उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि राष्ट्रसंघ पुगे बेलायत र अमेरिका

राष्ट्रसंघले बुधबार उत्तर कोरियाका विषयमा छलफल गर्न एक बैठकको आयोजना गर्दैछ। अमेरिका र बेलायतको आग्रहमा बस्न लागेको यो बैठकमा निश्चित देश सहभागी हुनेछन्।

नेपालभ्युज

उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि राष्ट्रसंघ पुगे बेलायत र अमेरिका
फाइल फोटो

एजेन्सी। उत्तर कोरियाले नयाँ सामुन्द्रिक मिसाइल (एसएलबिएम) परीक्षण गरेको छ। दक्षिण कोरियाले उत्तर कोरियाको पूर्वी क्षेत्रबाट एसएलबिएम परीक्षण भएको बताएको भोलिपल्ट उत्तर कोरियाले सामुन्द्रिक मिसाइलको परीक्षण गरेको हो।

उत्तर कोरियाको राष्ट्रिय सञ्चार माध्यमले ‘नयाँ प्रकार’को एसएलबिएम परीक्षण भएको जनाउँदै उक्त परीक्षणको श्रृखलाबद्ध फोटोहरु सार्वजनिक गरेको छ।

परीक्षण गरिएको मिसाइलमा ‘धेरै मात्रामा अत्याधुनिक प्रविधि’ जडान गरिएको उत्तर कोरियाको राष्ट्रिय समाचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएको छ। उसले पाँच वर्षअघि एसएलबिएम परीक्षण गरेको स्थानबाट नै पुनः परीक्षण गरेको बताएको हो।

सार्वजनिक रिपोर्टमा उत्तर कोरियाका नेता किम जोङ उनले परीक्षण अवलोकन नगरेको बताइएको छ।

परीक्षण सिम्पो शहर नजिकबाट गरिएको थियो। उत्तर कोरियाले सप्टेम्बर यता पाँचवटा मिसाइल परीक्षण गरेको छ भने सन् २०१९ यताको यो पहिलो एसएलबिएम परीक्षण भएको बताएको छ। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षणका लागि बन्देज लगाएको छ।

राष्ट्रसंघले बुधबार उत्तर कोरियाका विषयमा छलफल गर्न एक बैठकको आयोजना गर्दैछ। अमेरिका र बेलायतको आग्रहमा बस्न लागेको यो बैठकमा निश्चित देश सहभागी हुनेछन्।

सन् २०१९ मा निशस्त्रीकरण सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ताको असफलतापछि उत्तर कोरियाले आफ्नो सैन्य बन्दोबस्तीलाई विस्तारै सुधार गर्दैछ। २०१९ मा भियतनामको हनोहीमा भएको वार्ताले उत्तर कोरियालाई निशस्त्रीकरण गराउने विश्वास लिइएको थियो।

उत्तर कोरियाली नेता किमले अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाप्रति ‘दबाब पूर्ण नीति’ लिएको आरोप लगाएका छन्। सैन्य सुदृढिकरण राष्ट्रिय स्वार्थ सम्बद्र्धन गर्न आवश्यक गरेको उनको दाबी छ।

ह्वाइट हाउसले जो बाइडेन राष्ट्रपतिमा नियुक्त भएपछि उत्तर कोरिया नीति पुनरावलोकन गरेको थियो। ह्वाइट हाउसले प्योङयानलाई वार्ताको टेबलमा फर्किन आग्रह गरेको छ। अमेरिका र दक्षिण कोरियाका कूटनीतिज्ञहरुले गत हप्ता वाशिङ्टनमा भेटवार्ता गरेका छन्। उत्तर कोरियाको विषयमा छलफल गर्न उनीहरु बीच भेटवार्ता भएको बताइएको छ।

यस्तै उत्तर कोरिया सम्बन्धी बाइडेनका राजदूतले केही समयमा नै दक्षिण कोरियाको राजधानी सियोल भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्योङयानका विषयषमा विस्तृत छलफल गर्न उनी सियोल भ्रमणमा जान लागेका हुन्।

मंगलबार अमेरिकाले आफू अझै पनि कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न इच्छुक रहेको बताएको छ। उसले प्योङयानलाई स्थितिलाई भड्काउने कार्य नगर्न समेत आग्रह गरेको छ।

यस्तै प्योङयानले परीक्षण गरेको भनिएको एसएलबिएमको तस्वीरमा उक्त मिसाइल यसअघिको एसएलबिएमको तुलनामा सानो र मसिनो देखिएको छ। सुरक्षा सम्बन्धी विशेषज्ञहरुले यसअघि नदेखिएको मोडल परीक्षण भएको हुनसक्ने आंकलन गरेका छन्।

सानो एसएलबिएमले धेरै मिसाइल प्रहार गर्न सक्ने बताइन्छ। तर, यसरी प्रहार गरिएको मिसाइल भने छोटो दूरीका लागि उर्पयुक्त हुने बताइन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved