काठमाडौं। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवामा आउने अनावश्यक दबाबलाई अन्त्य गर्ने बताएका छन्। सोमबार गृह मन्त्रालयमा गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिह्न लगाउँदै उनले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र अनावश्यक सरुवा रोक्ने बताए।
उनले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराए। अर्यालले सीमा सुरक्षासम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने बताए।
यसैगरी स्थानीय निर्वाचनलाई शान्तिपूर्ण बनाउन काम शुरु गरिसकेको उनको भनाइ थियो। आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम शुरु गरिसकेको बताए।
उनले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताए। निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको उनको भनाइ थियो।
निर्वाचनका लागि सात सय ५३ ओटै स्थानीय तहमा प्रहरी बल खटिसकेको उनले बताए।
Facebook Comment
Comment