दुई सय ७० प्रतिशतले बढ्यो यार्सागुम्बा निर्यात

नेपालभ्युज

दुई सय ७० प्रतिशतले बढ्यो यार्सागुम्बा निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महीनामा यार्सागुम्बा निर्यात दुई सय ७० प्रतिशतले बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असार र साउनमा नेपालबाट नौ करोड नौ लाख रुपैयाँको १४५ किलो निर्यात भएको हो। अघिल्लो वर्ष यही अवधिमा नेपालबाट जम्मा २ करोड ३६ लाख रुपैयाँको ४२ किलो यार्सा निर्यात भएको थियाे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यसको उच्च मूल्य तथा अधिक मागका कारण केही वर्षयता नेपालमा पनि यसको संकलन तथा बिक्री बढ्न थालेको छ। जसका कारण हिमाली जिल्लाका बासिन्दाहरू निकै आकर्षित भएका छन्। हिमाली जिल्लाहरू दार्चुला, डोल्पा, जुम्ला, बझाङ र मनाङमा यार्सा संकलन र निर्यातबाट ठूलो रकम भित्रिने गरेको छ।

औषधिजन्य गुण रहेको बहुमूल्य जडीबुटीका रूपमा प्रयोग हुने यार्सा संकलन र निर्यात केही वर्षयता भने घट्दै गएको थियो। विशेषगरी चीनतर्फ निर्यात हुने यार्साको मूल्य त्यहाँका व्यापारीले किलोमै पाँच लाख रुपैयाँसम्म घटाएपछि ६ वर्ष अघि २०७२ मा ६८ करोड रुपैयाँसम्म भएको यार्साको निर्यात त्यसयता उतारचढावबीच निरन्तर घटेको थियो।

तर चीनको विकल्पमा अन्य मुलुकमा सोहीअनुसार माग बढ्दै गएपछि निर्यात बढ्न थालेको हो। यो वर्ष नेपालबाट कम्बोडिया, फ्रान्स, हङकङ, सिंगापुर र भियतनाममा यार्सा निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८को १२ महीनामा नेपालबाट १५ करोड ७६ लाख रुपैयाँको यार्सा हङकङ र भियतनाममा मात्रै निर्यात भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved