विपतमा कहाँ छन् दलहरू ?

विपतमा कहाँ छन् दलहरू ?

काठमाडौं। सुदूरपश्चिमसहित देशभर बाढीपहिरोले व्यापक जनधनको क्षति भइरहेको छ। एक्कासिको वर्षाले देशैभर बज्रपात गरायो। बाढी र पहिरोमा परी कैयौंको ज्यान गयो, धेरै जना अहिले पनि बेपत्ता छन्।

उद्धार गरिएकालाई पनि गाँसबासको समस्या देखिएको छ। विस्तारै मौसममा सुधार आए पनि वर्षा र यसपछिको प्रकोपले निम्त्याएको विपतको असर लामै समयसम्म देखिने पक्का छ।

तर यस्तोमा नेपालका दलहरूले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनेबाहेक खासै केही गरेका देखिएको छैन। सरकार आफैं पनि विपतपछि रनभुल्लमा छ। सरकारले बाढीपहिरोबाट मृत्यु भएका प्रत्येक परिवारलाई दुई लाखका दरले राहत र आवास निर्माणका लागि तीनदेखि पाँच लाख दिनेबाहेक अन्य ठोस कदम चालिसकेको छैन।

दलहरूका भ्रातृ संगठनहरू कतै सक्रिय देखिएका छैनन्।

मूल्यवृद्धि र सरकारको सानै कदमप्रति सडकमा निस्कने दलका युवा तथा विद्यार्थी दस्ता आम नागरिकको पीडामा चुपचापजस्तै छन्। राहत वितरणमा होडबाजी गर्ने दलहरूले यस्तो बेलामा चौतर्फी सहयोग र संयोजनकारी भूमिका देखाउनुपर्ने हो। तर ‘मौन” छन्।

२०७२ को भुइँचालोपछि दलहरूका भ्रातृ संगठनहरूले प्रभावित क्षेत्रमा घर पुनर्निर्माणदेखि राहतको काममा खटेका थिए। जुन निकै प्रशंसायोग्य थियो।

तर नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जितजंग बस्नेत भने आफ्ना दलका स्थानीय कमिटीहरू अहिले सुदूरपश्चिमका जिल्लाहरूमा उद्धारका काममा खटिएका बताउँछन्। “स्थानीयस्तरका हाम्रा कमिटीहरूलाई मैलै फोनमार्फत मौखिक रुपमा उद्धारमा खटिन निर्देशन दिएको छु”, बस्नेतले नेपालभ्यूजसँग टेलिफोनमा भने।

बस्नेतले दाबी गरे पनि वास्तविकता भने त्यस्तो देखिएको छैन।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले पनि आफ्नो विद्यार्थी संगठनले अहिले बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिरहेको बताए। “विवरण संकलनको काम हामी आज सक्दै छौं”, सिंहले भने, “त्यसपछि राहत वितरण गर्ने हाम्रो योजना छ।”

माधव नेपाल नेतृत्वको नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पनि आफ्ना दलका युवाहरू उद्धारमा खटिएका दाबी गरे।  आफूहरूको सुदूरपश्चिम प्रदेश कमिटीले काम गरिरहेको उनले बताए।प्रदेश र जिल्ला कमिटीलाई उद्धारमा लगाइएको उनले बताए। र चाँडै राहत वितरणको तयारी पनि पनि पराजुलीले बताए।

भ्रातृ संगठनहरूका नेतृत्वकर्ताहरूले यसो भने पनि दलहरूको उपस्थिति पछिल्लो समय आम नागरिकमाझ पातिलिँदै गएको छ। आम नागरिकको सुख दुःखमा सहभागी हुँदै पार्टी नेतृत्वमा जाने बाटो बनाएका दलहरूका भ्रातृ संगठन यतिबेला कमजोर देखिएका छन्।

हालै आएको बाढी र पहिरोग्रस्त ठाउँमा दल र तिनका कार्यकर्ता उपस्थित पनि हुन सकेका छैनन्। “हामी भ्रातृ संगठनले गर्ने राहत पार्टीको कोषबाट हुँदैन”, बस्नेतले भने, “चन्दा नै उठाएर गर्दा विगतमा कैयौं ठाउँहरू प्रश्नहरू पनि आयो, त्यही भएर अब हामी यस्तो काममा लाग्दा एकदमै सचेत र व्यापक छलफल गरेर मात्रै गर्ने गरेका छौं।”

आफ्नै सहयोगमा भ्रातृ संगठनहरूलाई परिचालन गर्ने दलहरू अहिले नाजवाफ देखिन्छन्। उनीहरूले यसअघि पनि भ्रातृ संगठनहरूले गरेको सम्पुर्ण कामहरू आफैले उठाएको चन्दा उठाएर गरेको बताएका थिए।

यसअघि नेपाली कांग्रेसले आफ्नो पार्टीका तर्फबाट कोभिड-१९ अनुगमन समिति नै गठन गरेर काम गरेको थियो। कांग्रेसले अनुगमन समितिका संयोजक सहमहामन्त्री डा प्रकाशशरण महतलाई बनाएको थियो।

यसैगरी एमालेले देशव्यापी स्वयंसेवी खटाएको थियो। कोराना सम्बन्धमा जनचेतचना फैलाउने उद्देश्यले एमालेले त्यस्तो गरेको बताएको थियो। कोभिडमा अन्य दलहरू भने खासै सक्रिय भएका देखिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved