काठमाडौं बाहिरिनेलाई लगाइँदै कोरोनाविरुद्ध खोप

नेपालभ्युज

काठमाडौं बाहिरिनेलाई लगाइँदै कोरोनाविरुद्ध खोप

काठमाडौं। तिहारलाई लक्षित गरी काडमाडौं उपत्यका बाहिर स्थलमार्ग हुँदै जाने यात्रुहरूलाई सरकारले कोरोनाविरुद्ध खोप दिइरहेको छ।

काठमाडौं उपत्यकाबाहिर जान लागेका यात्रुहरूलाई गोंगबुको नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक र बल्खु चोक गरी चार वटा बुथबाट खोप दिइरहेको स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले बताए।

“१८ वर्षमाथिका जो खोप लगाउँन बाकी छन् उनीहरूले आफ्नो परिचयपत्र खुल्ने कागज देखाएर खोप लगाउन सक्नेछन्।” उनले भने। आज (मंगलबार) बिहान साढे सात बजेदेखि खोप लगाउन शुरु गरिएको हो।

खोप आज र भोलि गरी दुई दिन खोप लगाइने उनले बताए।

यात्रुहरूलाई खोप लगाउन प्रत्येक बुथमा चार-चार जनाका दरले १६ जना भ्याक्सिनेटर र १० जनाका दरले ४० जना भोलेन्टियर खटाइएको उनले बताए।

डा.अधिकारीका अनुसार यकिन यति नै संख्यामा खोप लगाउने लक्ष्य त राखिएको छैन तर जतिले लगाउन चाहन्छन् त्यतिलाई नै एस्ट्रोजेनेक र भेरोसेल खोप लगाइने छ।
पहिलो डोज लगाएकाहरूले आफ्नो दोस्रो डोज लगाउने सयम आए स्थानीय तह वा पहिलो डोज लगाएको कार्ड देखाएर केन्द्रबाट लगाउन सकिने उनले बताए।

डा. अधिकारी भन्छन्, “शहरबाट गाउँ जाने लागेकाहरूले संक्रमण लैजान सक्ने भएकाले पहिलो मात्रा खोप दिन सकियो भने पनि केही हदसम्म भए पनि संक्रमणलाई रोक्न सकिन्छ कि भन्ने उद्देश्य पनि हो भने अर्को भनेको खोपको पहुँचमा सकेसम्म छिट्टो सबैलाई ल्याउनु पनि हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved