सवारी दुर्घटनाबाट एक वर्षमा तनहुँमा मात्रै ४८ को मृत्यु

नेपालभ्युज

सवारी दुर्घटनाबाट एक वर्षमा तनहुँमा मात्रै ४८ को मृत्यु
सांकेतिक तस्वीर

तनहुँ। सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन्।

यसअघि, आव २०७६/७७ मा ४४ र आव २०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्र बहादुर हमालले ७२ किलोमिटर पृथ्वी राजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिए। त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए।

हमालका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक/ट्याङ्कर १८, जीप/कार १७, ट्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिप्पर दुर्घटना भएका थिए।

दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ। जिल्लामा सबैभन्दा बढी दुई पांग्रे सवारी साधन दुर्घटना हुने गरेका छन्। दुई पांग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए।

सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको हमालले बताए। उनले भने, “पृथ्वीराजमार्गका ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ।”

हमालले दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको जानकारी दिए। सवारी चालक र पैदलयात्रीलाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ।

जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कोत्रे, गाछे पानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस नजिक बढी दुर्घटना हुने स्थान हुन्।

२० हजार सवारी साधन कारबाहीमा
प्रहरीले एक वर्षको अवधिमा २० हजार सवारी साधनलाई कारबाही गरेको छ। नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा एक करोड ३१ लाख २३ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक/टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार/जीप, एक हजार ५८७ ट्याक्टर, ११३ अन्य र ६ हजार ६४६ मोटरसाइकल/स्कुटर छन्। कारबाहीमा पर्नेमा पनि दुई पांग्रे सवारी अत्यधिक छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved