नेपालमा आधाभन्दा बढी विद्यार्थी सिकाइको तल्लो तहमै

नेपालभ्युज

नेपालमा आधाभन्दा बढी विद्यार्थी सिकाइको तल्लो तहमै

काठमाडौं। नेपालका आधाजसो विद्यार्थी सिकाइको तल्लो तहमा नै रहेका एक अध्ययनले देखाएको छ।

रानीपोखरीस्थित दरबार हाइस्कुलमा शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रमले यस्तो औंल्याएको हो। लिखित पाठ्यक्रम र विद्यार्थीले हासिल गरेका उपलब्धिबीच ठूलो अन्तर रहेको शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले कार्यक्रममा बताए।

केन्द्रले विद्यार्थी उपलब्धिको रजिष्टार परीक्षण २०१९ को नतिजा सार्वजानिक गर्दै शैक्षिक नीति, स्रोत साधनको व्यवस्थापन, पाठ्यक्रम विकास र त्यसको कार्यान्वयन र अनुगमन मूल्यांकनमा सुधार गर्नुपर्ने सापकोटाले बताए। केन्द्रले विद्यार्थी उपलब्धिको रजिष्टार परीक्षण २०१९ को तथ्याक संकलन कोरोनाको माहामारीअघि गरिसकेको पनि त्यस क्रममा जनाइएको थियो। उनले भने, ‘यस अध्ययनमा १८ सय विद्यालय समावेश गरिएको थियो।’

जसअन्तर्गत १८ सय विद्यालयका प्रध्यानाध्यापक, ३६ सय शिक्षक र ४२ हजार विद्याथीलाई समावेश गरिएको पनि उनले बताए। यस अध्ययन ४ वटा विषयमा (गणित, विज्ञान, अग्रेजी र नेपाली) मा नमुना छनोट विधिबाट गरिएको थियो। जहाँ विद्यार्थीलाई तीन भागमा विभाजित गर्दा अब्बल तहका विद्यार्थी सानो संख्यामा मात्र रहेका पाइएको हो।

अधिकाशं विद्यार्थीले पाठ्यक्रम निर्धारितभन्दा ५० प्रतिशत कम विषयबस्तुमा मात्र दक्ष रहेका महानिर्देशक सापकोटाले बताए। ‘सिकाइमा विद्यार्थीको उपलब्धि सन्तोषजनक छैन, त्यसैले शैक्षिक नीतिमा सुधार ल्याई बजेटको विनियोजन, क्रियाकलापमुखी पाठ्यक्रम, शिक्षण विधिमा सुधार, स्रोतसाधन व्यवस्थापनमा सरकारले तत्काल सुधार गरी कार्यन्वयन गर्नुपर्छ,’ सापकोटाले भने।

शिक्षकसँग सुमधुर सम्बन्ध भएकाको शैक्षिक उपलब्धि राम्रो

शिक्षकसँग सुमधुर सम्बन्ध भएका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो पाइएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका उपसचिव उत्तर कुमार पराजुलीले बताए। निजी क्षेत्रमा धेरै लगानी भएकाले पनि विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको पराजुलीले बताए।

यस अध्ययनमा आर्थिक हैसियत बलियो भएका परिवारका बालबालिकाले सिकाइ उपलब्धि गुणस्तरीय रहेको पाइएको पराजुलीले बताए। ‘यस्तो सिकाइ उपलब्धिले भविष्यमा समाज दुई तहमा विभाजित हुने देखिन्छ। त्यसैले राम्रो र कमजोर कार्य सम्पादन गर्ने विद्यालय तुलना गरी सुधार गर्नुपर्छ,’ पराजुलीले थपे, ‘नसके मुख्य भूमिका स्थानीय सरकारले खेल्नुपर्छ।’

सन् २०११ मा पनि केन्द्रले विद्यार्थी उपलब्धि परीक्षण गरेको थियो। त्यसबेला ४०.९६ प्रतिशत विद्यार्थीले औसत सिकाइ उपलब्धि हासिल गरेका तथ्यांक सार्वजनिक गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved