जाजकारकोट। सातै वटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष २०७७/७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिलेसम्म सदरमुकाममै थन्किएका छन्।
स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पुर्याइ सक्नुपर्ने भए पनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ।
गत चैत, वैशाख महिनामै सदरमुकाम आइपुगेका सामग्री झण्डै छ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको छ। स्थानीय तहले बर्थिङ सेन्टरमा आवश्यक समस्याबारे लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरिद गरिएका थिए।
खरिद गरिएका सामग्रीको अभाव भएपछि पटक पटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन्। वर्षायाममा बाटो अवरुद्ध हुँदा पालिकाले कतैबाट ल्याउन नसकेको र माग गरिएका सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ।
भेरी नगरपालिकाले समेत पटक पटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले दिन सकेको छैन।
बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिलेसम्म पुग्छ भन्ने यकिन समय छैन। सात पालिकामध्ये नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको र त्यहाँबाट बर्थिङ सेन्टरसम्म पुगे, नपुगेको कुनै जानकारी नआएको जनाइएको छ।
प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो।
अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएका छन्।
संघीय सरकार र पालिकाले बर्थिङ सेन्टर मात्र निर्माण गरेको तर सामग्री केही मात्रा खरिद गरिएको भए पनि पूरा सामग्री नभएका कारण स्वास्थ्य सेवा कार्यालयसँग अघिल्लो वर्ष माग गरिएको थियो।
झण्डै ८० प्रकारका सामग्री एउटा बर्थिङ सेन्टरमा आवश्यक पर्ने गर्दछ। सुत्केरी गराउने बेड, सक्सन मेसिन, डेलिभरी सेट, म्याटेस, सक्सन ट्यूब, अक्सिजन मास्क र न्यानो कपडा लगाएका सामग्री बढी महत्वपूर्ण मानिन्छन्।
यी सामग्री खरिद गरेर सदरमुकाममा थन्क्याइएको र कहिले गाउँमा जान्छ थाहा नभएको स्वास्थ्यकर्मीले बताएका छन्।
Facebook Comment
Comment