नेपालमा रेल्वे ढुवानीमा निजी कम्पनीको प्रवेश, दुई महीनामा निर्यात

नेपालभ्युज

नेपालमा रेल्वे ढुवानीमा निजी कम्पनीको प्रवेश, दुई महीनामा निर्यात

काठमाडौं। नेपालमा कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी प्रवेश गरेको छ। भारतीय पारवहन कम्पनी हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहदेखि नेपालस्थित वीरगञ्ज सुक्खा बन्दरगाहसम्म कार्गो ढुवानी सेवा शुरु गरेको हो।

कम्पनीले बुधबार ९० कन्टेनर सामान नेपाल पठाएको छ। १७ वर्षअघि भएको नेपाल-भारत पारवहन सम्झौताले भारतीय सरकारी कम्पनी कोन्कन रेलवे निगमलाई ढुवानीमा एकाधिकार दिइएको थियो। तीन महीनाअघि मात्र संशोधित सम्झौताले निजी कम्पनीले पनि नेपालमा ढुवानी गर्न पाउने व्यवस्था गरेको थियो।

योसँगै व्यवसायीले कोन्कनको एकाधिकारबाट छुटकारा पाएको र सामान ल्याउन लामो समय पर्खनपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको महावाणिज्यदूत तर्कराज भट्टले बताए। “निजी कम्पनीको प्रवेशले कोन्कनको एकाधिकार तोडिएर ढुवानी व्यवसायलाई प्रतिस्पर्धामा धकेलेको छ,” उनले भने, “यसले व्यवसायीहरूले सस्तोमा चाँडो सामान आयात गर्न सक्नेछन्।”

आज नेपाल सामान ल्याएपछि रेल खाली डिब्बा फर्किएको छ। तत्काल एकतर्फी व्यापार शुरु भए पनि नेपाली सामान निर्यातका लागि चाँडै ढुवानी सेवा शुरु गर्ने कम्पनीका प्रवन्ध निर्देशक अभिनव गुुप्ताले बताए।

“नेपाली व्यापारीसँग सहकार्य गरी आगामी दुई महीनाभित्र निर्यातको बाटो नि खोल्छौं,”  उनले भने, “नेपाली उत्पादन भारतीय बाटो हुँदै यूरोपसम्म पुर्‍याउँछौं। “निजी कम्पनीले ढुवानी गरे पनि व्यवसायीहरूले सामान ल्याउँदा कोन्कनलाई जति नै भाडा तिर्नुपरेको छ। कम्पनीका प्रबन्ध निर्देशक गुप्ताले तत्काल भाडा उस्तै भए पनि निर्यात पनि हुन थालेपछि अहिलेको भन्दा धेरै सस्तो लागतमा सामान ढुवानी गर्ने बताए। “दुईतर्फी सेवा शुरु भएपछि व्यवसायीले सामान आयात गर्दा ठूलो सहुलियत पाउनेछन्,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved