नेपालगञ्जका आन्दोलनकारी निरन्तर धर्नामा

नेपालभ्युज

नेपालगञ्जका आन्दोलनकारी निरन्तर धर्नामा
फाइल तस्वीर

काठमाडौं। बाँकेका नकुन्नी धोबीको हत्या र बेपत्ता पारिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको मागसहित २० दिन लगाएर नेपालगञ्जदेखि हिँडेर आएका १६ जनाको धर्ना आज पनि माइतीघरमा जारी छ।

शुक्रबार साँझ प्रहरीले आन्दोलनको नेतृत्व गरिररहेकी रुबी खानसहित १४ जनालाई धरकपड गरी पक्राउ गर्‍यो। महिलालाई प्रकाउ गर्न महिला प्रहरी खटाउनुपर्नेमा पुरुष प्रहरीबाटै धरकपड गरी लछार्दै लगेर उनीहरूलाई भ्यानमा हालियो र हिरासतमा राखियो। बिहीबारदेखि प्रदर्शन गरिररहेका उनीहरू सार्वजनिक स्थानमा खाना खाएको आरोपमा प्रकाउ परेका हुन्।

प्रकाउ परेका रुबिबाहेकलाई प्रहरीले शनिबार बिहान छाड्यो, रुबिलाई भने बहुविवाहको मुद्दा लगाएर नेपालगञ्ज पठायो। रुबि अहिले पनि प्रहरी प्रधान कार्यालय बाँकेको हिरासतमा छिन्। गृहको निर्देशनमा सिँहदरबार प्रहरी वृत्तले प्रकाउ परेकी उनलाई अहिले हिरासतमा राखी अनुसन्धान अघि बढाइएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले बताए।

रुबिले ८ वर्षअघि मोहम्मद शेरबागवानसँग बिहे गरेकोमा शेरबागवानले यसअघि नै पहिलो पत्नी सँग सम्बन्धविच्छेद गरिसकेको आन्दोलनमा आएकी शहिदा खातुनले बताइन्। रोचक कुरा त के भने रुबिमाथि बहुविवाहको मुद्दा शेरबागवानकी पहिलो पत्नीले नभई तेस्रो पक्षले हालेको खुलेको छ। बहुविवाहको पुरानो मुद्दामा प्रहरीले हिरासतमा लिएकोमा यसको उद्देश्य आन्दोलनलाई तितरबितर पार्नु बाहेक दोस्रो देखिन्न।

लामो समयसम्म दाइजो नल्याएको आरोपमा घरेलु हिँसा भोग्दै आएकी बाँके नेवाजी गाउँकी नकुन्नी धोबीमाथि भएको घरेलु हिँसाको मुद्दा तीनपटक प्रहरीसम्म पुगेपनि प्रहरीले हिँसा जस्तो संवेदनशील मुद्दालाई गम्भीरताका साथ नलिई सामान्य मिलापत्र गरी मिलाइदिन थाल्यो। ५ साउनमा घरमै मृत फेला परेकी नकुन्नीले आत्महत्या गरेको भन्दै प्रहरीले मुद्दा टुंग्याइदियो। उक्त मुद्दामा चित्तबुझ्दो अनुसन्धान नभएको भन्दै बाँकेका ११ महिलासहित १६ जना गत असोज १ गते न्यायका लागि पैदलै हिँडेर काठमाडौं आएका हुन्।

उनीहरूले स्थानीय स्तरमै न्यायका लागि पहल नगरेका होइनन्। उनीहरूलाई प्रहरीले नै मुद्दा नै दर्ता नगरी लखट्यो भने मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यसबारेमा जानकारी दिँदा उनले पनि कुनै पहल गरेनन्।

बुटवलमा तीन र चितवनमा दुई दिन धर्ना दिँदै उनीहरू २० औँ दिनमा काठमाडौं आए। सडक र जंगलमा सुत्दै न्यायका लागि केन्द्रमा आएका उनीहरूलाई गत पुषमा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले ‘प्रतिगमन विरुद्धको आन्दोलन’ भन्दै प्रदर्शन गरेको माइतीघरबाटै नेपाल-प्रचण्डको संयुक्त सरकारले पक्राउ गर्‍यो। उनीहरूलाई गृहको आदेशमा पक्राउ गरिएको हो।

पहिलो दिनदेखि प्रदर्शनकारीसँग बाटोमै बसेको नागरिक आन्दोलनका सञ्जीव उप्रेतिले राज्यले आन्दोलन तितरबितर पार्न खोजेको बताए। ‘‘सार्वजनिक स्थानमा बसेर खाना खाइरहेका उनीहरूलाई किन प्रकाउ गरियो,’’ उनले प्रश्न गरे,‘‘राज्यलाई बाटोमा बसेर खाइरहेका भुइँमान्छेबाट के खतरा भयो ?’’ अहिले पनि एक्दै हुँदा प्रदर्शनीकारीलाई प्रहरी आएर घर जान धम्क्याइरहेको बताउँदै उनले राज्यले न्याय कुल्चिरहेको बताए।

तर न्याय नपाएसम्म घर भोकभोकै र प्यासप्यासै काठमाडौँ आएका आफूहरू घर नफर्किने शाहिदा खातुन बताउँछिन्। ‘‘निर्मला कुर्मी र नकुन्नी धोबीको न्याय भन्दा ठूलो हाम्रा लागि केही होइन,’’ उनले भनिन्,‘‘हामी निरन्तर यहीँ बसेर प्रदर्शन गर्छौं, अब राज्यले हामीलाई पनि मार्छ भने पनि मारोस्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved