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका हुन्।

उनले न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनुपर्ने समेत बताए। सिंहले न्यायालयको यो अवस्था भइसक्दा समेत राजनीतिक दलका नेताहरूले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने जिकिर गरे।

‘नेताहरु न्यायालयमै गर्नुपर्छ भन्छन्। पार्टीहरूले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्। सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेतिथिमा यो सरकारका नेताहरूले करेक्सन नगरे कसले गर्छ? कसको जिम्मा त? कसले– प्रधानन्यायाधीशले गर्ने?’, सिंहले प्रश्न गरे, ‘जो आफैँ विवादको केन्द्रविन्दुमा छ, न्यायालयले मात्रै गर्छ? यो त सरकारको काम हो। सरकारले गर्नुपर्ने काम नगर्ने? खालि भाग्दै हिँडेर हुन्छ? समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ।’
नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको पनि बताए। उनले नेपालको त्रुटिपूर्ण व्यवस्थापकीय प्रणालीका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले नेपाली कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेकोले आगामी दिनलाई हेरेर काम गर्नुपर्ने बताए।

नेता सिंहले नेपाली कांग्रेसको कलहका कारण कम्युनिस्टहरूलाई फाइदा भएको बताए। उनले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत दुष्प्रचार गरिएको समेत टिप्पणी गरे। उनले धाँदलीरहीत प्रतिस्पर्धामा उत्रिन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए। नेता सिंहले सभापति देउवाले आफ्नो कार्यकाल सकिसक्दा समेत मै हुँ भनेर मनलाग्दीपन देखाएको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्तिको नभई सिद्धान्तको पछि लाग्न अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved