सरकारलाई संसदीय समितिको निर्देशन : पुनर्निर्माणको विवरण तीन-तीन महीनामा दिनू

बैठकले प्राधिकरणबाट हस्तान्तरण भएका तर पुनर्निर्माण पूरा नभएका संरचना निर्माणको लागि जनशक्ति र स्रोतका साथै समयमा नै सम्पन्न गर्ने सुनिश्चितताका लागि समन्वयन गर्न प्राधिकरण र विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।

नेपालभ्युज

सरकारलाई संसदीय समितिको निर्देशन : पुनर्निर्माणको विवरण तीन-तीन महीनामा दिनू
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण हुन बाँकी रहेका कामको प्रगति विवरण प्रत्येक तीन महीना उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाई अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महीना उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै, बैठकले प्राधिकरणको समयावधि सकिनै लागेको अवस्थामा प्राधिकरण मातहत रहेर काम गरेका प्राविधिक जनशक्तिलाई पुनर्निर्माण वा अन्य निकायमा तत्काल व्यवस्थापन गर्ने र यससम्बन्धी ठोस कार्ययोजना बनाएर कार्यान्वयन गर्न अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले प्राधिकरणबाट हस्तान्तरण भएका तर पुनर्निर्माण पूरा नभएका संरचना निर्माणको लागि जनशक्ति र स्रोतका साथै समयमा नै सम्पन्न गर्ने सुनिश्चितताका लागि समन्वयन गर्न प्राधिकरण र विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।

बैठकमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणका कार्यहरु हस्तान्तरण भइरहेको अवस्थामा हस्तान्तरण नभएका संरचनालाई तीव्र गतिमा पुनर्निर्माण गरिरहेको बताए। उनले रानीपोखरी, धरहरा र सिंहदरबारसँग सम्बन्धी पुनर्निर्माण कार्यलाई पनि अघि बढाइरहेको जानकारी दिए। त्यस्तै मंसिरमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उच्चस्तरीय सहभागिता गराउने तयारी भइरहेको उनले बताए।

ज्ञवालीले प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यलाई अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्ने जानकारी दिए। पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु विभिन्न मन्त्रालयलाई हस्तान्तरण गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहने ज्ञवालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved