प्रधानन्यायाधीश चोलेन्द्रले राजीनामा नदिए आन्दोलन गर्ने बारको निर्णय

न्यायालयमा राजनीतिक हस्तक्षेप रोक्न संविधान संशोधन गर्न राजनीतिक दलसँग माग

नेपालभ्युज

प्रधानन्यायाधीश चोलेन्द्रले राजीनामा नदिए आन्दोलन गर्ने बारको निर्णय

काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने, राजीनामा नआए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

भर्खरै सम्पन्न बारको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

पूर्व न्यायाधीश फोरमले राजीनामा मागेसँगै शुरू भएको प्रधानन्यायाधीशको राजीनामा माग्ने क्रममा सर्वोच्च अदालतकै १४ न्यायाधीश जोडिँदासम्म पनि बारले आधिकारिक निर्णय गरेको थिएन।

हिजो बसेको बारको बैठकले आज सल्लाहकार समिति बैठक बस्ने निर्णय गरेको थियो। दिउँसो बसेको सल्लाहकार बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्न, राजीनामा नआए बहस बहिस्कारसम्मको आन्दोलन गर्न सुझाव दिएका थिए।

‘सम्माननीय प्रधान न्यायाधीशज्यू निरन्तर रूपमा एक पछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिका प्रति नै गम्भीर प्रश्न उठेको’ भन्दै बारले बैठकपछि जारी गरेको प्रेश विज्ञप्तीमा राजीनामा माग्नुको कारण खुलाएको छ।

राजनीतिक हस्तक्षेप रोक्न संविधान संशोधन

संवैधानिक प्रावधानका कारण न्यायालयमा राजनीतिक दलको हस्तक्षेप भएको समेत बारले ठहर गरेको छ ठहर छ। त्यसैले संविधान संशोधन गर्न बारले माग गरेको छ।

‘न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै जानुमा नेपालको संविधानमा भएका सर्वोच्च अदालतका न्यायाधीशको संसदीय सुनुवाई सम्बन्धी व्यवस्था, संवैधानिक परिषद्‌मा प्रधान न्यायाधीशको संलग्नताको व्यवस्था, न्याय परिषद्को संरचना सम्बन्धी व्यवस्था लगायतका व्यवस्थाहरू पनि जिम्मेवार छन् भन्ने महसूस भएकोले नेपालको संविधानमा संशोधन गरि न्यायपालिकामा कार्यपालिका, व्यवस्थापिका र राजनीतिक दलहरूको हस्तक्षेप नहुने व्यवस्था गर्न नेपाल सरकार, संसद् तथा राजनीतिक दलहरू समेतलाई आव्हान गर्दछौं’- विज्ञप्तिमा उल्लेख छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved